आइसिसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ। वेस्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो।
मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो। नेपाल १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो। नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए। बलिङतर्फ वेस्ट इन्डिजकी त्रिसा हरदत, आलिया विकिज र आमिया गिल्बर्टले दुई-दुई विकेट लिए।
नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ। माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यू–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया रहेका छन्। नेपालले माघ ५ गते बंगलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।