चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म रु. ६ खर्ब ४० अर्ब ४३ करोडबराबरको विप्रेषण आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ७१ हजार नौ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो।