राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले वाइडबडी खरिद भ्रष्टाचारमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै सांसद खनालले भने, ‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ। नेपाली मूलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्विकार गरेका छन्।’
नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसके पनि अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको स्मरण गराउँदै खनालले संसदीय छानबिन समिति बनाएर स्वतन्त्र रूपमा हेर्नुपर्ने माग गरे।
‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो,’ उनले भने, ‘त्यसैले सभापतिज्यू एउटा छानबिन समिति बनाऊँ। पछिल्लो समय उठेका विषय नजिकबाट हेरौँ।’