नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ। यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदै छ । गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तान पृथ्वीनारायण वि.सं. १७७९ पुस २७ गते जन्मिएका थिए । उनी वि.सं. १७९९ चैत २५ गते राजा भएका थिए ।
पृथ्वीनारायणले गोरखा राज्य विस्तार थाल्नुअघि नेपाल ५२ भुरेटाकुरे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि नेपालको सीमा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा चेपे नदीसम्म विस्तार गर्न सफल भएका थिए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुरआदि राज्य विजय गर्दै देशको सीमा विस्तार गरेका थिए।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा र्याली निकालेको छ । राप्रपा नेपालमा राजतन्त्र स्थापना वकालत गरिरहेको दल हो ।






