जय ट्रफी एलिट कप : पुलिस र आर्मीबिच उपाधि भिडन्त

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबिच जय ट्रफी पुरुष दुईदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलको स्थान पक्का गरेको हो । मंगलबार हुने फाइनल तीनदिवसीय हुनेछ । 

प्रतियोगितामा पुलिस सर्वाधिक ६६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पुलिसले दुई जित र एक ड्र खेलेको थियो । दोस्रो स्थानमा रहँदै अन्तिम दुईमा स्थान पक्का गरेको आर्मीले तीन खेलमा एक जित र दुई ड्र नतिजा हात पार्‍यो । बागमती र मधेश प्रदेश जितविहीन भए । बागमतीले एक हार र दुई ड्र खेल्दै ४१.५ अंक बटुल्यो । चौथो भएको मधेशले तीन खेलमा दुई हार र एक ड्र निकाल्दै ३१ अंक बटुल्यो । 

आर्मीले आफ्नो पहिलो जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । यसअघि आर्मीले पुलिस र बागमती प्रदेशसँग ‘ड्र’ खेलेको थियो । 

नारायणी रंगशालामा मधेशले बलियो आर्मीलाई २८ रनको सामान्य लक्ष्य दिएको थियो । आर्मीले ६ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । शनिबार पहिलो इनिङ्समा सस्तैमा समेटिएको मधेश फलोअनमा परेको थियो । मधेशले दोस्रो इनिङ्समा १५० रन बनाएर सबै विकेट गुमायो । दोस्रो इनिङ्समा मधेशले आमीविरुद्ध २७ रनको अग्रता लियो । दोस्रो इनिङमा मायन यादवले सर्वाधिक ४९ रनको योगदान दिए । मधेशका कप्तान हरिशंकर साहले नटआउट २५ रन बनाए । आर्मीका बसिर अहमदले चार विकेट लिए । यसैगरी, साहब आलमले तीन तथा आकाश चन्दले दुई विकेट लिए ।

पहिलो इनिङ्समा मधेश फलोअनमा
पहिलो ब्याटिङ गरेको आर्मीले नौ विकेटको क्षतिमा २२५ रनको योगफलमा इनिङ समाप्ति घोषणा गर्‍यो । आर्मीका बसिर अहमदले ६७ र भीम सार्कीले ५३ रन जोडेका थिए । ओपनर इमरान शेखले ४२ रन बटुले । मधेशका स्पिनर रञ्जित कुमारले पाँच विकेट लिए । उनले १६.३ ओभरमा ४४ रन खर्चेका थिए । 

मधेशले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३५.५ ओभरमा १०२ रन मात्र जोडेको थियो । मधेशका हरिशंकरले ३१ रन बनाए । मायन यादव ११, अभिषेक तिवारी १३ र प्रदीप पासवानले १० रन बनाए । आर्मीका साहबले १२ ओभरमा ६ विकेट लिए । सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान एक विकेट लिए । 
 

सुझावित समाचार