बाघ बढी भएर बाटामा हिँड्दासमेत बाघ आयो कि भनेर डराउनुपर्ने स्थिति रहेको भन्ने प्रधानमन्त्री ओलीको ज्ञानको स्रोत के हो ?
बाघका बारेमा एउटा गढवाली लोकगीतले व्यापक लोकप्रियता पायो– ‘गढवाल ने बाघ लागो फ्वाँ बाग रे ।’ यस गीतसँग एउटा रोचक प्रसंग जोडिएको छ । यो भारतको उत्तराखण्डको पौडी गढवालका विभिन्न गाउँमा ४० वर्षअघि देखिएको बाघको बिगबिगीसम्बन्धी सत्य घटनामा आधारित भई बनेको गीत हो । उत्तराखण्डका एकजना प्रसिद्ध लोकगायकले झोक्की नामका एक दृष्टिविहीन व्यक्तिले कोटद्वार रेलवे स्टेसनमा यो गीत गाएर माग्दै गरेको देखेका थिए । उनले त्यो गीत टिपेर संगीत भरे, एउटा मिठो गीत रचना गरे । त्यो पुरानो गीतको नयाँ ‘रिमिक्स’ले अत्यन्त चर्चा पायो । ब्रिटिसकालमा पनि कुमाउको पहाडी क्षेत्रमा बंगाल टाइगरको व्यापक बिगबिगी थियो भनिन्छ । त्यहाँका नरभक्षी बाघ निर्मूल पार्ने जिम्मा जिम कार्बेटले पाएका थिए । यसबारे उनीद्वारा लिखित चर्चित पुस्तक ‘म्यान इटर अफ कुमाउ’मा पढ्न पाइन्छ । पुस्तकमा उल्लेख भएको नरभक्षी बाघको प्रसंगमध्ये ‘चम्पावत म्यान इटर’ त्यो बाघ थियो, जसले १२० वर्षअघि डडेल्धुरा–बैतडीमा दुई सयजना मानिसमाथि अक्रमण गरी ज्यान लिएर कालीनदी पार गरेर चम्पावत प्रवेश गरेको थियो । सो नरभक्षी बाघले चम्पावतमा पनि धेरै मानिसको ज्यान लियो र कैयौँलाई घाइते बनायो । चार वर्षको अवधिमा ४६४ जनाको ज्यान लिएको नरभक्षी बाघ जिम कार्बेटको प्रयासमा सन् १९०७ मा मारियो ।
जंगली जनावर र मानिसबिचको द्वन्द्व सदियौँदेखि चल्दै आएको छ । तर, जिम कार्बेटको अनुभवमा बाघ हतपत मानिसमाथि आक्रमण गरिहाल्ने स्वभावको हुँदैन । जब बाघ बुढो वा घाइते भएर जंगली हरिणको सिकार गर्न असमर्थ हुन्छ अनि त्यसले मानिसमाथि अक्रमण गर्छ । चितुवाले रातको समयमा र बाघले दिउँसो मानिसमाथि आक्रमण गर्छ । यसैबिच वन्यजन्तुहरूको प्राकृतिक अधिकार, पारिस्थितिकीतन्त्र र पर्यावरण संरक्षण गर्न पनि जरुरी ठानेर जिम कार्बेटकै अग्रसरतामा सन् १९३६ मा स्थापना गरिएको उत्तराखण्डको नैनिताल जिल्लामा अवस्थित जिम कार्बेट राष्ट्रिय उद्यान भारतकै पहिलो वन्यजन्तु उद्यान हो । यस पार्कमा निर्भर बाघको संख्या ३१९ छ । पौडी गढवालको लेन्सडाउनसहितको क्षेत्रमा अहिले रजाजी राष्ट्रिय उद्यान बनिसकेको यस पार्कमा ७८ बाघ छन् । नेपालको क्षेत्रफलको आधा क्षेत्रफल पनि नभएको उत्तराखण्डले पाँच सयभन्दा बढी बाघ संरक्षण गरिरहेको छ ।
केही दिनअघि प्रधानमन्त्री केपी ओलीको एउटा भनाइ चर्चामा आयो । उनी भन्दै थिए– ‘नेपालमा तीन सय ५० भन्दा बढी बाघ छन् । यत्रो सानो देशमा त्यति धेरै बाघ किन चाहियो ? एक सय ५० जति भए पुग्छ । बाघ पाल्नुपर्छ तर थोरै पाल्नुपर्छ ।’ ओलीले बाटामा यता–उता हिँड्दासमेत बाघ आयो कि भनेर डराउनुपर्ने स्थिति रहेको दाबीसमेत गरेका थिए । उनको कथन थियो, मान्छे खुवाएर बाघ पाल्न सकिँदैन । नेपालमा बाघ बढी भयो भन्ने प्रधानमन्त्रीको ज्ञानको स्रोत के हो भन्न सकिँदैन, तर उनले यो कुरा राख्दै गर्दा नेपालका कुनै पनि वन्यजन्तुविज्ञ, पारिस्थिकीविज्ञ, पर्यावरणविद्, प्रकृतिवादी वा संरक्षणकर्मीसँग सल्लाह गरेका चाहिँ थिएनन् । चीन भ्रमणका क्रममा त्यहाँ धेरै लोपोन्मुख अवस्थामा बाघ रहेको जानकारी पाएपछि नेपालमा बाघ घटाएर बाँकी छिमेकी (चीन) लाई उपहार दिने अभिव्यक्ति आएको पनि हुन सक्ला । तर, खासगरी बफर क्षेत्रमा बस्ने जनता बाघबाहेक अन्य जंगली जनावरबाट पनि पीडित छन् । बाघको संख्या कम हुँदा उसको आहारा बन्ने प्रजातिको संख्या बढेर किसानको बालीनालीमा क्षति बढ्ने सम्भावना रहन्छ ।
संरक्षण प्रयासका बाबजुद विश्वभर जंगली बाघको संख्या घट्दै गएपछि बाघको प्राकृतिक वासस्थान भएका १३ देशका सरकारले सन् २०१० मा पिटर्सबर्ग टाइगर समिटमा पहिलोचोटि एक ढिक्का भएर सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने निर्णय गरेका थिए । सन् २००९ मा नेपालमा १२१ वटा बाघ थिए । लक्ष्य २५० भए पनि नेपालले १२ वर्षमा पाँचवटा राष्ट्रिय निकुञ्जमा गरी बाघको संख्या तीन गुणा बढाएर ३५५ पुर्याउन सफल भयो । पर्सा ४१, चितवन १२८, बाँके २५, बर्दिया शुक्लाफाँटा ३६ । यो सफलतापछाडि सरोकारवाला व्यक्तिको प्रयास, साझेदारी एवं नीतिहरूका साथै विभिन्न देशका सरकारलाई एकताबद्ध गर्ने तथा नेपालको संरक्षित क्षेत्रमा लगानी गर्ने विश्व बैंकको प्रारम्भिक र महत्वपूर्ण भूमिका रहेको छ । प्रकृतिवादी विशेषज्ञहरूले अन्तर्राष्ट्रिय योजनाअनुसार बाघको संख्या दोब्बर बनाउने लक्ष्य राख्नु मूर्खतापूर्ण प्रयास थियो भन्ने अर्थ ओलीको अभिव्यक्तिले दिन्छ । बाघको संख्या तेब्बर बनाउन सफल हुनुलाई नेपालका विज्ञहरू, सरकार, सम्बन्धित निकुञ्ज र आम सरोकारवालाको प्रयासबाट भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसै कारणले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल पुरस्कृत भएको छ । तर, प्रधानमन्त्री ओलीको अभिव्यक्तिले उनीहरूलाई हतोत्साहित पारेको छ ।
नेपाल र भारतले आपसमा मिलेर २० वर्षपहिले सुरु गरेको वन्यजन्तु संरक्षणसम्बन्धी कार्यक्रम तराई आर्क भूपरिदृश्यले दुवै देशको हिमालयको फेदमा अवस्थित शिवालिक (चुरे), भावर र तराईको परिस्थितिकी तन्त्रलाई जोड्ने उद्देश्य लिएको छ । यसमा उत्तराखण्डको जिम कर्बेट टाइगर रिजर्भ, रजाजी कर्बेट टाइगर रिजर्भसहित भारत र नेपालका गरी राष्ट्रिय उद्यान र संरक्षित क्षेत्रहरू जोडिनेछन् । भारततिर पश्चिम यमुनादेखि वाल्मीकि टाइगर रिजर्भसम्मका शिवालिक र गंगा मैदानसहित पाँच राज्यलाई यो अभियानले समेटेको छ । नेपालतर्फ रौटहट बागमती नदीदेखि कञ्चनपुरसम्मको क्षेत्र समेटिएको छ । ९०० किमि लम्बाइ र ५१,००२ किमिभित्र १६ वटा संरक्षित क्षेत्रलाई आपसमा जोड्ने वन्यजन्तु गलियारा (कोरिडोर) व्यवस्थापन गर्दा वन्यजन्तुलाई उनीहरूका प्राकृतिक वासस्थानमा निर्बाध विचरणको अवसर प्राप्त हुनेछ ।
कोरिडोरले विभिन्न प्रजातिलाई स्वाभाविक रूपमा घुम्ने ठाउँ दिनेछ । मानवीय गतिविधिका कारण खण्डित भइसकेका वासस्थानलाई पुनः आपसमा जोड्न सके त्यसले स्थानीय विलुप्तिलाई रोक्नमा मद्दत गर्छ । विभिन्न प्रजातिका वन्यजन्तुलाई भोजन, पानी, आश्रयलगायत संसाधनको खोजीमा नयाँ क्षेत्रमा जान, सुरक्षित मार्ग खोज्न मद्दत गर्छ । मौसमी रूपमा स्थानान्तरण गर्ने खालका प्रजातिहरू, सुरक्षित तथा प्रभावकारी रूपले मानव निर्मित अवरोधलाई छलेर नयाँ र सुरक्षित स्थानमा स्थानान्तरण गर्न सक्षम हुनेछन् । प्रजातिहरूमा प्रजननका लागि अधिक विकल्प हुन्छन् । आनुवंशिक विविधता, स्वस्थ पारिस्थितिक तन्त्र जैविक विविधताका लागि वन्यजन्तु कोरिडोर महत्वपूर्ण हुन्छ । कोरिडोर जलवायु परिवर्तन न्यूनीकरणका लागि पनि महत्वपूर्ण छ । भारततर्फ कोरिडोरहरू स्थापित भइरहेका छन् । तर, महेन्द्र राजमार्ग बनेपछि भौतिक पूर्वाधार विकास निर्माणलगायत मानवीय गतिविधिका कारण खण्डित हुन पुगेको वन्यजन्तुको तराईको वासस्थानलाई फेरि जोड्ने कोरिडोरहरू स्थापना गर्न सम्बन्धित पक्षको ध्यान पुगेको छैन । नेपालतर्फ वन्यजन्तुका लागि स्वतन्त्र विचरण सहज छैन, पूर्वमा चितवन र पर्सा तथा पश्चिममा बाँके, बर्दिया र शुक्लाफाँटासम्म बाघका लागि विचरणको सहज मार्ग छैन । बाघ अत्यधिक प्रादेशिक जन्तु (टेरिटोरियल) हो । यसले क्षेत्र कब्जाका लागि आफ्नै समूह प्रजातिभित्रै संघर्ष गर्छ । कमजोर र वृद्ध बाघ आफ्नो क्षेत्र छाडेर नयाँ क्षेत्र खोज्न बाध्य हुन्छन् । भोजन, पानी, आश्रय तथा साथीको खोजीमा लामो दूरीको यात्रामा गाउँ–नगर पार गर्ने क्रममा बाघहरू चोरी–सिकारीलगायत गतिविधिले असुरक्षित हुन्छन् ।
बाघको अवैध सिकार गरी हड्डी र छालाको गैरकानुनी व्यापार हुने गरेको छ । मानिससँगको संघर्षविनै बाघले लामो दूरीको यात्रा गर्न सक्षम हुनु स्वस्थ पारिस्थितिकी तन्त्रको अर्थ र उद्देश्य हो । घरेलु कोरिडोरहरूमा पर्याप्त ध्यान दिएर वन्यजन्तुको वासस्थानलाई जोड्न जरुरी हुन्छ, ताकि बाघ चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटामा मात्र सीमित नरही नेपालका अन्य क्षेत्रमा पनि विचरण गर्न सकून् ।
नेपालको संरक्षित क्षेत्रलाई भारतको संरक्षित क्षेत्रसँग जोड्ने कोरिडोरहरू सक्रिय भइरहेका छन् । बाँके राष्ट्रिय निकुञ्जका बाघले सीमावर्ती भारतको सुहेलवा वन्यजन्तु आरक्षमा नयाँ वासस्थान भेट्टाउन सफल भएका छन् । खाता र कर्णाली नदी कोरिडोरले बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसँग जोड्छ । भारतको वाल्मीकि राष्ट्रिय निकुञ्ज तथा टाइगर रिजर्भ, चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्ज आपसमा जोडिएका छन् । पिलभितको टाइगर रिजर्भ, नैनीताल–चाम्पावतको नन्धौर वन्यजन्तु आरक्षले जिम कार्बेट राष्ट्रिय उद्यानलाई नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिन कोरिडोर प्रदान गर्छ । यही कोरिडोरको माध्यमबाट जिम कोबट पार्कका जंगली हात्ती बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेको हुन सक्ने अनुमान गरिएको छ ।
नयाँ उपयुक्त घर र सम्भावित साथीको खोजमा महाराष्ट्रको ताडोबा क्षेत्रको एउटा वयस्क बाघ २००० किमिको यात्रा तय गरेर ओडिसाको जंगलमा पुगेको समाचारले भारतीय मिडियामा व्यापक चर्चा पाएको थियो । १२० वर्षअघि ‘चम्पावत म्यान इटर’ कालीनदीको प्राकृतिक कोरिडोर प्रयोग गरेर डडेल्धुरा–बैतडीबाट भारतको चम्पावत पसेको थियो । नन्धौर वन्यजन्तु आरक्षको त्यही पुनस्र्थापित कोरिडोरमार्फत पौडी गढवालको ‘फ्वाँ बाघ’ ९०० किमि यात्रा तय गरेर पर्साको जंगलमा पुग्न सफल भएमा, वन्यजन्तु विज्ञानको यस उपलब्धिले प्रकृतिवादीहरूलाई रोमाञ्चित पार्ने छ। निश्चित रूपमा प्रकृति, पर्यावरण, जलवायु, पारिस्थितिकीको विषयमा कुनै एक देशको दायित्व हुँदैन । यसको दायित्व वैश्विक समाजले लिन्छ । मानव संसारको जटिलताले वन्यजन्तुको दुनियाँ बाधित हुनुहुँदैन । किनकि, यस ग्रहमा वन्यजन्तुको पनि हामी मान्छेको जत्तिकै भरपूर अधिकार छ ।
(जोशी पर्यावरण एवं पास्थितिकी तन्त्रका अध्येता हुन्)