सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) प्रवद्र्धक रहेको एक हजार ९०२ मेगावाटको मुगु–कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको बहुमत सेयरका लागि कांग्रेस सांसद विनोद चौधरीको चौधरी ग्रुपअन्तर्गतको सिजी इनर्गाे प्रालिको मात्रै आवेदन परेको छ । त्यस्तै, ४५४ मेगावाटको किमाथांका–अरुण अर्धजलाशययुक्त परियोजनाको बहुमत सेयरका लागि पनि कांग्रेस सांसद डा. सुनील शर्माको नोबल ग्रुप अफ हाइड्रो इनर्जी प्रालिसहित पाँच कम्पनीको प्रस्ताव परेको छ । ‘सरकारी स्वामित्वको कम्पनी प्रवद्र्धक रहेका दुई ठुला जलविद्युत् परियोजना विनासर्त व्यापारिक घरानालाई सुम्पिने प्रपञ्च’ शीर्षकमा १ पुसमै नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । ऊर्जा मन्त्रालय सत्तासाझेदार कांग्रेसकै नेतृत्वमा छ ।
आयोजनाको व्यवस्थापन नै निजी क्षेत्रको स्वामित्वमा जाने गरी ५१ प्रतिशत सेयर विनासर्त सत्तानिकट व्यापारिक घरानालाई सुम्पिन लागिएको चलखेललाई टेन्डरमा परेका आवेदनले थप पुष्टि गरेको छ । भियुसिएलले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी भएका सेयरधनी तथा कम्पनीलाई प्राथमिकता दिने गरी सर्त तोकेर ८ पुससम्मको म्याद दिई २३ मंसिरमा प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव गर्ने कम्पनीहरूको प्राविधिक मूल्यांकन गर्दा स्वार्थ समूहलाई प्राथमिकतामा राख्दै ऊर्जा क्षेत्रकै कम्पनीलाई पाँच, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको कम्पनीलाई चार र त्यसबाहेक क्षेत्रबाट आउने कम्पनीलाई तीन अंक तोकेर आवेदन मागेको थियो । तर, सुरुको म्यादमा प्रस्ताव नै नपरेपछि १५ दिन थपेर २३ पुसम्म (मंगलबार)को समय दिएकोमा प्राप्त आवेदन स्वार्थ बाझिने गरी आएको देखिन्छ ।
भियुसिएलका सूचना अधिकारी नवीन पौडेलले भने–
मुगु–कर्णालीमा एक मात्र र किमाथांका–अरुणका लागि पाँच कम्पनीको आवेदन परेको छ । सिइओ बखतबहादुर शाहीको संयोजकत्वमा मूल्यांकन समिति छ । प्राप्त प्रस्तावहरू मूल्यांकन समितिले बुझिसकेको छ । अब समितिले प्राविधिक मूल्यांकनको काम गरेर छनोटका लागि सिफारिस गर्नेछ । तीन महिनाभित्र सिफारिस गरिसक्नुपर्ने प्रावधानअनुसार समितिले काम गर्नेछ ।
मुगु–कर्णालीमा चौधरी ग्रुपअन्तर्गतको सिजी इनर्गाेको मात्रै आवेदन पर्नु संयोग मात्रै होइन । चौधरी ग्रुप कांग्रेस सांसद विनोद चौधरीको हो । स्रोतका अनुसार चौधरी ग्रुपले यो आयोजनाको सेयर खरिद गरेर विदेशी साझेदारसमेत भित्र्याउने योजना बनाएको छ । प्रस्ताव आह्वानका क्रममा बुद्धनगरस्थित भियुसिएल कार्यालयमा चौधरी समूह र भारतको अडानी समूहका प्रतिनिधि पुगेको स्रोत बताउँछ । दुवै पक्षले परियोजनामा चासो राखेका थिए ।
भियुसिएलले सेयरका लागि आह्वान गरेको आवेदनमा तोकिदिएको प्राथमिकताको समेत लाभ लिएर मुगु–कर्णालीको बहुमत सेयर अब चौधरी ग्रुपको सिजी इनर्गोले पाउने निश्चितजस्तै छ । प्रतिस्पर्धी नै कोही नभएकाले प्राविधिक मूल्यांकनमा पास भए उसले सेयर प्राप्त गर्छ । चौधरी ग्रुपले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आएको छ । यी क्षेत्रमा लगानी गरेका कम्पनीलाई भियुसिएलले प्राविधिक मूल्यांकनमा चार अंक दिने जनाइसकेको छ ।
भियुसिएलका सूचना अधिकारी नवीन पौडेलले अब मूल्यांकन समितिले प्राप्त प्रस्तावहरूको प्राविधिक मूल्यांकन गरी छनोटका लागि सिफारिस गर्ने बताए । ‘सिइओको संयोजकत्वमा मूल्यांकन समिति छ । प्राप्त प्रस्तावहरू मूल्यांकन समितिले बुझिसकेको छ । अब समितिले प्राविधिक मूल्यांकनको काम गरेर छनोटका लागि सिफारिस गर्नेछ,’ पौडेलले भने । भियुसिएलका सिइओ बखतबहादुर शाही छन् ।
किमाथांका–अरुणमा पाँच कम्पनीले लगानीका लागि प्रस्ताव पेस गरेका छन् । सूचना अधिकारी पौडेलका अनुसार किमाथांका–अरुणका लागि नोबेल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि, बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एन्ड पावर लिमिटेड, एनजे हाइड्रो इनर्जी प्रालि र अनक हाइड्रो पावर कम्पनी प्रालिले प्रस्ताव पेस गरेका छन् । नोबेल ग्रुप अफ हाइड्रो इनर्जी कांग्रेस सांसद डा. सुनील शर्माको कम्पनी हो । शर्मा पनि शिक्षा र स्वास्थ्यमा ठुलो लगानी गरेका व्यवसायी हुन् । उनले काठमाडौंमा केएमसी र विराटनगरमा नोबेल मेडिकल कलेज तथा टिचिङ हस्पिटल सञ्चालन गरेका छन् । ऊर्जाबाहेक शिक्षा, स्वास्थ्य र पर्यटनमा लगानी रहेका कम्पनीलाई प्राविधिक मूल्यांकनमा चार र अन्यलाई तीन नम्बर दिने भनेर भियुसिएलले आवेदनका क्रममै सर्त तोकेको थियो । यसरी ऊर्जा परियोजनाका लागि पर्यटन, शिक्षा र स्वास्थ्यसम्बन्धी सर्त उल्लेख गर्नु नै शंकास्पद थियो ।
किमाथांका–अरुणमा आवेदन दिने अनक हाइड्रो पावर कम्पनी प्रालि अनक कन्स्ट्रक्सन कम्पनीअन्तर्गतको हो । अनक कन्स्ट्रक्सनमा अध्यक्ष श्रीराम महर्जन, प्रबन्ध निर्देशक अमृतकुमार महर्जनलगायत व्यवसायी छन् ।
त्यस्तै, आवेदन परेको भिजन इनर्जी एन्ड पावर लिमिटेडमा कार्यकारी अध्यक्ष टिएन आचार्यलगायत आबद्ध छन् । यो पब्लिक कम्पनी हो । बेला नेपाल इन्डस्ट्रिजले भने आवास निर्माणलगायत क्षेत्रमा काम गर्दै आएको देखिन्छ । त्यस्तै, एनजे हाइड्रो इनर्जी प्रालि नयाँ कम्पनी हो ।
कस्ता हुन् यी दुई विद्युत् परियोजना ?
भियुसिएलले सन् २०१८ मा १९०२ मेगावाटको मुगु–कर्णाली जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पाएको थियो । ०७९ वैशाखमा मात्रै यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भयो । भियुसिएलले निर्माण अनुमति माग्दै ०८० असारमा विद्युत् विकास विभागमा आवेदन दिए पनि अभैm पाएको छैन । परियोजना हुम्ला, बाजुरा र मुगुमा पर्नेछ । आयोजना निजी जग्गाको मुआब्जा निर्धारण गरेर वितरणको तयारीमा छ । तर, उक्त खर्च कसरी लाभमा प्राप्त गर्ने भनेर प्रस्तावमा कतै उल्लेख छैन । त्यस्तै, संखुवासभामा बन्ने किमाथांका–अरुण जलविद्युत् परियोजनाको निर्माणका लागि ०७९ असारमा विभागमा आवेदन दिएको थियो । त्यसको पनि निर्माण अनुमतिपत्र अझै आइपुगेको छैन । हालसम्म परियोजनाको अध्ययन, सर्भे, लाइसेन्स, पहुँचमार्ग निर्माणलगायतमा ठुलो खर्च भइसकेको छ । किमाथांकामा तीन सय रोपनी निजी जग्गा अधिकरण भइसकेको छ भने सरकारी जग्गा प्राप्ति हुन बाँकी छ । किमाथांका–अरुणका लागि ९३ अर्ब ८० करोड र मुगु–कर्णालीको चार खर्ब ६० अर्ब गरी दुई परियोजनाको लागत अनुमान पाँच खर्ब ५३ अर्ब ८० करोड गरिएको छ । अब छनोट हुने कम्पनी र भियुसिएलको संयुक्त लगानीको कम्पनी स्थापना गरिनेछ । त्यसपछि सोही कम्पनीले नै परियोजना निर्माणको काम अघि बढाउनेछ । जोइन्ट भेन्चर कम्पनीमा छनोट हुने कम्पनीको न्यूनतम ५१ प्रतिशत र बाँकी भियुसिएलको सेयर लगानी हुनेछ ।
मुगु–कर्णालीमा एक मात्र र किमाथांका–अरुणका लागि पाँच कम्पनीको आवेदन परेको छ । सिइओ बखतबहादुर शाहीको संयोजकत्वमा मूल्यांकन समिति छ । प्राप्त प्रस्तावहरू मूल्यांकन समितिले बुझिसकेको छ । अब समितिले प्राविधिक मूल्यांकनको काम गरेर छनोटका लागि सिफारिस गर्नेछ । तीन महिनाभित्र सिफारिस गरिसक्नुपर्ने प्रावधानअनुसार समितिले काम गर्नेछ ।