नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा शनिबारदेखि तीन दिनसम्म चलेको नेपाल–भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपालका अग्रिम सैँजुले भारतका एसे एबर भुटियामाथि जित दर्ता गर्दै उपाधि हासिल गरेका छन्। यू ११ उमेर समूहको चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिम सैँजुले सिक्किम चेस एसाेसिएसन, भारतका चेस खेलाडी एसे एबर भुटियालाई पराजित गर्न सक्नु नै उपाधि जितको कारण बनेको थियो।
यसै समूहमा पाँचौँ चरणको खेल विजेतासँग गुमाउँदा आयोजक पुष्पसदन स्कुलका हार्दिक पन्त ६ अंकका साथ दोस्राे स्थान लिन पुगे। भारतका एसे एबर भुटिया टाइब्रेकरमा तेस्राे हुँदै प्रतियोगिताको अन्त्य गरेका छन्।
यसैगरी गोल्डेन पिक हाई स्कुलका आयुष शर्मा र लेबोरोटोरी स्कुलका अंकुर पोखरेल समान ५-५ अंक जोडेर चौथो र पाँचौँ स्थानमा प्राप्त गरेका छन्।
क्रमशः माछापुच्छ्रे आई बाेर्डिङ स्कुलका साहस श्रेष्ठ, अन्नपूर्ण स्कुलका अविरल तामाङ, पुष्पसदनका शुभम् बाँस्कोटा, सिक्किम चेसका यधन्त अग्रवाल, स्वस्तिश्री गुरुकलका एआइएम आर्नभ अर्याल समान ५ अंक जोडेर दसाैँ स्थानसम्म उभिन सफल बनेका छन्।
यसैगरी यू १३ छात्रतर्फको प्रतिस्पर्धामा ६.५ अंकका साथ सिक्किम चेस एसाेसिएसनका निरभ ढकालले पहिलो स्थान हात पारेका छन्। पाठशाला स्कुलका ओस्कार पन्थी ६ अंक बनाएर द्वितीय स्थानमा रहे भने समान ६ अंक जोडे त्रियोग हाई स्कुलका आभाष रिमाल तृतीय स्थानमा रहन सफल भए।
यू १५ समूहमा भारतका अभनिश प्रधानले उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि उचालेका छन्। सिक्किम चेस एसाेसिएसन, भारतबाट प्रतियोगितामा सहभागी भएका विजेता अभनिश प्रधानले सात चरणको खेल खेली अपराजित ७ अंक जोडेर च्याम्पियन भएका छन्।