राष्ट्रिय महिला लिग : रश्मिको लगातार दोस्रो ह्याट्रिक

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

रश्मिकुमारी घिसिङले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा लगातार ह्याट्रिक गरेकी छिन् । सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले वालिङ नगरपालिकालाई ९–० ले हराउँदा रश्मिले चार गोल गरिन् । उनी दुई खेलमै सात गोल गर्दै उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् । 

यसअघि १६ भदौदेखि १८ असोजसम्म भएको पहिलो चरणमा पनि रश्मिले तीन ह्याट्रिक प्रहार गरेकी थिइन् । टोलीले ९ खेल खेल्दा सर्वाधिक १८ गोल गरिन् । दोस्रो चरणको पहिलो खेलमा बागमती युवा क्लबविरुद्ध एपिएफ ५–१ ले पराजित हुँदा रश्मिले खेलेको ६, १२ र ७० मिनेटमा गोल गरेकी थियन् । दोस्रो खेलमा रश्मिले पहिलो हाफको १७औँ मिनेटमै ह्याट्रिक पूरा गरिन् । खेलको ३, ६, १७ र ७७औँ मिनेटमा गरी चार गोल गरेकी हुन् । 

मुख्य स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च महिला लिग खेल्ने भएपछि एपिएफले राष्ट्रिय टोलीकी सदस्य रश्मिलाई अट्याकको भूमिका सुम्पिएको छ । सावित्राको अभावलाई रश्मिले कमी हुन दिएकी छैनन् । ‘रश्मिबाट राम्रो भइरहेको छ । तर, हामीले सोचेजस्तो अझै अट्याकिङ थर्डमा राम्रो हुन सकेको छैन,’ एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले खेलपछि भने, ‘अझै फिनिसिङमा समस्या छ । त्यसैमा सुधार गर्नुपर्छ ।’

करिब दुई वर्षअघि भएको लिगमा रश्मिले विभागीय अर्काे टोली त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन् । गत वर्ष मात्रै उनी आर्मी छाड्दै एपिएफमा अनुबन्ध भएकी हुन् । 

एपिएफको दोस्रो जित
रश्मि चम्किएपछि एपिएफले लिगको दोस्रो चरणमा लगातार दोस्रो जित निकालेको छ । राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको एपिएफले कमजोर रहेको वालिङलाई ९–० ले हरायो । पहिलो चरणमा भने टोली मात्र २–१ ले पराजित भएको थियो । दोस्रो चरणमा विदेशी खेलाडी अनुबन्ध गर्न नसक्दा वालिङ ठुलो हार व्यहोर्न बाध्य भएको हो । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जित दिलाउन रश्मिले एक्लै चार गोल गरिन् । रक्षक गीता राना र मिडफिल्डर सरु लिम्बूले समान दुई गोल गरेका हुन् । अर्की मिडफिल्डर अनिता केसीले एक गोल थपिइन् । 

वालिङविरुद्ध राष्ट्रिय टोलीकी रश्मि, सरु, गीता, अनिता केसीसँगै, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सविता रानामगर र निशा थोकर एपिएफको टिममा थिए । त्यस्तै, नेपालको उमेर समूहबाट खेलिसकेकी गोलकिपर सावित्री किसन, प्रतीक्षा चौधरी, मनमाया दमाईं, रेनुका हमाल, हिमा रावत र कुसुम खतिवडालाई एपिएफले मौका दिएको थियो । एपिएफमा जागिरे रहेका सावित्री फ्रान्स र गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा ग्रिसको लिगमा आबद्ध छन् । 

लगातार दोस्रो जितपछि एपिएफले ६ अंक जोडेको छ । एपिएफ लिगमा लगातार दुई खेल जित्ने एक्लो टोली हो । लगातार दोस्रो पराजय व्यहोरेको वालिङ पुछारमा छ । पहिलो खेलमा वालिङ अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ५–० ले हारेको थियो । यो हारपछि वालिङको प्लेअफ सम्भावना कमजोर भएको छ । 

See More On

सुझावित समाचार