तिब्बततर्फको सगरमाथा प्रवेशद्वारमा शक्तिशाली भूकम्प : कम्तीमा १२६ को मृत्यु, १८८ भन्दा धेरै घाइते

पूर्वी र मध्यनेपालमा पनि ठुलो झड्का महसुस, १३ जना घाइते

बुधबार, २४ पुष, २०८१
डिजिटल संस्करण

चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर कम्तीमा १२६ को मृत्यु भएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा १८८ भन्दा बढी घाइते भएका छन् । तिब्बतको सिगात्सेस्थित डिंग्री काउन्टीअन्तर्गत सोगो सहरलाई केन्द्र बनाएर गएको भूकम्पमा स्थानीय एक हजारभन्दा धेरै घर भत्किएका छन् । 

चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सिएएनसी)ले भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटरमुनि र शक्ति ६.८ म्याग्निच्युड मापन गरेको छ । युएस जियोलोजिकल सर्भेले भने ७.१ मापन गरेको थियो । स्थानीय चिनियाँ समय (नेपाली समयअनुसार बिहान ६ः५० बजे) अनुसार बिहान ९ः०५ बजे भूकम्प गएको थियो ।

चीनको विपत् प्रतिकार्य एकाइले उद्धार, राहत तथा पुनस्र्थापनाको कामलाई तीव्रता दिइसकेको छ । चिनियाँ जनमुक्ति सेनाले प्रभावित क्षेत्रमा २२ हजार थान राहत सामग्री पठाइएको छ भने एक हजार पाँच सयभन्दा धेरै स्थानीय अग्निनियन्त्रकसहित ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको सिन्ह्वाले जनाएको छ । करिब ६२ हजार मानिसको आवादी रहेको डिंग्री सहर चीनतर्फबाट सगरमाथाको प्रवेशद्वार पनि हो ।

सिन्ह्वाका अनुसार त्यहाँ रहेको पन्चेन लामाको टासीहुन्पो गुम्बामा भने क्षति भएन । भूकम्प गएलगत्तै उद्धार तथा खोजी कार्यमा सक्रिय हुन सेनासहित सबै अधिकारीलाई राष्ट्रपति सी जिनपिङले निर्देशन दिएका थिए । केन्द्र सरकारले उपप्रधानमन्त्री झाङ गुओछिङलाई तिब्बत पठाउने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।

हाल भूकम्पीय क्षेत्रमा ३४ सय उद्धार टोली तथा ३४० जनाको मेडिकल टिमले काम गरिरहेको छ । खोज तथा उद्धार कार्य मंगलबार रातिसम्म जारी थियो । सिन्ह्वाका अनुसार भूकम्पलगत्तै चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैन्य कमान्डले दुई हेलिकोप्टर पठाएर खोज र उद्धार सुरु गरेको थियो । त्यसलगत्तै, चिनियाँ सशस्त्र जनप्रहरीको टोली तथा जनमुक्ति सेनाको पश्चिम थिएटर कमान्डको फरवार्ड कमान्ड पोस्टको टोली वाई २० सैन्य जहाज लिएर खोज र उद्धार अपरेसनमा दिनभर खटिएको थियो ।

तिब्बतमा गएको भूकम्पले नेपालमा पनि भौतिक क्षति गरेको छ । १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार सोलुखुम्बु र ओखलढुंगामा एउटा–एउटा घरमा पूर्ण क्षति पुगेको छ । त्यसबाहेक ओखलढुंगा,  सोलुखुम्बु, ताप्लेजुङ, सिन्धुपाल्चोक, रामेछाप र खोटाङमा १८ घरमा आंशिक र सामान्य क्षति पुगेको छ । काठमाडौं, बारा र काभ्रेमा १३ जना घाइते भएका छन् । बिहान भूकम्प जाँदा पूर्वी  र मध्य नेपालमा ठुलो झड्का महसुस भएको थियो । त्यसक्रममा घाइते भएकालाई प्रहरीले उद्धार गरेको हो ।

नेपालको ताप्लेजुङ र संखुवासभा जिल्लाको सीमा जोडिएको तिब्बत जिल्ला (काउन्टी) डिंग्रीमा गएको भूकम्प र जनधनको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रालयले भूकम्प प्रभावित तिब्बत क्षेत्रका चिनियाँ जनता र चीन सरकारप्रति सहानुभूति जनाएका छन् । 

एउटै भूकम्पको म्याग्निच्युड फरक किन ? भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको विश्लेषण

नेपाली समयअनुसार मंगलबार बिहान ६:५० बजे तिब्बतको सिगात्सेस्थित डिंग्री काउन्टीअन्तर्गत सोगो सहरमा केन्द्रविन्दु भएर भूकम्प गयो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७, अमेरिकाको युनाइटेड स्टेट्स जियोलोजिकल सोसाइटीले ७.१ र चीनको चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले ६.८ म्याग्निच्युड भनेका छन् ।

किन फरक पर्‍यो भने भूकम्पको शक्ति विभिन्न प्रकारले मापन हुन्छ । पहिलो हो, भूकम्पको उद्गम विन्दुबाट उत्पन्न भएका तरंगहरू, जुन पृथ्वीभित्रबाट सतहसम्म आउँछन् । जस्तै, पी वेभ र एस वेभ जसलाई बडिवेभ म्याग्निच्युड भनिन्छ । यी तरंग पनि भूकम्पको केन्द्रविन्दुबाट रेकर्ड भएका भूकम्प मापन स्टेसनसम्मको दूरीमा निर्भर हुन्छन् । यदि भूकम्पको केन्द्रविन्दु नजिक रहेका स्टेसनमा रेकर्ड भएका तरंगबाट मापन गरिएको म्याग्निच्युडलाई लोकल म्याग्निच्युड (एमएल) भनिन्छ । दोस्रो,  भूकम्पपछि पृथ्वीको सतहमा उत्पन्न भई पृथ्वीको सतहबाट यात्रा गरी भूकम्प मापन स्टेसनमा रेकर्ड हुने । जसलाई सर्फेस वेभ भनिन्छ र यसको आधारमा मापन गरिनेलाई सर्फेस वेभ म्याग्निच्युड भनिन्छ ।

भूकम्प गएको स्थानबाट नजिकै (ताप्लेजुङ, सोलुखुम्बु, धनकुटा आदि) मा हाम्रा स्टेसन छन्, तीलगायतका स्टेसनहरूको डाटाबाट मापन भएको हो । हामीले रेकर्ड गरेको म्याग्निच्युड पनि लोकल म्याग्निच्युड हो, तर हाम्रो भूकम्प मापन सञ्जाल भूकम्पको केन्द्रविन्दुबाट एकातर्फ मात्र भएकाले केन्द्रविन्दु तथा म्याग्निच्युड त्यहाँको तुलनामा फरक आउनु स्वाभाविक हो । 

तेस्रो, भूकम्प जाँदा भूकम्पले दरार सरेको दूरी र यसरी चट्टानहरू सर्न लागेको बलको आधारमा मापन गरिएको म्याग्निच्युड जसलाई मोमेन्ट म्याग्निच्युड (एमडब्लु) भनिन्छ । यो सबैभन्दा रुचाइएको वा प्रयोग हुने म्याग्निच्युड पनि हो । यसैगरी, भूकम्पले कम्पन गराएको समयको आधारमा पनि म्याग्निच्युड मापन गर्ने गरिन्छ, जसलाई ड्युरेसन म्याग्निच्युड भनिन्छ ।

भूकम्पको केन्द्रविन्दु स्टेसन टाढा हुँदा भूकम्पका प्यारामिटरमा इरर बढी हुन्छ, म्यानुल्ली प्रोसेसिङ गरेकोभन्दा अटोमेटिक प्रोसेसिङको प्रयोग हुँदा पनि गुणस्तरमा फरक पर्दछ । नेपाललाई हल्लाएको भएर हामीले म्याग्निच्युड निकालेका हौँ । ०७२ को भूकम्पमा पनि यस्तै भएको थियो, हामीले ७.६, अमेरिकाले ७.८ र चीनले ८.१ म्याग्निच्युड भनेका थिए ।

अहिलेको भूकम्प चीनमा केन्द्रविन्दु भएर गएकाले चीनले भनेको आधिकारिक हो, तर अरू म्याग्निच्युड पनि सही हुन् । म्याग्निच्युड स्केल फरक हुन् । भूकम्पले कहाँ कति हल्लायो भन्नुको अर्थ म्याग्निच्युड फरक हुने होइन । भूकम्पले कति शक्ति निकाल्यो त्यही म्याग्निच्युड हो । म्याग्निच्युड ठाउँपिच्छे फरक हुँदैन । 

भूकम्पको भविष्यवाणी गर्न सकिँदैन । ठुलो भूकम्पपछि अझ ठुलो जान्छ वा ससानो भूकम्पपछि ठुलो भूकम्प जान्छ भन्ने पनि होइन । चीनमा ठुलो भूकम्प जानुअघि ३.३ म्याग्निच्युडको धक्का गएको थियो, जसलाई पूर्वकम्प भनिन्छ । तर, ०७२ को गोरखा भूकम्पअघि पूर्वकम्प गएनन् । ठुलो भूकम्प गइसकेपछि परकम्प भने गइरहन्छन् । चीनमा गएको भूकम्पपछि ४ म्याग्निच्युडमाथिका १० वटाभन्दा बढी परकम्प गइसकेका छन् ।
 

See More On

सुझावित समाचार