नेतृत्व विकाससम्बन्धी आधादिने प्रशिक्षण सम्पन्न

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण

नेपाल–भारत वाणिज्य संघ र बर्मिंघम विश्वविद्यालयले सोमबार नेतृत्व विकाससम्बन्धी आधादिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। योर होल सेल्फ इन वर्कप्लेस (तपाईंको सम्पूर्ण आत्मा कार्यस्थलमा) शीर्षककाे प्रशिक्षण व्यक्तिले भित्री विशेषताहरू, क्षमताहरू र स्रोतहरूको उपयोग गरी नेतृत्वमा प्रभावकारिता र प्रभावलाई कसरी अधिकतम बनाउन सकिन्छ भन्ने बारेमा केन्द्रित थियो ।

बर्मिंघम विश्वविद्यालयको एडवर्ड क्याडबरी सेन्टरका प्रोफेसर एन्ड्र्यु डेभिस र डा. जुही गुप्ताले प्रशिक्षार्थीहरूलाई नेतृत्व विकासका नयाँ र रोचक दृष्टिकोण प्रस्तुत गरेका थिए । प्रशिक्षणले आजको उद्योग र वाणिज्यको चुनौतीपूर्ण क्षेत्रमा जनशक्ति र परियोजनाहरूलाई प्रभावकारी रूपमा कसरी नेतृत्व गर्न सकिन्छ भन्ने नयाँ र सिर्जनात्मक दृष्टिकोण प्रस्तुत गरेको थियो । प्रशिक्षणले सहभागीहरूलाई उनीहरूसँग पहिलेदेखि नै भएको विशिष्ट क्षमतालाई उपयोग गर्न जोड दिएको थियो।

‘स्लो लिडरले कसरी सफल हुन्छ’ भन्ने व्याख्या गर्दै प्रोफेसर एन्ड्र्युले भने, ‘कसैले पनि अनिर्णायक नेताको नेतृत्वमा काम गर्न चाहँदैनन्, तर गलत दिशामा चाँडै निर्णय गरेर नेतृत्व गर्नुले कसैलाई फाइदा गर्दैन ।’

प्रशिक्षणमा तीव्र र समावेशी निर्णयहरूलाई सचेततापूर्वक कसरी लिन सकिन्छ भन्नेबारेमा पनि व्याख्या गरिएको थियो । यसले व्यक्तिको मानवीय विशेषता, मूल्य, दृष्टिकोण र प्राथमिकतालाई समेटेर आफ्नै विशिष्ट क्षमतालाई जोड दिनुपर्ने महत्त्वलाई स्पष्ट पार्न मद्दत गरेको थियो ।

दुई घण्टाको प्रशिक्षणमा प्रोफेसर एन्ड्र्यु र डा गुप्ताले व्यावहारिक अनुभवहरू र नयाँ अनुसन्धान निष्कर्षहरू प्रस्तुत गरेका थिए। साथै, सहभागीहरूलाई आफूले सामना गरिरहेका नेतृत्व चुनौतीहरू समाधान गर्न नेतृत्व निर्णय प्रक्रियाका नयाँ मोडल र सोच विकास गर्न अभिप्रेरित गरेका थिए। यस्ता सोच समग्र, सांस्कृतिक रूपमा सान्दर्भिक, र तीव्र पेसागत वातावरणमा उपयोग हुने  हुनाले निर्णयअघि ठम्याउने, प्रतिबिम्ब गर्ने र मूल्यांकन गर्ने समय दिने उनीहरूको भनाइ थियो।

कार्यक्रमको सुरुमा नेपाल–भारत वाणिज्य संघका अध्यक्ष सुनील केसीले प्रोफेसर एन्ड्र्यु र डा. गुप्तालाई स्वागत गर्दै नेतृत्व विकासका लागि नेपाल–भारत वाणिज्य संघको प्रयासहरूलाई प्रकाश पारेका थिए।

कार्यक्रममा ७० जना व्यवस्थापक, कर्पोरेट हाउसका शीर्ष नेतृत्व र उद्यमीहरूको सहभागिता थियो।

सुझावित समाचार