जलवायु परिवर्तन : अत्यावश्यकताले निर्देशित पुस्ता

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

मेरो पुस्ताका लागि जलवायु परिवर्तन अब सुदूर विषय रहेन । यसले विश्वको हरेक कुनामा प्रत्यक्ष प्रभाव पारिरहेको छ र एउटा विश्वव्यापी संकट हुन पुगेको छ ।

सामान्यतः तापमान र मौसमको स्वरूपमा लामो अन्तरालमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनेर बुझिन्छ । यस्तो परिवर्तन विश्वव्यापी प्रकृतिको हुन्छ । सूर्यको विकिरणबाट पृथ्वीले तापशक्ति प्राप्त गर्छ । वायुमण्डलको तापक्रम सन्तुलन राख्न यही सौर्य विकिरणले भूमिका खेलेको हुन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण लिएको हुन्छ, त्यति नै विकिरण पुनः अन्तरिक्षमा फिर्ता पठाउनुपर्ने हुन्छ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन पाउँदैन । यो प्रक्रियामा घटबढ हुन गए जलवायुमा परिवर्तन आउँछ । यसैलाई जलवायु परिवर्तन भनिन्छ ।

हुन त जलवायु परिवर्तन प्राकृतिक रूपमा नै भइरहन्छ । तर, १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म चलेको औद्योगिक क्रान्तिपछि जलवायु परिवर्तनको स्वरूपमा अस्वाभाविक परिवर्तन देखिन थाल्यो । जलवायु परिवर्तन प्राकृतिक सन्तुलनका आधारमा हुनुपर्ने हो । तर, त्यो सन्तुलन मानवीय गतिविधिका कारण भत्किन पुग्यो र विश्वव्यापी तापमानमा वृद्धि हुँदै गएर गम्भीर चिन्ता बढाएको छ ।

पहिले जलवायुसम्बन्धी सैद्धान्तिक ज्ञान मात्र लिने गरिन्थ्यो, तर अहिले जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमै भोग्न थालेको अवस्था छ । अतः चरम मौसमी घटना, जैविकता एवं वातावरणीय ह्रास, आर्थिक, सामाजिक एवं पारिस्थितिक प्रणालीमा बढ्दो असमानताजस्ता चुनौती विकसित हुँदै गएका छन् ।

जलवायु परिवर्तनको विश्वव्यापी चुनौती माझ सन् १९९७–२०१२ को बिचमा जन्मिएको ‘जेन–जी’ पुस्ता न्याय र जवाफदेहिताको माग गर्ने शक्तिशाली आवाजको रूपमा उदाएको छ । जलवायु परिवर्तनप्रति यो पुस्ताको प्रतिक्रियाले उनीहरूलाई यो मुद्दाको महŒव, आवश्यकता र समाधानप्रति प्रतिबद्ध पुस्ताको रूपमा परिभाषित गरेको छ । सूचना प्रविधि र आर्थिक तथा सामाजिक संक्रमणकालमा जन्मिएर हुर्किएको पुस्ता नै जेन–जी पुस्ता हो । यो पुस्ता स्मार्टफोन, सामाजिक सञ्जाल र डिजिटल कनेक्टिभिटीको व्यापक अपनत्वद्वारा निर्देशित छ । अर्कोतर्फ नेपालमा जेन–जी राजनीतिक संक्रमणका तमाम चुनौती र महत्वपूर्ण राष्ट्रिय परिघटनाहरूसँगै हुर्केको पुस्ता हो । पग्लिँदा हिमनदी, अनियमित मनसुन, खडेरी, बारम्बारका प्राकृतिक विपत्ति जलवायु संकटकै बढ्दो प्रभाव हुन् । माथि उल्लेखित कारणले जलवायु संकटको बढ्दो प्रभावसँग मिलेर, जेन–जी पुस्तालाई स्थिरता, दृढता र नीतिगत परिवर्तनको मूल्यांकन गर्ने पुस्तामा ढालेको छ । सिर्जित साझा चुनौतीहरूले उनीहरूको सामूहिक पहिचान अझ समतामूलक र दिगो भविष्य सिर्जना गर्ने अभिलाषालाई कसरी आकार दिएको छ भनेर बुझ्न आवश्यक छ ।

जेन–जीका लागि जलवायु परिवर्तन सुदूरको होइन, भविष्यलाई पुनः आकार दिन थालिसकेको संकट हो । समस्याको सम्बोधनमा ढिलासुस्ती हुँदा व्यक्ति, समाज र राष्ट्रले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा जेन–जी पुस्ताले प्रत्यक्ष देख्दै, भोग्दै आएको छ । त्यसैले यो पुस्ता हरेक समस्याको दिगो र छरितो समाधानका लागि वकालत गरिरहेको छ । जलवायु परिवर्तनजस्तो संवेदनशील र विश्वव्यापी संकटलाई सामूहिक अस्तित्व र पृथ्वी–रक्षाको लडाइँका रूपमा लिएको छ यो पुस्ताले ।

जलवायु परिवर्तनको विश्वव्यापी चुनौती माझ सन् १९९७–२०१२ को बिचमा जन्मिएको पुस्ता न्याय र जवाफदेहिताको माग गर्ने शक्तिशाली आवाजको रूपमा उदाएको छ। ‘सेभ निजगढ’, ‘खनिज इन्धन हटाऊ’, ‘अक्सिजन मेरो जन्मसिद्ध अधिकार’ नेपालमा जेन–जीले नेतृत्व लिएका प्रतिनिधि आन्दोलन हुन्।

जलवायु संकट र ‘जेन–जी’को प्रतिक्रिया
जलवायु परिवर्तनका प्रभाव देखिएभन्दा गहिरा छन् । प्राकृतिक विपत् हुँदै विस्तारित आर्थिक एवं सामाजिक असमानतालाई बढवा दिँदै यसले अस्तित्वकै खतरा उत्पन्न गरेको छ । भौगोलिक रूपमा विविधतापूर्ण, तर नाजुक पारिस्थितिकीय प्रणाली भएको नेपालजस्ता देशका लागि यी चुनौती विशेष रूपले गम्भीर छन् ।

जलवायु संकटको सन्निकटताका कारण जेन–जी पुस्ताको पर्यावरणीय चिन्ता (इको–एनजाइटी)मा वृद्धि भएको छ । असहायता, डर र भविष्यबारे चिन्ताको व्यापक भावना यो पुस्तामा बढेको छ । १६ देखि २५ वर्ष उमेरका १० हजार व्यक्तिमा गरिएको एउटा विश्वव्यापी सर्वेक्षणमा उनीहरूमध्ये ५९ प्रतिशत जलवायु परिवर्तनबारे गहिरो चिन्तामा रहेको उल्लेख छ । यसैगरी, ४५ प्रतिशतले आफ्नो दैनिक जीवनमा प्रत्यक्ष असर पारेको महसुस गरेका छन् । यस आवेगले जेन–जी पुस्तालाई जलवायु न्याय सम्बन्धमा अघिल्लो पुस्ताभन्दा प्रभावकारी ढंगले काम गर्न उत्प्रेरित गरेको छ । जेन–जी अघिल्ला पुस्ताभन्दा स्वाभाविक रूपमा समानुभूतिशील छ । यही समानुभूतिले हामीमा जलवायु संकटको मुद्दालाई गम्भीरतापूर्वक लिँदै सामूहिक कार्य र प्रणालीगत परिवर्तनप्रतिको प्रतिबद्धतालाई बलियो बनाएको छ । भविष्यको चिन्ता र समानुभूतिकै कारण विश्वव्यापी रूपमा सडकदेखि सदनसम्म जेन–जीले जलवायु न्यायका लागि आह्वान गर्दै आएको छ।

जेन–जीले नेतृत्व गरेको विश्वव्यापी अभियान ‘वल्र्ड युथ फर क्लाइमेट जस्टिस’ले हालै अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)मा जलवायु परिवर्तनको मुद्दा लगेको थियो । अघिल्ला पुस्ताले वातावरणीय समस्यालाई उजागर गर्दै चेतना फैलाउन भूमिका निर्वाह ग¥यो । त्यसैको जगमा जेन–जीले जलवायु अभियानलाई नयाँ उचाइमा पु¥याएको छ । उनीहरूले शैक्षिक क्षेत्र र करिअरका मार्गमा जलवायु समस्याको आपसी सम्बन्धलाई पहिचान गर्दै आफ्नो ज्ञानलाई प्रणालीगत परिवर्तनका लागि शक्तिशाली उपकरणको रूपमा प्रयोग गरिरहेका छन् ।

जलवायु न्यायलाई सामाजिक न्यायसँग जोड्ने पुस्ता
जलवायु आन्दोलनमा जेन–जीको परिभाषित योगदानमध्ये एक हो– ‘अन्तर–सम्बन्धतामा जोड’ । जलवायु परिवर्तनले आदिवासी, जनजाति, सीमान्तकृत समुदाय विशेषगरी महिला, अश्वेत र कम आय भएका जनसंख्यालाई असमानुपातिक रूपमा असर गर्छ भन्ने बुझाइलाई यो पुस्ताले वकालत गरिरहेको छ । पर्यावरणीय न्यायलाई सामाजिक न्यायबाट अलग गर्न सकिँदैन । जलवायु परिवर्तनसँग सम्बन्धित समाधानहरू समावेशी, समतामूलक हुनुपर्छ । जेन–जी पुस्ताले नेपालमा नेतृत्व लिएको आन्दोलन ‘सेभ निजगढ, खनिज इन्धन हटाऊ, अक्सिजन मेरो जन्मसिद्ध अधिकार’ आदि अभियान यसै सिद्धान्तमा आधारित छन् । असमानतालाई सम्बोधन नगर्ने जलवायु न्यायको अभियान व्यर्थ हुनेमा यो पुस्ताले जोड दिँदै आएको छ ।

संक्रमणकालीन उपभोक्तावादमा जेन–जी
‘जेन–जी’को प्रभाव केवल सक्रियतामा मात्रै सीमित छैन । यो पुस्ता आफ्नो खरिद शक्तिबाट बजार र उद्योगलाई नयाँ रूप दिने काममा पनि अग्रसर छ । डेलोइट ग्लोबल २०२१ मिलेनियल र जेन–जी सर्वेक्षणअनुसार जेन–जी का ६० प्रतिशत उपभोक्ता दिगो ब्रान्डका उत्पादनलाई बढी मूल्य तिर्न तयार छन् । वातावरणीय रूपमा उत्तरदायी कम्पनीलाई बढ्ता रुचाउने जेन–जीको खरिद निर्णयमा दिगोपनले महत्वपूर्ण भूमिका खेल्छ । उनीहरूको यो अभिरुचिले व्यवसायहरूलाई आफ्ना गतिविधिलाई इको–फ्रेन्डली बनाउन र आपूर्ति शृंखलालाई नयाँ तरिकाले परिकल्पना गर्न दबाब दिएको छ ।

हरित उपभोक्तावादको उत्थान र जीवाश्म इन्धनविरोधी अभियानको विकासबाट जेन–जीले प्रणालीगत समस्यालाई चुनौती दिन आफ्नो किनमेल शक्ति र सक्रियता दुवै प्रयोग गरेको देखिन्छ । जेन–जीका क्रियाकलापले अर्थतन्त्र र भावी ऊर्जा नैतिकता र दिगोपनमा आधारित हुने उच्च सम्भावनाको संकेत दिएको छ । ‘स्टप द मनी पाइपलाइन’, ‘जिरो आवर’, ‘पल्युटर्स आउट’जस्ता अन्तर्राष्ट्रिय अभियान र नेपालमा दिगो विकास, पावरसिफ्ट नेपाल, एनवाइसिए र हरिन नेपालजस्ता संगठनले जेन–जी पुस्तालाई खनिज इन्धन विस्थापन र न्यायमा आधारित स्वच्छ ऊर्जा उत्पादनको वकालततर्फ अग्रसर गराउँदै यस्ता अभियानको नेतृत्वका लागि प्रेरणा र पृष्ठपोषण दिँदै आएका छन् ।

जेन–जीको वातावरणीय सचेतनाले उद्योगहरूलाई परिवर्तन गरिरहेको भए पनि, पुँजीवादी बजारले यो प्रवृत्तिलाई कुशलतापूर्वक आफ्नो फाइदाका लागि प्रयोग गरेको छ । चलाख बजारले हरितधोखा (ग्रिन वासिङ)को रणनीति अपनाउँदै उद्देश्यअनुरूपको परिवर्तन नगरी ढोङ गरिरहेको छ । यसैकारण जेन–जीमा सामाजिक सञ्जाल र ‘फास्ट फेसन’ले प्रेरित उपभोक्तावादी संस्कृतिको विरोधाभास पैदा गरेको छ । दिगोपनको वकालत गर्ने यो पुस्ताका धेरै व्यक्ति नजानिँदो ढंगले उपभोक्तावादको सिकार हुन पुग्छन् । यो दोहोरोपनले जेन–जीको चुनौतीलाई उजागर गर्छ ।

जलवायु आन्दोलनमा अग्रणी डिजिटल पुस्ता
जेन–जीलाई ‘डिजिटल नेटिभ’को रूपमा परिभाषित गरिन्छ । उनीहरूले आफ्नो आवाजलाई विश्वव्यापी बनाउन सामाजिक सञ्जालको भरपूर प्रयोग गरिरहेका छन् । ग्रेटा थनवर्गको ‘फ्राइडे फर फ्युचर’ एउटा विद्यालयबाट सुरु भएर डिजिटल कनेक्टिभिटीको शक्तिमार्फत २१औँ शताब्दीकै प्रभावशाली अन्तर्राष्ट्रिय जलवायु आन्दोलनमा परिणत हुन पुग्यो । यो जेन–जीको एउटा शक्तिशाली दृष्टान्त हो ।

अनलाइन प्लाटफर्महरूले जेन–जीलाई जलवायु न्यायको नेतृत्व निर्माणको अवसर प्रदान गरेको छ । यसैको माध्यमबाट परम्परागत चिन्तन र प्रवृत्तिलाई उछिनेर लाखौँलाख मानिससँग प्रत्यक्ष पहुँच पु¥याएकोे छ । अर्कोतर्फ, जेन–जीलाई चुनौती पनि थपिएको छ । डिजिटलमा नै रमाउने, सामाजिक यथार्थको सघन ज्ञान नहुने, जलवायुको प्रभावबाट बच्ने परम्परागत पुर्खौली ज्ञान लिने इच्छाशक्ति र फुर्सदको अभाव, विशिष्ट ढंगले पाठ्यक्रममा जलवायु परिवर्तनको विषय नआउनु, सामाजिक सञ्जालको भरपर्दो र विश्वसनीयतामा कमी र अघिल्लो पुस्ताले समस्या सिर्जना गरिदिने, तर नेतृत्व नछोड्ने प्रवृत्तिजस्ता चुनौती छन् । जेन–जी पुस्ताले विरासतमा संकटग्रस्त पृथ्वी पाएको छ । यो ‘गर या मर’को अवस्था हो । यो ग्रह बस्नलायक नहुने हो भने हाम्रो कुनै भविष्य बाँकी रहँदैन । तसर्थ जेन–जीको नेतृत्व आवश्यकता मात्र होइन, दिगो र समतामूलक भोलिको कुञ्जी पनि हो । संकट समाधानको जिम्मेवारी यो पुस्ताको काँधमा छ ।

हाम्रो पुस्ताले साक्षात्कार गरिरहेको जलवायु संकट समाधानका लागि नीतिहरू निर्माण गर्न हामीलाई नेतृत्वदायी पदहरूमा समावेश गर्नु आवश्यक छ । संवैधानिक पद्धतिअनुसार नेतृत्व गर्न जेन–जी पुस्ताले पाउनुपर्छ । हालसम्म यो पुस्तालाई जलवायु विषयलाई वातावरण्ीय मुद्दाको रूपमा सिकाउँदै आइएको थियो । अब यो जेन–जी पुस्ता र आउने पुस्ताको अस्तित्वको सवाल हो । अस्तित्वसँग गाँसिएका सवालहरू जहिले पनि राजनीतिक सवाल हुन्छन् । भविष्य जेन–जी पुस्ता हो भने पृथ्वीलाई बस्न योग्य बनाउने, यसको भोग गर्ने र सलामत अवस्थामा अर्को पुस्तालाई बुझाउने दायित्व र अधिकार पनि जेन–जी पुस्ताकै हो । यसर्थ, राजनीतिमा जेन–जी पुस्ताको प्रत्यक्ष नेतृत्वलाई ढिलाइ किमार्थ उचित हुँदैन । 

(जेन–जी पुस्ताकी पाण्डे जलवायु न्याय र वातावरणको क्षेत्रमा कार्यरत युवाहरूको संस्था हरिन नेपालकी अध्यक्ष हुन्)

सम्पादकको रोजाइ

सुझावित समाचार