त्यतिखेर मोहनदास करमचन्द गान्धी ७ कक्षामा पढ्थे । स्कुलका प्रधानाध्यापक थिए– दोरबजी एदुलजी गिमी । उनी निकै अनुशासनप्रिय थिए । उनले विद्यार्थीका लागि व्यायाम, खेलकुद र क्रिकेट अभ्यासमा भाग लिन अनिवार्य गरिदिएका थिए । तर, मोहनदासलाई पिताको सेवा, सुश्रुषाका लागि स्कुलपछि छिटै घर जानुपथ्र्यो । त्यसैले, उनले खेलकुदबाट छुट्टी पाऊँ भनी प्रधानाध्यापकलाई निवेदन लेखे । तर, उनले छुट्टी पाएनन् ।
एक शनिबार स्कुल बिदा भए पनि अपराह्न ४ बजे खेलकुद अभ्यासका लागि स्कुल जानुपर्ने थियो । मोहनदाससित घडी थिएन । आकाशमा पनि कालो बादल मडारिइरहेको थियो । त्यसैले उनले समयको ठिक अनुमान लगाउन सकेनन् । जब उनी स्कुल पुगे, त्यतिखेर सबै विद्यार्थी घर फर्किसकेका थिए । भोलिपल्ट प्रधानाध्यापकले मोहनदाससित खेलकुद कक्षामा गयल हुनुको कारण सोधे । मोहनदासले जे भएको थियो, त्यसबारे सबै यथार्थ बताए र माफी पनि मागे । तर, प्रधानाध्यापकलाई मोहनदासले झुटो बोलिरहेका छन् जस्तो लाग्यो । त्यसैले, उनले मोहनलाई सजायस्वरूप दुई आना जरिवाना तिराउने निर्णय गरे ।
प्रधानाध्यापकको निर्णयले बालक मोहनदासको मनमा निकै गहिरो पीडा भयो । साँचो बोल्दाबोल्दै पनि प्रधानाध्यापकले आफूलाई झुटो सम्झेकोमा उनलाई छटपटी भयो । अर्को दिन मोहनदासका पिताले जे भएको थियो, त्यही यथार्थ हाल खुलाएर प्रधानाध्यापकलाई पत्र पठाए । घडी नभएर सही समयको अनुमान नहुँदा खेलकुद कक्षा छुटेको थाहा पाएपछि प्रधानाध्यापकले मोहनमाथि लगाएको जरिवाना हटाइदिए । त्यस दिनदेखि बालक मोहनदासले आजीवन साँचो बोलिरहने र समयको मूल्य बुझेर पाइला चाल्ने प्रण गरे । परिणामतः त्यसपछिका दिनमा उनले समयको पालना र सत्यवादितामा कहिल्यै कुनै त्रुटि हुन दिएनन् ।