‘प्रगतिशील ढोंगी’ थिए जस्टिन ट्रुडो

कामचलाउ क्यानाडेली प्रधानमन्त्री ट्रुडो पारिवारिक विरासतले मात्रै पुगेका थिए राजनीतिको शिखरमा

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

गत सोमबार बिहान ओटावाको चिसो मौसममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिने घोषणा गरे । त्यस समय उनी कुस्ती रिङमा निरन्तर मुक्का खाएपछि हार मानेर हात उठाएका मुक्केबाजजस्ता देखिन्थे । घोषणासँगै कैयौँ वाचा र अपेक्षासहित राजनीतिमा लागेका ट्रुडोको राजनीतिक करिअरमा धक्का लागेको छ । राजीनामा गर्ने जानकारी दिँदै ट्रुडोले आफू एक लडाकु भएको भन्न छुटाएनन् । तर, उनको मन्त्रिपरिषद्मा रहेका केही नजिकका मित्रले उनको साथ छाडेपछि ‘लडाकु’ ट्रुडो थाकेका देखिन्थे । कुनै समय उनको युवा जोसलाई प्रतिष्ठाको विषय ठान्ने लिबरल पार्टीले समेत आफ्ना यी नेतालाई बोझ मान्न थालेको छ ।

तर, मेरा लागि भने ट्रुडो सुरुदेखि नै परिवारको राजनीतिक बिरासतले मात्र राजनीतिक शिखरमा पुगेका नेता थिए । मलाई ट्रुडोको प्रदर्शनमुखी खोक्रो हाउभाउ खासमा उनको प्रतिबद्धताहीनता र न्यून बौद्धिकता छोप्ने प्रयासझैँ लाग्थ्यो । तर, प्रायः अन्तर्राष्ट्रिय मिडिया भने ट्रुडोको सुन्दर व्यक्तित्व र खोक्रो हाउभाउमै मोहित भइरह्यो । प्रारम्भिक दिनमा मिडियाले ट्रुडोलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रोशको राजनीतिको विकल्पका रूपमा प्रस्तुत गरे । तर, यथार्थमा भने ट्रुडो एक ‘प्रगतिशील’ ढोंगी थिए । उनले आफ्नो लगभग १० वर्षे शासनकालमा कहिल्यै यथास्थितिलाई चुनौती दिएनन् । बरु उनले शक्तिलाई देश र देशबाहिर यथास्थितिको प्रतिरक्षा गर्न खर्च गरे । 

एउटा उदाहरणका रूपमा ट्रुडो धनी र गरिबबिच बढ्दो खाडल पुर्न ढिलो भएको भन्ने बनिबनाउ भाषण दिन त माहिर थिए । तर, उनले यसलाई सम्बोधन गर्ने कुनै ठोस कदम चालेको देखिएन । ट्रुडो र उनका आसेपासेले आफ्नो अल्पसंख्यक सरकारलाई जोगाउन ‘न्यु डेमोक्रेटिक पार्टी’सँग गरेको सम्झौताअनुरूप मात्र संघर्षरत क्यानेडियाली परिवारलाई केही राहतको कार्यक्रम ल्याए । त्यसैअन्तर्गत दन्त हेरचाहमा सहुलियत एक थियो । यसैले पनि ट्रुडो नेतृत्वको लिबरल पार्टी समानताप्रति कति प्रतिबद्ध थियो भनेर देखाउँछ । 

अन्तर्राष्ट्रिय मुद्दाका सम्बन्धमा पनि ट्रुडो पटक–पटक यथास्थितिवादी वा संस्थापन पक्षधर नेताका रूपमा देखिए । यो कुरा उनले युक्रेन युद्ध सन्दर्भमा अमेरिकी तथा युरोपेली नीतिको अन्ध समर्थन र गाजा नरसंहारकर्ता इजरायली रंगभेद शासनको सहयोगीको रूपमा उभिएर प्रमाणित गरे । विश्वमा आज देखिएका यी दुई ठुला भूराजनीतिक मुद्दामध्ये इजरायलको गाजामाथिको आक्रमणको सन्दर्भमा ट्रुडोले छिमेकी अमेरिकाका नेता जो बाइडेनलाई आदर्श माने । बाइडेनका नीति नै उनले पनि खुरुखुरु आज्ञाकारी शिष्यजसरी अनुसरण गरे । बाहिर बोल्दासमेत उनी अमेरिकी अडान नै सुगा रटान मा लगाइरहे ।

ट्रुडोलाई यदि साँच्चै प्रधानमन्त्रीको कर्तव्य र दायित्वको ज्ञान हुन्थ्यो भने उनले सन् २०१९ मा विश्वविद्यालय अध्ययनताकाको अनुहारमा कालो पोतिएको नश्लीय तस्बिर सार्वजनिक भएपछि राजीनामा दिनुपथ्र्यो । तर, यस अपमानजनक घटना बाहिरिएपछि ट्रुडोले प्रधानमन्त्री त परको कुरा, कुनै पनि सार्वजनिक पद धारण गर्ने विशेषाधिकार गुमाएका थिए । तर, ट्रुडोले राजीनामाको आह्वानलाई स्विकार्नुको सट्टा माफी मागेर उम्किने बाटो रोजे । ट्रुडो र उनका आसेपासेको समूहले देशको स्वार्थभन्दा प्रधानमन्त्रीको हितलाई उच्च प्राथमिकता दिए ।

कर्पोरेट मिडिया, उनका समर्पित समर्थक तथा विरोधीसमेतको ध्यानबाट बचेको भए पनि ट्रुडोको चरित्रलाई सबैभन्दा राम्ररी घाइते प्यालेस्टिनी बालबालिकाप्रतिको उनको बेवास्ताले प्रतिबिम्बित गर्छ । संसद्भित्र र बाहिर नश्लवादीलाई खुसी पार्न युद्धका निर्दोष पीडितलाई सघाउने वाचाबाट पछि हट्ने नेता एक घृणित पाखण्डी मात्र हुन सक्छ । जस्टिन ट्रुडोले त्यसै गरे । उनले गाजामाथिको भीषण बमबारीबाट पीडित प्यालेस्टिनी बालबालिकालाई पूर्ण बेवास्ता गरे । यो अश्लीलता उनको विरासतको सबैभन्दा ठुलो दाग ठहरिनेछ ।

विगतमा विपक्षी नेताका रूपमा प्रतिपक्षी बेन्चमा रहँदा ट्रुडोले सार्वजनिक रूपमा बारम्बार ‘हिल १०० किड्स’ भनेर चिनिने चर्चित प्यालेस्टिनी क्यानेडियन नागरिक डा. इज्जेलदिन अबुएलेसका अग्रसरताको समर्थन गर्थे । डा. अबुएलेसले १०० घाइते प्यालेस्टिनी बालबालिका र तिनीहरूका परिवारका सदस्यलाई उपचारका लागि क्यानडा यात्राको व्यवस्था गर्न सघाउने प्रान्तीय राजनीतिज्ञ, डाक्टर, नर्स, अस्पताल र अन्य स्वयंसेवकको नाम सार्वजनिक गर्दै आएका छन् । सन् २०१५ मा ट्रुडो बहुमतसहित प्रधानमन्त्री बनेपछि डा. अबुएलेसले ट्रुडोलाई आफ्नो वचन पूरा गर्न सार्वजनिक र निजी मञ्चबाट धेरैपटक आह्वान गरे । ट्रुडोले डा. अबुएलेसको आह्वानप्रति कहिल्यै कुनै प्रतिक्रिया दिएनन् । डा. अबुएलेस अहिले ट्रुडोलाई एक झुटा नेता मान्छन् ।

ट्रुडोले यसबाहेक अन्य लिबरल मुद्दामा पनि पटक–पटक धोका दिएका छन् । उनी आफ्नो तथाकथित ‘नारीवादी’ प्रतिबद्धतामा समेत बलियो गरी टिकेका देखिँदैनन् । उनले एक आदिवासी महिला मन्त्रीसहित अरू मन्त्रीलाई क्याबिनेट बैठकमा चुनौती दिएको वा कानुनको शासन रक्षा गर्न माग गरेकै कारण बर्खास्त गरे । जलवायु कदमका अग्रदस्ता दाबी गर्ने ट्रुडोले एक तेल पाइपलाइन परियोजनामा ४.५ अर्ब क्यानेडियन डलर (३.३ अर्ब अमेरिकी डलर) खर्चिए । मानव अधिकार र विधिमा आधारित अन्तर्राष्ट्रिय ‘व्यवस्था’का यी कथित ‘च्याम्पियन’ले ब्राजिलको सहयोगमा भेनेजुएलामा एक कठपुतली नेता थपना गर्ने प्रयास गरेका थिए । त्यस्तै, ‘आम सर्वसाधारण’ क्यानेडियनका ‘हितैसी’ ट्रुडोले अति धनी र बाँकी नागरिकबिचको खाडल बढ्दै जाँदा धनाढ्यलाई सहयोग पुग्ने गरी कर्पोरेट एकाधिकारलाई निरन्तरता दिन अनुमति दिए ।

अहिले ‘हाउस अफ कमन्स’ र कर्पोरेट मिडियाले ट्रुडोको बहिर्गमनलाई राष्ट्रिय ‘संकट’का रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । तर, यथार्थ भने त्यस्तो होइन । क्यानेडियन राजनीतिको निरन्तर चक्रलाई ध्यान दिँदा उदारवादी र कन्जर्भेटिभ पार्टीका नेताले पालैपालो दश वर्ष शासन चलाएको देखिन्छ । ट्रुडोअघिका कन्जर्भेटिभ प्रधानमन्त्री स्टिफन हार्परले पनि १० वर्षभन्दा थोरै कम शासन गरे । अन्तिम दिनतिर हार्परसँग पनि मतदाता वाक्कदिक्क भइसकेका थिए । उनीअघिका लिबरल पार्टीका नेता जिन क्रेटियन प्रधानमन्त्री थिए । एक दशक शासनसत्ता चलाएका क्रेटियन अन्तिम समयतिर निकै अलोकप्रिय भइसकका थिए । क्रेटियनअघि कन्जर्भेटिभ प्रधानमन्त्री स्व. ब्रायन मुलरोनीले पनि एक दशक नै पद सम्हालेका थिए । मुलरोनीको शासनको अन्त्यतिर पनि मतदाता उनीप्रति निराश देखिन्थे ।

सम्भवतः भावी प्रधानमन्त्रीका रूपमा हेरिएका वर्तमान कन्जर्भेटिभ नेता पियरे पलिएभले पनि दश वर्ष शासन चलाउने सम्भावना छ । मत सर्वेक्षणले आगामी वसन्तमा हुन सक्ने आगामी संघीय चुनावमा उनले स्पष्ट बहुमत प्राप्त गर्ने देखाएका छन् । अब यसबिच, लिबरलहरूले पार्टीको आगामी हारको दोष खेप्न एक ‘बलिको बोको’ अघि सार्नेछन्, तर जे भए पनि ती ट्रुडो हुनेछैनन् । 

– अलजजिराबाट
 

सुझावित समाचार