रवि लामिछानेको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु, आजै आदेशको सम्भावना

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरु भएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस सुरु भएको हो।

सुरुमा सरकारी वकिलको तर्फबाट र पछि लामिछानेका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरूका लागि न्यायाधीश अधिकारीले समय तोकिदिएका छन्। 

सरकारी वकिलका लागि दुई घण्टा र लामिछानेका वकिलका लागि सवा एक घण्टा तोकिएको छ। लामिछानेको तर्फबाट सुशील पन्त र रमण श्रेष्ठले बहस गर्दै छन्।

समय नै तोकिएकाले आजै थुनछेक आदेश आउने सम्भावना रहेको अदालत स्रोत बताउँछ । आइतबार अदालतमा लामिछाने उपस्थित भएकोमा बहस नभ्याएपछि उनलाई न्यायिक हिरासतमा पठाइएको थियो।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गोर्खा मिडियाबाट खर्च गर्दा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई यो मुद्दामा प्रतिवादी बनाइएको छ। यसअघि कास्कीको मुद्दामा लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। 

सुझावित समाचार