सर्वोच्च अदालतले कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बोलेको भिडियो झिकाएको छ। मंगलबार सर्वोच्चको संयुक्त इजलासले अदालतको अवहेलना मुद्दामा यस्तो आदेश गरेको हो।
बारका अध्यक्ष घिमिरेमाथि यसै वर्ष १४ असोजमा उक्त मुद्दा दर्ता भएको थियो। यस विषयमा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आदेश गरेको हो।
‘..प्रत्यर्थीको अभिव्यक्ति मिति ०८१/०६/११ मा काठमाडौं जिल्ला अदालत बार इकाइले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जवाफको प्रकरण नं. ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यक्रमको श्रव्य/दृश्यको छायांकन/अभिलेख आयोजक बार इकाइबाट झिकाई प्रत्यर्थीलाई देखाइसुनाई सोको सनाखत गराई मिसिल सामेल गरी नियमानुसार पेस गर्नू,’ आदेशमा छ।
बारका अध्यक्ष घिमिरेले नृपध्वज निराैला र नित्यानन्द पाण्डेको नियुक्ति सिफारिस हुँदा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेन मिलाउन नियुक्ति सिफारिस गरेको अभिव्यक्ति दिएका थिए। जसपछि सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अवहेलनामा कारबाही गर्नुपर्ने भन्दै टिप्पणी उठाएका थिए। अध्यक्ष घिमिरेले सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन्।
गत वर्ष असोजमा न्यायपरिषद् नियमावली संशोधन गरिएकोमा बारले यसको विरोध गर्दै आएको छ। विरोधबिच कार्यकालको अन्तिम समयमा रिक्तमध्ये केवल २ न्यायाधीश सिफारिस गरिएको भन्दै बारको आन्दोलनका क्रममा अध्यक्ष घिमिरेको सो अभिव्यक्ति आएको थियो।