कास्की अदालतमा पत्रकारलाई प्रवेश निषेध

कार्यालय परिसरमा समेत पस्न दिइँदैन

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

कास्की अदालतमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ। रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिकमा म्याद थपका लागि लैजाने क्रममा प्रतिक्रिया दिएपछि ५ कात्तिकदेखि अदालतमा परिसरमा पत्रकार प्रवेशमा रोक लागेकाे हो। 

लामिछानेलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी ४ कात्तिकमा म्याद थपका लागि प्रहरीले अदालत लैजाँदा सुरुमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । तर, पत्रकारको टोलीले अदालतका स्रेस्तेदार र सूचना अधिकारीलाई भेटेपछि प्रवेश दिइएको थियो । तर, म्याद थपका लागि ल्याउने क्रममा लामिछानेले अदालतपरिसरमा पत्रकारलाई प्रतिक्रिया दिएपछि यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले चासो राखेका थिए । सोही कारण ५ कात्तिकदेखि अदालतपरिसरमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । 

पत्रकार अदालतभित्र प्रवेश गरेको थाहा पाएमा परिसरबाट प्रहरीले बाहिर निकाल्ने गर्दै आएकाे छ । अदालतमा खुला बहस सुन्न पाइन्छ । तर, कास्की अदालतले भने पत्रकारलाई इजलासमा त परै जाओस् गेटभित्र पनि प्रवेश गर्न दिँदैन । अदालत सुरक्षामा प्रहरीतर्फबाट कमान्ड सम्हालिरहेका असइ मुकेश आलेले अदालत र जिल्ला प्रहरीबाट पत्रकारलाई प्रवेश गर्न नदिनु भन्ने आदेश रहेकाले पालना गरेको बताए । 

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले भने अदालतमा पत्रकारलाई प्रवेश गर्न दिने/नदिने विषय अदालतको क्षेत्राधिकार रहेको बताए । अदालतका स्रेस्तेदार राजन खनालले भने अदालतपरिसर सानो भएकाले भिडभाड हुन सक्ने भएकाले प्रवेशमा रोक लगाइएको तर्क गरे । ‘आफूले कुनै निर्णय दिन नसक्ने भएकाले  श्रीमान् (न्यायाधीश) सँग सल्लाह गरेर थप जवाफ दिने उनले बताए । 

सर्वोच्च अदालतका प्रवत्ता अच्युत कुईकेलले अदालतमा पत्रकारलाई प्रवेशमा रोक लगाउने नीति नरहेको र रोक लगाउन नपाइने बताए । खुला इजलासमा पनि स्थान हेरेर पत्रकारलाई प्रवेश दिनुपर्ने भनाइ उनको छ ।  तर, सर्वोच्च अदालतमा भने  पत्रकारलाई विशेष पास दिएर इजलासमा जान दिने गरिएको उनले सुनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदातलमा पत्रकारले निर्वाध रूपमा प्रवेश पाउनुपर्ने बताए । ‘पत्रकारले अदालतमा प्रवेश गरेर दैनिक काम कारबाहीमा बाधा पुर्याए भने अदालतले आफ्नो तरिकाले काम गरोस्, त्यसमा भन्नु केही छैन, तर प्रवेशलाई भने सहज बनाइयोस् भन्ने महासंघको माग छ,’ उनले भने ।  

सुझावित समाचार