त्रिवेणी मेला यसपटक २० दिन लाग्ने

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण
त्रिवेणी मेला यसपटक २० दिन लाग्ने

फाइल तस्बिर

उदयपुरको कटारी नगरपालिका– २ खोक्सामा लाग्दै आएको त्रिवेणी (मैनी) मेला यसपटक २० दिन लाग्ने भएको छ। विगतका वर्षहरूमा १५ दिन लाग्ने गरेको मेला यसपटक २० दिन लाग्ने भएको हो।

माघ १ गते अर्थात् माघेसंक्रान्तिको दिनदेखि माघ १५ सम्म लाग्ने गरेको मेला यो वर्ष २० गतेसम्म आयोजना हुनेछ। कटारीको तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोलाको संगमस्थलदेखि ‘कमला नदी’को रूप लिएर बहने त्रिवेणीधाममा मेला आयोजना हुँदै आएको छ।

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले विगतमा १५ दिन मात्र लाग्ने मेला यसपटक २० दिन लगाउने गरी त्रिवेणी मेला व्यवस्थापनको ठेक्का दिइएको बताए। मेला व्यवस्थापनको ठेक्का कटारी नगरपालिका– २ मा रहेको चण्डीका सप्लायर्स एन्ड ट्रेडर्सले पाएको छ। मेला व्यवस्थापनको ठेक्का करबाहेक १३ लाख ८१ हजार ४१५ रुपैयाँ ९३ पैसा र करको एकमुस्ट रकम एक लाख ७९ हजार ५५८ रुपैयाँ ७ पैसामा दिइएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए।

निरौलाका अनुसार यसपटक मेलामा घरेलु तथा साना उद्योग र हस्तकलाका सामानहरूको स्टल, स्थानीय परिकारका होटेल तथा खाजाघर, भाँडावर्तन, लत्ताकपडा, फेन्सी, खेलौना, खाद्य सामग्री, कृषि उपजको बिक्री–वितरण हुनेछ। यसैगरी, स्थानीय संस्कार–संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि हुनेछ। मेलामा जुवाजन्य खेल, उच्छृंखल किसिमका नृत्य, सामाजिक सदभाव भड्किने कार्यक्रम र घरेलु मदिरा बिक्रीमा रोक लगाइएको उनको भनाइ छ।

सुझावित समाचार