एमालेले पार्टीमा कम्तीमा एक लाख क्षमतावान् नयाँ युवालाई भर्ती गरेर पार्टीमा आबद्ध गराउने लक्ष्यसहित आगामी वैशाखसम्म वडाकेन्द्रित पार्टी निर्माण अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय कमिटीको मंगलबार सम्पन्न बैठकले केन्द्रीय संगठन विभागको संगठन विस्तारसम्बन्धी कार्ययोजना पारित गर्दै ६७ सय ४३ वडामा कम्तीमा एक लाख क्षमतावान् युवालाई भर्ती गरेर पार्टी कमिटीमा भर्ती गर्ने लक्ष्य राखेको हो । कम्तीमा एउटा वडामा १५ जना क्षमतावान् युवालाई रोस्टर बनाएरै प्रशिक्षित गरी पार्टीमा आबद्ध गराउने कार्ययोजनामा भनिएको छ । लक्ष्य पूरा भएको अवस्थामा एक लाख एक हजार १४५ युवा आबद्ध हुन सक्नेछन् ।
‘प्रत्येक वडामा सम्भावना बोकेका कम्तीमा १५ जना युवाको रोस्टर बनाउने (सूची तयार पार्ने) र नेतृत्व विकासका लागि विशेष प्रशिक्षण आरम्भ गर्ने । विदेश गएका पार्टी समर्थक युवाको विवरणसहितको लगत लिने र पार्टीको केन्द्रीय संगठन विभागमा पठाउने । निर्वाचन बुथकेन्द्रित सुरक्षा–प्रबन्धको अग्रिम तयारी थाल्ने । सम्भाव्य युवाहरूको खोजी गर्ने,’ बैठकले पास गरेको युवा नेतृत्व विकासको काम शीर्षकमा भनिएको छ ।
केन्द्रीय कमिटी बैठकले स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासका लागि युवाहरू परिचालन गर्ने भन्दै अलग्गै प्रस्ताव पारित गरेको थियो । ‘स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरूको ठूलो संख्यामा प्रवासनप्रति एमाले चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दै युवाहरूमा उद्यमशीलताको विकास गर्न, उनीहरूलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधिलगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रूपमा युवाहरूलाई परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ । ५० को दशकमा सशस्त्र द्वन्द्व, ६० को दशकमा शान्ति स्थापना र ७० को दशकमा संविधान निर्माण गर्दै अगाडि बढेको मुलुकमा ८० को दशकलाई समृद्धिको दशक र रोजगारी सिर्जनाको दशकका रूपमा अगाडि बढाउन सरकार सफल होस् भन्ने बैठक कामना गर्दछ,’ प्रस्तावमा भनिएको छ ।
१ माघमा सुरु गरेर पार्टी स्थापना दिवस ९ वैशाखमा अभियान समापन गरिने केन्द्रीय सदस्य तथा संगठन विभागका सचिव माधव ढुंगेलले बताए । ०८४ को निर्वाचनमा तीनवटै तहमा एकल बहुमत ल्याउने उद्देश्यले सञ्चालन गरिने अभियानभित्र पार्टी सदस्यता विस्तार, फागुन–चैतभित्र सदस्यता नवीकरण, टोलसम्म संगठनात्मक रूपमा गतिशील बनाउने, पार्टी जीवनको शुद्धीकरण गर्ने, भ्रामक प्रचारको प्रतिवाद गर्ने, पार्टीको नीति र नेतृत्व स्थापित गर्ने, कार्यकर्तामा आत्मविश्वास र जनतामा आशा जगाउन, जनताका माग–मुद्दा र समस्यामा अग्रसरता लिएर घर–घर पार्टीलाई पुर्याउने, महिला सदस्यता कम्तीमा ३३ प्रतिशत पुर्याउने, युवा नेतृत्व विकास गर्न, पार्टीलाई पूर्णतया प्रविधिमैत्री बनाउने उद्देश्य रहेको पनि उनले बताए । ‘वडासम्म जनसंगठनका कमिटी र सदस्य विस्तार गर्न अर्थात् जगैदेखि पार्टीलाई मजबुत जनाधारित कार्यकर्ता पार्टी बनाउन पनि तीनमहिने विशेष अभियानको आवश्यकता परेको हो,’ ढुंगेलले भने ।
अभियानमा केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व पूर्णकालीन रूपमै गाउँमा खटिनुपर्ने आवाज केन्द्रीय कमिटी बैठकम उठेको थियो । त्यस्तै, अभियानबाहेक पनि केन्द्रीय नेतृत्व पूर्णकालीन रूपमा गाउँमै केन्द्रित हुनुपर्ने र स्थानीय समस्या समाधानको नेतृत्व लिनुपर्ने सुझाव पनि कतिपय केन्द्रीय सदस्यहरूले दिएका थिए । एमालेले अभियानमा सम्बन्धित भूगोल, गैरभौगोलिक क्षेत्र र सम्बन्धित जनसंगठनका लागि तोकिएका जिम्मेवार नेता–कार्यकता नै अभियन्ताको भूमिकामा रहने र वडामा बाहिरबाट कुनै प्रतिनिधि नपठाए पनि सम्बन्धित प्रदेश पार्टी कमिटीका इन्चार्जको मुख्य कमान्ड रहने गरी कार्ययोजना बनाएको छ ।
त्यस्तै, जिल्ला इन्चार्जको संयोजनमा निर्वाचन क्षेत्रका इन्चार्ज केन्द्रीय कमिटीका नेताहरूले अभियानको समग्र नेतृत्व गर्नेछन् भने प्रदेश कमिटीका पदाधिकारीले योजनाबमोजिम प्रदेशभरि अभियान चले–नचलेको अनुगमन तथा निर्देशन गर्ने पारित कार्ययोजनामा भनिएको छ । फागुन र चैतलाई सदस्यता नवीकरण र वितरणको महिना बनाउने भनिएको छ ।