अखिल (क्रान्तिकारी) को अध्यक्षमा श्याम रोक्काको उम्मेदवारी घोषणा

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । 'जसको नीति, उसैको नेतृत्व' र 'विद्यार्थी आफैँले परिवर्तनको नेतृत्व गर्नुपर्ने' मान्यतासहित रोक्काले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। 

उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि रोक्काले व्यक्त गरेका छन् । ३२ वर्षे उमेरहद तोकिएका कारण अखिल (क्रान्तिकारी)मा यसपालिको नयाँ नेतृत्वलाई रुचिपूर्वक हेरिएको छ । विद्यार्थी प्रतिनिधिहरूको निर्णयले नयाँ नेतृत्वको तय गर्नेछ। 

रोक्काले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चितता, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेन्डामा समावेश गरेका छन् । 

विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा उनको जोड छ। उनले आफ्नो एजेन्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 

रोक्काले आफू सहिद परिवारको सदस्य भएकाले पार्टीका शीर्ष नेतादेखि प्रतिनिधिसम्मको सहानुभूति र समर्थन रहेको दाबी गरेका छन् । बागमती प्रदेश आफ्नो गृह क्षेत्र भएकाले र विशेष प्रदेशमा आफ्नो कार्यक्षेत्र बलियो रहेको कारण आफूलाई जित सहज हुने विश्वास उनले व्यक्त गरेका छन् । 

यसअघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलनलाई माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तय गर्दै अघि बढाइएको छ।
 

सुझावित समाचार