राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सहभागी टिमले चार खेल खेल्दा स्ट्राइकर रश्मिकुमारी घिसिङ उच्च गोलकर्ताको दौडमा एकल प्रतिस्पर्धी भएकी छिन् । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी रश्मिले दुवै चरणमा २५ गोल गरिन् । पहिलो चरणमा रश्मिले १८ र दोस्रो चरणमा चार खेल खेल्दा ७ गोल गरेकी छिन् । दोस्रो चरणमा एपिएपले चार खेल खेल्दा अपराजित यात्रा कायम राखेको छ । जसमा २३ गोल गर्दा मात्र दुई गोल व्यहो¥यो । दोस्रो स्थानको आर्मी र तेस्रो पुलिसको समान ७ अंक छ ।
चौथो स्थानको बागमतीले ३ अंक जोड्दा वालिङ खाता खोल्न सकेको छैन । पहिलो चरणमा १० टोली सहभागी हुँदा पुछारमा रहेको सुदूरपश्चिम प्रदेशसँगै कर्णाली प्रदेश, चन्द्रपुर नगरपालिका, संकटा क्लब र बागमती बाहिरिएका थिए । तर, कोशी प्रदेशले आर्थिक कारण देखाउँदै अन्तिममा नाम फिर्ता लिएपछि पहिलो चरणमा छैटौँ भएको बागमतीले अन्तिम चरण खेल्ने अवसर पाएको हो । दोस्रो चरणमा अब हरेक टोलीले समान चार खेल खेल्नेछन् । यसपछि प्लेअफ चार टोलीले स्थान बनाउनेछन् । पहिलो चरणमा विभागीय टोली र सुदूरपश्चिमबाहेक अन्य टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका थिए । दोस्रो चरण भने कुनै पनि खेलाडीले विदेशी खेलाडी अनुबन्ध गरेका छैनन् ।
रश्मिकुमारी घिसिङ (एपिएफ क्लब)
गोल– २५
पहिलो र दोस्रो चरणमा एपिएफ क्लबले १३ खेल खेल्दा अपराजित यात्रा कायम राखेको छ । पहिलो चरणमा ९ र दोस्रो चरणमा चारै खेलमा जित निकाल्यो । रश्मिले पहिलो चरणमा ९ खेल खेल्दा १८ गोल गरिन् । २२ वर्षीया खेलाडीले दोस्रो चरणमा पनि ४ खेलमा ७ गोल गर्दै आफ्नो लय कायम राखेकी हुन् । रश्मिले पहिलो चरणमा कोशी, सुदूरपश्चिम तथा बागमती युवा क्लब र दोस्रो चरणमा पुनः बागमती र वालिङविरुद्ध ह्याट्रिक गरेकी छिन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च लिग खेल्न पुगेपछि प्रशिक्षक जीवेशकुमार पाण्डेले रश्मिलाई मुख्य स्ट्राइकरको जिम्मेवारी दिएका छन् । ०७८ सालमा त्रिभुवन आर्मीबाट खेलेकी रश्मि एपिएफमा आपूmलाई स्थापित गर्न सफल भइन् । त्यसअघि रश्मिले रौतहटबाट खेल्ने गरेकी थिइन् ।
विमला चौधरी (त्रिभुवन आर्मी क्लब)
गोल– १३
त्रिभुवन आर्मी तथा राष्ट्रिय टिमकी सदस्य विमल चौधरी रश्मिपछि सर्वाधिक गोलकर्ताको दौडमा दोस्रो स्थानमा छिन् । पहिलो चरणमा ७ गोल गरेकी कैलालीकी विमलाले दोस्रो चरणमा ६ गोल गरिसकेकी छिन् । चार खेल खेल्ने क्रममा वालिङविरुद्ध एक्लै चार गोल गरिन् । एक गोल वालिङविरुद्ध गरिन् । कम बोल्ने लजालु स्वभावकी विमलाले पहिलो चरणमा ९ खेल खेल्दै ७ गोल गरेकी थिइन् । २७ वर्षीय खेलाडीको सानदार प्रदर्शनले आर्मी दोस्रो चरणमा पनि दोस्रो स्थानमा छ । पहिलो चरणमा पनि आर्मी दोस्रो स्थानमै थियो । विंगर विमलाले यसअघि शारदानगरमा भएको लिगमा ७ खेल खेल्दै ३ गोल गरेकी थिइन् ।
चन्द्रा भण्डारी (त्रिभुवन आर्मी क्लब)
गोल– ८
आर्मीबाट पहिलोपटक राष्ट्रिय लिग खेलिरहेकी चन्द्रा भण्डारीको प्रदर्शन सानदार रहेको छ । धनगढीबाट नेपाली फुटबलमा उदाएकी चन्द्राले आर्मीबाट १३ खेल खेल्दा ११ गोल गरेकी छिन् । लिगमा डेब्यु गर्दा आठ गोल गरिन् । चन्द्राले लिगभर तीन ह्याट्रिक पूरा गरेकी छिन् । दोस्रो चरणमा उनले वालिङविरुद्ध ह्याट्रिक पूरा गरेकी हुन् । पहिलो चरणमा भने ८ गोल गरिन् । लगातारको प्रदर्शनसँगै उनी राष्ट्रिय टोलीबाट डेब्यु गर्नसमेत सफल भइन् । पहिलो चरणमा पनि चन्द्राले वालिङविरुद्ध ४३, ५४ र ७४औँ र चन्द्रपुरविरुद्ध २, ४० र ८४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न सफल भएकी छिन् । त्यसैले पनि उनी टिमको प्लेइङ ११ मा निरन्तर छिन् । चन्द्राले ०७८ को लिगमा धनगढी उपमहानगरपालिकाबाट खेल्दा सात खेलमा ८ गोल गरेकी थिइन् ।
दीपा शाही (त्रिभुवन आर्मी क्लब)
गोल– ८
राष्ट्रिय टोलीकी सदस्य दीपाले त्रिभुवन आर्मीबाट खेल्दा पहिलो चरणमै आठ गोल गरेकी हुन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप खेल्दा घाइते भएपछि दोस्रो चरण खेल्न पाइनन् । घुँडाको एसियल गएपछि हाल उनी रिकभरी गर्दै छिन् । पहिलो चरणमा उनले ९ खेल खेल्दा ८ गोल गरेकी हुन् । उनकै उत्कृष्ट प्रदर्शनमा आर्मी दोस्रो स्थानमा पनि रह्यो । हुम्लाकी १९ वर्षीया दीपाले पहिलो चरणमा सुदूरपश्चिम प्रदेशविरुद्ध १४–१ को जितमा एक्लै पाँच गोल गरेकी थिइन् । चन्द्रपुर नगरपालिकाविरुद्ध दुई तथा कर्णालीविरुद्ध एक गोल गरिन् । दीपाले अघिल्लो सिजन भारतीय आइलिग टोली किक स्टार्सबाट खेलेकी थिइन् ।
अमिषा कार्की (त्रिभुवन आर्मी क्लब)
गोल– ८
आर्मीले पहिलो चरणमा दोस्रो स्थान प्राप्त गर्दा स्ट्राइकर अमिषा कार्कीको प्रदर्शन उच्च रह्यो । दोस्रो चरणमा पनि यही लय रहने उनको अनुमान थियो । तर, लिगअघि उनी नेपाली सेनाको सहायक सेनानीमा नाम निकाल्न सफल भइन् । दोस्रो चरण सुरु हुँनै लाग्दा सेनाले तालिममा बोलाएपछि पूरै प्रतियोगिता गुमाउने निश्चित थियो । तर, सेनाका क्याप्टेनसमेत रहेका प्रशिक्षक कृष्णसिंह ठगुन्नाले चौथो खेलमा एपिएफविरुद्ध अमिषालाई तालिमबाटै झिकेर एन्फा कम्प्लेक्समा उतारे । यद्यपि, एपिएफविरुद्ध लगातार अमिषाले दबाब सिर्जना गरे पनि गोलविहीन रहिन् । दोस्रोपटक आर्मीबाट लिग खेलेकी अमिषाले पहिलो चरणमा चन्द्रपुरविरुद्धको जितमा ह्याट्रिक गरेकी थिइन् । पूर्व क्लब वालिङविरुद्ध पनि दुई गोल गरेकी छिन् । यसअघि शारदानगरमा ७ खेल खेल्दा अमिषाले ४ गोल गरेकी थिइन् ।