विभागीय टोली त्रिभुवन आर्मी क्लबका बलर हाबी हुँदा जय ट्रफी पुरुष दुईदिवसीय एलिट कपको आफ्नो तेस्रो खेलमा मधेश प्रदेश कमजोर भएको छ । वीरगन्जको नारायणी रंगशालामा पहिलो दिन आर्मीका स्पिनर हाबी रहे । खेल सुरु भएको समयदेखि नै मधेश कमजोर रह्यो । एकै दिन मधेश फलोअनमा परेको छ । प्रतियोगिताको पहिलो दिनमा दोस्रोपटक ब्याटिङमा उत्रेको मधेश स्टम्पसँगै विनाविकेट दुई रन बनाएको छ ।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाउँदै २ सय २५ रन बनाएर इनिङ्स छाडेको हो । मधेशविरुद्ध आर्मीका बसिर अहमद र भीम सार्कीले अर्धशतक बनाए । बसिरले ६७ र भीमले ५३ रन बनाएका थिए । ओपनर इमरान सेखले ४२ बनाएका हुन् । मधेशका स्पिनर रञ्जित कुमारले पाँच विकेट हात पारे । उनले १६.३ ओभरमा ४४ खर्चिएका थिए प्रदीप पासवानले २ तथा कप्तान हरिशंकर साह र अभिषेक तिवारी समान १ विकेट लिए ।
पहिलो खेलमा जवाफी ब्याटिङमा आएको मधेश प्रदेश १ सय २ रनमा अलआउट हुनपुग्यो । ३५.५ ओभरमा मधेश अलआउट भएको थियो । मधेशका कप्तान हरिशंकरले ३१ रन बनाए भने मयन यादव ११ रन, अभिषेक तिवारी १३ रन र प्रदीप पासवान १० रन बनाएका थिए । आर्मीका साहब आलमले १२ ओभरमा ६ विकेट लिए ।
पुलिसविरुद्ध बागमती ९५ रनले पछि
प्रतियोगितामा पहिलो जित निकालेको नेपाल पुलिस क्लबविरुद्ध तेस्रो खेलमा पहिलो दिन सकिँदा बागमती प्रदेश ९५ रनले पछि परेको छ । जनकपुरस्थित रामजानकी मैदानमा दोस्रो इनिङ सुरु गरेको बागमतीले ८ रन बनाउँदा कुनै विकेट गुमाएको छैन । बागमतीका लागि रित गौतम पाँच र ईशान पाण्डे तीन रन बनाएर खेलिरहेका छन् । यसअघि पुलिसले २१५ रन बनाउँदै पहिलो इनिङमा १०२ रनको अग्रता लिएको थियो । पुलिसका लागि अमित श्रेष्ठले ९७ बलमा १० चौका र दुई छक्कासहित सर्वाधिक ७९ रन बनाए । अर्जुन साउदले ८२ बलमा ८ चौका र २ छक्काको मद्दतले ७७ र गुल्सनकुमार झाले १७ रन बनाए । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले चार, नन्दन यादव र प्रतिश जिसीले समान दुई तथा रिजन ढकालले एक विकेट लिए ।
ईशानको ७१ रन
त्यसअघि टस हारेर ब्याटिङ गरेको बागमती पहिलो इनिङमा ११२ रनमै समेटिएको थियो । बागमतीका लागि ईशान पाण्डेले ९४ बलमा १० चौकासहित सर्वाधिक ७१ रनको योगदान गरे । प्रतीक श्रेष्ठले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्नै सकेनन् । पुलिसका स्पिनर ललितनारायण राजवंशीले सार्वधिक चार विकेट लिएका थिए । श्रवण यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिएपछि बागमती सस्तैमा समेटिएको थियो ।