बुटवल पावर कम्पनीको ३२औँ वार्षिक साधारणसभाबाट नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार सम्पन्न साधारणसभाले सेयरधनीलाई गत आवको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्र्नेलगायत सञ्चालक समितिबाट पेस भएका सबै प्रस्ताव पारित गरेको छ ।
साथै, साधारणसभाको निर्णयबमोजिम एक करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपिओ)का लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेस गरी प्रक्रियामा रहेको बताइएको छ ।
कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
साथै, सहायक तथा सम्बद्ध कम्पनीहरूमार्फत सञ्चालित चार मेगावाटको खुदी जलविद्युत् केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् केन्द्रको सञ्चालन सुचारु रूपमा हुँदै आएको छ ।
खिम्ती प्रथम जलविद्युत् केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा जाने भए पनि हालसम्म विद्युत् खरिद–बिक्री सम्झौतामा सहमति नभएका कारण अन्तरिम प्रबन्धअन्तर्गत उक्त केन्द्रबाट नेविप्रालाई विद्युत् आपूर्ति भइरहेको कम्पनीले जनाएको छ ।