निर्माण भएको १२ वर्षपछि क्याम्पस भवन उद्घाटन

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण

जिल्ला सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पस भवन निर्माणको १२ वर्षपछि सोमबार उद्घाटन भएको छ । भारत सरकारको सहयोगमा १२ वर्षअघि निर्माण भएको क्याम्पस र छात्रावास भवन सोमबार नेपालस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।

भारत सरकारको दुई करोड ७९ लाख सहयोगमा १६ कोठे दुईवटा कक्षाकोठा भवन र आठ कोठे छात्रावास भवन निर्माण भएको थियो । भवन निर्माण भएर नियमित पठनपाठन हुँदै आए पनि सोमबार औपचारिक रूपमा उद्घाटन र हस्तान्तरण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए । 

यस क्याम्पसमा ०६७ देखि भवन निर्माण सुरु भएको थियो भने ०६९ सालमा निर्माण सम्पन्न भएको थियो । तत्कालीन क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदीका अनुसार भवन निर्माणको ठेक्का आह्वान गर्दा जिल्ला विकास समितिले भ्याटबराबरको ३९ लाख रकम व्यहोरेको थियो । भारत सरकारकै सहयोगमा क्याम्पसमा कम्प्युटर ल्याबको फर्निचरसमेत व्यवस्थापन गरिएको छ । 

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले आठ सय बढी विद्यार्थी अध्ययरत क्याम्पसमा निर्माण भएको कक्षाकोठा भवन र छात्रावास भवनले पठनपाठनमा सहज भएको बताए । राजदूतावासको समय व्यवस्थापन गर्ने क्रममा भवनको उद्घाटनमा ढिलाइ भएको अध्यक्ष ढुंगानाको भनाइ छ । 
 
समुदायस्तरबाट ०४८ मा स्थापना भएको म्याग्दी क्याम्पसमा ११ र १२ कक्षादेखि स्नातक तह हुँदै स्नातकोत्तर तहसम्मको पठनपाठन हुँदै आएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत भवन निर्माण भएको थियो । कार्यक्रममा राजदूतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटासहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएका जानकारी दिए ।  
 

सुझावित समाचार