जेन–जी सामर्थ्य

जेन–जी साध्यभन्दा पनि साधनका रूपमा उपयोग भइरहेको छ

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

सन् १९९७–२०१२ बिचमा जन्मिएकाहरू, जसलाई ‘जेन–जी’ पुस्ता भनिएको छ, अहिलेको समयमा ३० वर्षभन्दा कम उमेरमा छन् । यो युवा अवस्था आफैँमा सिर्जनशील, उमंगशील, संवेदनशील र विद्रोही हुन्छ । यो समूहको सामाजिक, राजनीतिक र आर्थिक सामर्थ्यलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । आजसम्म पनि उनीहरूको सामर्थ्य तुलनात्मक रूपमा कम देखिन्छ । जेन–जी पुस्तालाई सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा साध्यभन्दा पनि साधनका रूपमा उपयोग गरिएको छ । तर, उनीहरूले समाज, राजनीति र अर्थतन्त्रमा ठुलो प्रभाव पार्न सक्छन् । 

आर्थिक सामर्थ्य 
आर्थिक सामर्थ्यको कुरा गर्दा, परम्परागत रूपमा यो पुस्तासँग आफ्नै सम्पत्ति हुँदैन, बुवा–आमाको सम्पत्तिमा निर्भर हुन्छन् । तर, पछिल्लो समय आर्थिक रूपमा पनि यो पुस्ता सबल हुँदै गएको देखिन्छ । खासगरी सूचना प्रविधिको प्रयोगबाट व्यवसायमा प्रवेश गर्ने नीतिगत तथा पुँजीगत अवरोध कम भएको क्षेत्रमा उनीहरू उद्यमशील बन्न थालेका छन् । स्टार्टअप बिजनेस गरेर त्यसलाई उद्योगको रूपमा विकास गर्न सक्ने भएका छन् । डुइङ बिजनेस सजिलो भएको देशमा यस्तो झन् सम्भव भइरहेको छ ।

खासगरी विकसित देशमा आफ्नै सम्पत्तिले अर्बपति हुने युवाहरूको संख्या बढेको छ । अहिले सूचना प्रविधिबाट युवापुस्ताको सामथ्र्य बढेको छ । नेपालमा पनि ३० वर्ष नपुग्दै लाखौँ कमाउनेहरू देखिन थालेका छन् ।

परम्परागत रूपमा जेन–जी पुस्ताले धेरै कमाउने भनेको खेलकुद र मनोरञ्जनका क्षेत्रमा हो । यो पुस्ताका युवा खेलकुद र मनोरञ्जनका क्षेत्रमा कम उमेरमै सफलतामा पुगेका प्रशस्त उदाहरण छन् । मनोरञ्जन क्षेत्रले त युवाहरू नै खोज्छ । त्यसैले पनि यो क्षेत्रमा युवापुस्ताले इतिहासदेखि नै सामथ्र्य कायम गर्न सकेको छ । त्यसबाहेकका क्षेत्रमा जेन–जी पुस्ताले सामथ्र्य कायम गर्न सकेका छैनन् । उदाहरणका लागि इन्जिनियरिङ, बिजनेस, प्राध्यापनलगायतमा त सिकाइ गर्नुपर्छ, त्यसमा समय लाग्छ । ३० वर्षभन्दा कम उमेरमै यस्ता थुप्रै क्षेत्रमा सामर्थ्य कायम गर्न चुनौती थियो, चुनौती छ । अपवादमा मात्रै यस्ता क्षेत्रमा जेन–जीले सामथ्र्य कायम गर्न सकेको छ ।

सामाजिक–राजनीतिक सामर्थ्य
सामाजिक र राजनीतिक सामथ्र्यलाई सँगै राखेर हेर्नुपर्छ । संस्थाहरूको विकास गरेर त्यसको माध्यमबाट जनतामा पहुँच बनाउनुपर्ने भएकाले नेपालमा मात्रै नभई विश्वमै युवाहरूलाई राजनीतिक नेतृत्वमा पुग्न गाह्रो हुने र समय लाग्ने गरेको छ । सूचना प्रविधिको विकासले अहिले भने कुनै संस्था (संगठन)को आवश्यकता नभई सीधै मतदाताहरूमा पुग्ने स्थिति बन्न थालेको छ । अहिले आफूलाई भन्न मन लागेका कुराहरू भिडियोमा कैद गरी इन्टरनेटको माध्यमबाट मतदातामा पु¥याउन सकिन्छ । पहिला संगठन अपरिहार्य थियो । मतदाताहरूमा पुग्न संगठन चाहिन्थ्यो । संगठन बनाउन नै मान्छेलाई जुग लाग्ने गथ्र्यो । त्यसले बलियो राजनीतिक शक्ति पनि दिन्थ्यो ।

इन्टरनेट युगले युवालाई राजनीति गर्न सजिलो बनाइदियो, तर यही सुविधाका कारण युवापुस्ताले चुनाव जित्छ भन्ने ग्यारेन्टी भने छैन । बुढाहरूले जितेको उदाहरण पनि छन् । अहिले पनि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प ७८ वर्षको उमेरमा विजयी भए । मतदाताहरूले अनुभव पनि भिडियोबाट सुन्ने हो । आजको परिस्थितिमा तुलनात्मक रूपमा सजिलोसँग राजनीतिक शक्ति प्राप्त गर्न सकिन्छ । तर, ‘बेरिअर टु इन्ट्री’ कम भएकाले त्यो शक्ति सजिलै जान पनि सक्छ ।

जेन–जीलाई सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा साध्यभन्दा पनि साधनका रूपमा उपयोग गरिएको छ। तर, उनीहरूले समाज, राजनीति र अर्थतन्त्रमा ठुलो प्रभाव पार्न सक्छन्।

युवाले इन्टरनेटको सुविधा छ भनेर मात्रै हुँदैन, उनीहरूमा परिपक्वता र सम्हाल्न सक्ने क्षमता पनि चाहिन्छ । ‘बेरिअर टु इन्ट्री’ कम भएपछि प्रतिस्पर्धा अझ बढी हुने भयो । कुनै व्यक्तिले भिडियोमा कराएर भोट पाउँछ भने, त्योभन्दा धेरै कराएर अर्काे व्यक्तिले पनि भोट प्राप्त गर्न सक्छ । यस्तो अवस्थामा सजिलै प्राप्त गरेको राजनीतिक शक्ति सजिलै जान पनि सक्छ ।

पहिला मतदातालाई इमोसनमा ल्याउने मुद्दा धर्म, सिद्धान्त, राजनीतिक प्रणाली, व्यवस्थालगायत थिए । अवस्था र व्यवस्था परिवर्तनका लागि अपिल गरेर मतदातालाई रिझाइन्थ्यो । तर, व्यवस्था परिवर्तनको मुद्दा सधैँ आउँदैन, त्यो एक जुगमा एकपटक आउने हो । इरानमा सन् १९७९ मा इस्लाम धर्ममा आधारित शासन चलाउने भनेर क्रान्ति भयो । तर, त्यो क्रान्ति भइसकेपछि अर्काे क्रान्ति हुन त समय लाग्छ । फेरि अर्काे विकल्प के त ?

नेपालमा ०४६ सालमा पञ्चायत ढालेर बहुदल ल्याउँछु भनेको हो । त्यसपछि ०६२÷६३ मा आन्दोलन भयो, त्यसले गणतन्त्र ल्यायो । अब त्यसको अर्काे विकल्प के त ? त्यही क्रान्ति दोहो¥याई–तेहे¥याई गर्न त मिल्दैन । अहिले पञ्चायत ल्याउँछु भनेर त मान्छे इमोसनमा आउलान् र ?

सूचना प्रविधि, युवा र राजनीति
अहिले इन्टरनेट राजनीतिक सामथ्र्य प्राप्तिका लागि एउटा महत्वपूर्ण प्लाटफर्म बनेको छ । तर, प्लाटफर्म मात्रै पर्याप्त हुँदैन, त्यसको सही उपयोग पनि हुनुपर्छ । ‘द क्रिम अलवेज राइज टु दि टप’ भनिन्छ । अर्थात् यदि वास्तवमै सामथ्र्य छ भने मात्रै त्यो प्लाटफर्म उसले प्रयोग गर्न सक्छ ।

नेपालमा अहिले इन्टरनेटले व्यापकता पायो । तर, योभन्दा धेरै वर्षअघि नै अमेरिकालगायतका विकसित देशमा इन्टरनेटको विकास भइसकेको थियो । तर, त्यहाँ पनि युवापुस्ताले राजनीतिक सामथ्र्य स्थापित गर्न सकेन । सूचना प्रविधिको व्यापक विकास र प्रयोग भइरहेको चीन र भारतमा पनि युवाहरू नेतृत्वमा आउन सकेका छैनन् । लामो समयदेखि चीनमा सी जिनपिङ र भारतमा नरेन्द्र मोदीले सत्ता चलाइरहेका छन् । धेरै देशमा युवापुस्ताले इन्टरनेटबाट रातारात राजनीतिक मुद्दाहरू स्थापित गर्न सकेका छैनन् । कतिपय देशमा अपवादमा युवापुस्ता आएका हुन सक्छन् । राजनीति गर्न माध्यमभन्दा पनि मुख्यत सिद्धान्त चाहिन्छ । नेतृत्व लिन्छु भनेर हिँडेको युवा आफैँ स्पष्ट हुनुपर्छ । बुढाहरूलाई धपाउनुपर्छ भन्ने मुद्दा उठाएर भिड जम्मा गर्न त सकिन्छ । तर, बहुमतको रूपमा दिगो राजनीतिक सामथ्र्य बनाउन सिद्धान्त नै चाहिन्छ, परिपक्वता नै चाहिन्छ ।

नेपालमा पनि केही व्यक्ति (जो जेन–जी भने होइनन्)ले बुढाहरू हटाउनुप¥यो, बुढाहरूले काम गरेनन् भनेर मुद्दा उठाए । त्यसले केही मान्छेलाई तान्यो, केही मान्छेलाई तानेन । नेपालको हकमा युवा आउनुपर्छ भन्ने युवाहरू आफैँ बुढो हुन लागेसके । उनीहरूले नै अवसर पाउन सकेका छैनन् ।

जेन–जीले राजनीतिक सामर्थ्य प्राप्त गर्न राजनीतिक मुद्दालाई पाको रूपमा बुझ्न सक्नुपर्छ । नेपालमा यति धेरै समुदाय छन्, भूगोलअनुसार भाषिक, सांस्कृतिक विविधता छ । राजनीतिक सामथ्र्य हासिल गर्न सबै समुदायलाई बुझ्न र बुझाउन सक्ने क्षमता राख्नुपर्छ । नेपालमा जुन समस्या छन्, त्यसलाई चिर्न सबैले बुझ्ने गरी ठोस सन्देश दिन सक्नुपर्छ । यस्ता विषयका लागि राजनीतिक ज्ञान, परिपक्वता र संघर्षले पनि महत्व राख्छ । नेपालको हकमा जेन–जी पुस्तालाई आर्थिक सामथ्र्य बनाउन जति सजिलो छ, राजनीतिक तथा सामाजिक सामथ्र्य बनाउन त्यति सजिलो देखिँदैन । सूचना प्रविधिले सहजता मात्रै प्रदान गर्ने हो, राजनीतिक सामथ्र्य प्रदान गर्दिहाल्ने होइन । राजनीतिका लागि उमेरभन्दा पनि मुद्दा र सिद्धान्त नै महत्वपूर्ण हुन्छ ।

जेन–जीबाट कस्तो लाभ ?
अहिले जेन–जी अर्थात् युवापुस्ताबाट लाभ लिन सकिएको छ कि छैन भन्ने प्रश्न पनि छ । यसलाई विभिन्न दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । अहिले विश्वमै मानिसको आयु बढ्दै गएको छ । ‘रिटायरमेन्ट एज’ त्यही रूपमा बढेन भने त बुढाहरूले यिनीहरूबाट लाभ लिइरहेकै मान्नुप¥यो । तर, अहिले विश्वव्यापी रूपमा जन्मदर कम हुँदै गएको छ । मान्छे बुढो हुँदै जाने, तर युवाहरूको संख्या कम हुँदै जाने समस्या आइरहेको छ । यसो हुँदा जेन–जी पुस्ताबाट लाभ कम भएको पनि देखिन सक्छ । पछिल्लो समय ‘सिक्सटी इज न्यु फोर्टी’ पनि भन्ने गरिएको छ । त्यो भनेको मान्छेको काम गर्ने उमेर ६० वर्षभन्दा पनि माथि जाँदै छ । यसैगरी क्यान्सरको औषधि बन्यो भने मानिसको आयु थप बढ्नेछ । क्यान्सर, मधुमेह र हृदयाघातका कारण धेरै मान्छे मर्छन् भन्ने छ । त्यसमा क्यान्सरको औषधि बन्यो भने मृत्युदर घट्छ । मान्छेको आयु बढ्दै जान्छ । त्यो अवस्थामा बुढाहरूको संख्या झन् बढ्ने र युवाको संख्या भने कम हुने भयो । अनि युवाको भूमिका पनि स्वतः कम हुन जान्छ । यदि, रिटायरमेन्ट एज बढाइयो र मृत्युदर पनि घट्यो भने आर्थिक, सामाजिक र राजनीतिक रूपमा पनि बुढाहरूकै सामथ्र्य बढी हुने देखिन्छ ।

अहिले नेपाल र विश्वको तुलना गर्दा ३० भन्दा कम उमेरका उद्यमीहरू बढेका होलान् । तर, उदाहरणीय रूपमा नेपालमा ‘पोस्टरब्वाई’ नै देखिएका छैनन् । नेपालमा अझै पनि परम्परागत अर्थतन्त्र छ । सडकहरू राम्रोसँग बनेका छैनन् । बजारीकरण छैन । उद्यम–व्यवसायमा थुप्रै अवरोध छन् । त्यसले गर्दा ह्वात्तै पैसा कमाउन सक्ने अवस्था छैन । अहिले पनि नेपालमा पैसा कमाउने स्रोत भनेको परम्परागत कामहरू नै हुन् । अर्थात्, आयात– व्यापार गर्ने, केही उत्पादनमा पनि लागेका छन् । औद्योगिक व्यावसायिक पनि बढेका छैनन् । ६० को दशकयता केही नयाँ व्यावसायिक घराना आएका छन् । त्यसका उदाहरण भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ, आइएमई समूहका चन्द्र ढकाललगायत छन । तर, उनीहरूले पनि केही परिष्कृतबाहेक परम्परागत व्यापार–व्यवसाय नै गरेका छन् । फाइदा त्यसमै देखिएको भएर पनि होला । आविष्कार नै गरेर पैसा कमाउने व्यक्ति तथा घराना आएका छैनन् । नगन्य रूपमा आविष्कारका कामहरू भएका हुन सक्छन्, तर देखिनेगरी भएका छैनन् ।

विश्वमा आइटीमार्फत धेरै आविष्कारका काम भएका छन् । त्यसबाटै विश्वमा नयाँ पुस्ता धनी भएको छ । तर, आइटीमा हाम्रो क्षमता विकास भएको छैन । नेपालमा आइटीलाई राम्रोसँग ‘एडप्टसमेत गरिएको छैन । क्रिएटिभ फोर्स अझै पुगेको छैन । अहिले नेपालमा विदेशका विभिन्न वेबसाइटहरू पपुलर छन् । सामाजिक सञ्जालहरू पनि विदेशकै पपुलर छन् । आफँैले बनाएको वेबसाइट आन्तरिक रूपमा पपुलर भइसकेको देखिन्न ।

नेपालको पुस्ताले के सोच्छन् भन्ने पनि उत्तिकै महत्वपूर्ण छ । अहिले धेरै युवा विदेशप्रति नै आकर्षित देखिन्छन् । उनीहरूले अस्ट्रेलिया, अमेरिकाजस्ता मुलुकमा असीमित अवसर देखेका छन् । काठमाडौं, पोखरा, चितवनलगायतका विकसित क्षेत्रका युवाहरूमा विदेशप्रति झन् आकर्षण छ । मुलुकभित्र व्यवसाय गरेर वर्षको एक–दुई करोड कमाउन सकिन्छ भन्ने विश्वास कसैलाई छैन । त्यो विश्वास राखेर काम गर्ने एकदमै कम छन् । नेपालीमा जागिरे मानसिकता भएर पनि यस्तो समस्या देखिन्छ ।

अहिले विदेशमा नेपालीलाई धेरै अवसर खुलेको पनि छ । पहिला नेपालीलाई विदेशमा ज्यामी काम मात्रै दिइन्थ्यो । सेना र कुल्ली भएर पनि जानुपर्ने अवस्था थियो । तर, अहिले अध्ययन र राम्रो अवसरका लागि पनि विदेशमा जान्छन् । यसरी पनि विदेशतर्फ आकर्षण बढेको छ । नेपालमै बस्नेको आर्थिक पृष्ठभूमि कमजोर हुने स्थिति पनि बन्यो । नेपालमा नै कुनै आविष्कार गर्ने, ठुला–ठुला व्यवसाय गर्ने भन्ने युवाहरू एकदमै कम छन् । उल्टै विदेश जान नपाएकोमा थुप्रै युवामा आक्रोश छ, मनमा कुण्ठा र असन्तुष्टि छ । त्यसको पछाडि धेरै कारण छन् । यसलाई सिर्जनात्मक रूपमा सम्बोधन गर्न आवश्यक छ । यसले एउटा यस्तो दुष्चक्र सिर्जना गरिरहेको छ र अवस्था यस्तै रहे अबको सय वर्षमा पनि नेपालमा यथेष्ट अवसरहरू सिर्जना गर्न गाह्रो भइरहनेछ ।

युवाहरूको राजनीतिक दृष्टिकोण
यहाँ अवसरको कमी भइरहेको छ । त्यसले युवाहरूलाई आक्रोशित बनाइरहेको छ । यहाँ अवसर छैन, त्यसैले उनीहरू विदेश जान खुसी हुन्छन् । केहीअघि विदेश जान नपाएका कारण आन्दोलन हुँदा मान्छे नै मरे । भिसा पाउँदा मान्छेहरू खुसी देखिन्छन् । एयरपोर्टमा एक–दुईजना रोएको देखिन्छन्, त्यो क्षण केही दुःख लाग्ला, नरमाइलो होला, तर सारमा उनीहरू खुसी हुँदै विदेश गएका छन् । मान्छेका नोस्टाल्जिया हुन्छन् । नोस्टाल्जिया भएर कविता लेखिएला, गीत लेखिएला । म आफैँ पनि अमेरिका जाँदा आमाको हातको खाना सम्झिएर नरमाइलो लाग्थ्यो, तर म दुःखी थिइनँ । तपाईं–हामी गाउँबाट काठमाडौं आउँदा दुःखी भयौँ र ? भएनौँ नि । किनकि त्यो जीवनको नयाँ च्याप्टर हो । गाउँमा बस्नेलाई साथीभाइ नगइदिए हुन्थ्यो भन्ने अलिअलि त लाग्ला, तर संसारभर नै मान्छेको मुभमेन्ट त भइनै रहन्छ नि । जापानीहरू अमेरिका जान्छन्, भारतीयहरू पनि गइरहेका छन् । अवसरको खोजीमा गाउँबाट सहर–बजार पस्नु, एउटा देशबाट अर्को देशमा जानु स्वाभाविक हो । युवाहरूमा एकपटक विदेश जाऊँ, पढौँ, काम गरौँ भन्ने छ । फर्कन्छु भनेर जाने कम होलान्, सधैँका लागि जान्छु भनेर जाने पनि छैनन् । साथीभाइ गए, हामी पनि जाऔँ भन्ने सोच पनि देखिन्छ ।

विदेश जाने चलन नयाँ होइन, नेपालमा मात्रै पनि थिएन÷छैन । पाँच सय वर्षअघि पोर्चुगल, बेलायत, फ्रान्सबाट भारतमा आएर विभिन्न राज्यका सेनामा काम गर्दा रहेछन् । सन् १७९५ तिर नै मराठा र हैदराबादको युद्धमा दुवै पार्टीको सेनामा फ्रेन्चहरू थिए । ब्रिटिसले लिनुअघि, पोर्चुगलका धेरै मानिस भारतका विभिन्न दरबारमा काम गर्थे । पञ्जाबमा विदेशीको रेजिमेन्ट थियो । जसरी हाम्रा नेपाली अहिले विदेशी सेनामा काम गर्न जान्छन्, त्यसरी नै उनीहरू सेनाका रूपमा काम गर्न आएका थिए ।

अवसर सिर्जना गर्न हामी वर्षौँदेखि असमर्थ भइरहेका छौँ । जाने मान्छे त जान्छन्, कतारकै मान्छे पनि लन्डन जान्छन्, मुख्य कुरा हामीले कति आकर्षण गर्न सक्छौँ भन्ने हो । यदि विदेशीलाई पनि यहाँ आकर्षित गर्न सकेको भए पनि धेरै चिन्ता हुँदैनथ्यो होला । हाम्रा पनि फर्किएका छैनन्, विदेशी पनि आएका छैनन्, समस्या यो हो । अवसर सिर्जना ग¥यौँ भने जानेलाई पनि फर्किने विकल्प हुन्थ्यो र कम असन्तुष्ट हुन्थे ।

नेपाल र विश्वको तुलना गर्दा ३० भन्दा कम उमेरका उद्यमीहरू बढेका होलान्। तर, उदाहरणीय रूपमा नेपालमा ‘पोस्टरब्वाई’ नै देखिएका छैनन्। नेपालमा अझै पनि परम्परागत अर्थतन्त्र छ।

यो पुस्ताप्रति समाज र राजनीतिको दृष्टिकोण
राजनीतिक दलहरूले सधैँ यो पुस्तालाई तान्न खोज्छन् । जुलुसमा हिँडिदिए हुन्थ्यो, सभा–सम्मेलनमा आइदिए हुन्थ्यो भन्ने नेता र दलको चाहना सधैँ हुन्छ । आफ्ना पछाडि बुढाबुढी, बच्चाबच्ची जोकोही हिँडिदिए हुन्थ्यो भन्ने लाग्छ सबैलाई । मुख्य कुरा अवसर सिर्जना गर्न सकेका छैनन्, जुन समस्या अहिलेको नभई सयौँ वर्षदेखिकै हो ।

हामीले अवसर सिर्जना गरेको ०४६ पछिको सुधारका वेला मात्रै हो । अहिले सबैभन्दा धेरै जागिर दिने क्षेत्र बैंक तथा वित्तीय संस्था, एयरलाइन्स, मिडिया, जलविद्युत्, स्वास्थ्य र शिक्षामै हो । यो सबै खुलेको पनि ०४८ सालवरिपरि नै हो । आर्थिक सुधार गर्न निजी क्षेत्रलाई खुला गरिएपछि अवसर सिर्जना भयो । त्यसैवेलाबाट पासपोर्ट पनि खुला गरिएको हो । अहिले पनि नयाँ–नयाँ अवसर खोल्ने हो भने केही मान्छेलाई यहीँ राख्न सकिन्छ । उदाहरणका लागि बैंकमा जागिर भएका धेरै मान्छे यहीँ बसेका छन् ।

राजनीतिक वृत्तमा यो विषयमा छलफल भइरहेकै छ । चासो र चिन्ता पनि प्रकट भएको देखिन्छ । तर, समस्या कहाँ आइरहेको छ भने हामी खुला हुनुपर्नेमा अझ संकुचित भइरहेका छौँ । बजारलाई खुला गर्नुपर्नेमा हामी अझ बन्द गर्नेतिर गइरहेका छौँ । पहिलाजस्तो बैंक खोल्न पाइँदैन, इन्स्योरेन्स खोल्न सकिँदैन । बिचमा घरजग्गाकै कित्ताकाट पनि बन्द गरियो, जलविद्युत्को पिपिए बन्द गरियो, प्रमोटर सेयर बिक्री गर्न नदिने व्यवस्था गरियो । हुँदाहुँदा जलविद्युत्को सेयर पनि बिक्री गर्न नदिने भन्ने कुराहरू आइरहेका छन् । मान्छेलाई यो पनि गर्न पाउँदैनस् त्यो पनि गर्न पाउँदैनस् भनेर छेकेर राखेका छौँ । यस्तो अवस्थामा कसले लगानी गर्छ ? अनि कसरी रोजगारी र अवसर सिर्जना हुन्छ ? अनि किन कोही नेपाल बस्छ ? राजनीतिक दलमा जे कुराको पनि नियन्त्रण गर्नुपर्छ भन्ने मात्रै सोच बढेको देखिन्छ । कोही एउटाले बदमासी ग¥यो भने क्षेत्र नै बन्द गर्ने प्रवृत्ति देखिन्छ, जुन गलत हो । यसो गर्नाले रोजगारी कम सिर्जना हुन्छ र युवा झन् बहिष्करणमा पर्छ ।

जेन–जीका असन्तुष्टि
अवसर नपाएकै कारण युवामा असन्तुष्टि देखिन्छ । अवसर नहुनुका कारण छन् । लामो समयदेखि यहाँ सामन्ती सत्ता चलिरहेको थियो । विगतमा केही मान्छेको हातमा सम्पत्ति थियो । केही मान्छेसँग मात्रै आयात–निर्यातको लाइसेन्स थियो । केही मान्छेलाई मात्रै पढ्न दिइएको थियो । यसैकारणले अवसर सिर्जना हुन सकेन । १–२ प्रतिशतले मात्रै पढ्न पाउने प्रणालीमा कसरी आविष्कारक जन्मन्थ्यो ? सयमा ९९ जनाले त आविष्कारक बन्न प्रयास गर्ने अवसर नै पाएनन् । महिलालाई पढ्न दिइएन, विभिन्न जातलाई पढ्न दिइएन, मधेशीलाई विभेद गरियो, सडक थिएन, बजारहरू जोडिएका थिएनन्, वीरगन्जबाट पाल्पा जानभन्दा भारतका विभन्न सहरमा जान सजिलो थियो । पहाड–तराई इन्टिग्रेट हुन सकेन, जसका कारण बजार भएन, उद्यमी हुने, पैसा कमाउने अवसर कम हुन पुग्यो । जति वैज्ञानिक भए पनि, आविष्कार गरे पनि बजार सानु भयो भने कसरी कमाइ हुन्छ ?

हामीलाई यस्ता ऐतिहासिक विरासतले अवसर सिर्जना गर्नबाट लामो समयदेखि रोकिरहेको थियो । अहिले सडक पूर्वाधार राम्रो बन्दै गएको छ, शिक्षामा पहुँच बढ्दै गएको छ । समाजलाई अझ समान बनाउँदै लग्यौँ भने यसमा परिवर्तन आउँछ । नत्र त अवसरको खोजीमा नेपालीहरू विदेश गइरहन्छन् । सयौँ वर्षदेखि नेपाली भागिरहेकै छन्, नत्र बर्मामा त्यत्रा लाखौँ नेपाली कहाँबाट पुगे ? 

जेन–जीमा असमानता 
हाम्रो देशको सबभन्दा डरलाग्दोचाहिँ असमानता हो । विदेश नै जाने कुरा पनि तपाईंको पृष्ठभूमि कस्तो छ भन्नेले निर्धारण गर्छ । तपाईंको धरातल के छ भन्नेले तपाईं विदेश जाने कि नजाने र जाने भए कुन देश जाने भन्ने तय गर्छ । यसले असमानता झन्झन् बढाउँदै लगेको छ । यो विषयले पनि मान्छेलाई आक्रोशित बनाइरहेको छ । म जन्मेको ठाउँ, म हुर्केको ठाउँले मेरो भविष्य यतिसम्म निर्धारण ग¥यो भन्ने परिरहेको छ । हाम्रो देशमा धेरै समुदाय छन्, कर्णाली, मधेश र सुदूरपश्चिमा धेरै गरिबी छ । विभिन्न समुदायहरू गरिबीमा छन् । यहाँ आफ्नो मिहिनेतले भन्दा पनि पृष्ठभूमिको आधारले सम्पत्ति थुपारेकाहरू धेरै छन् । यस्तो असमानताले मान्छेलाई प्राकृतिक रूपमै विद्रोही बनाउँछ, राजनीतिक विचारमा पनि असर पार्छ । जुन प्रणालीले मान्छेलाई कुनामा पु¥याएको हुन्छ त्यसप्रति उनीहरू विद्रोही हुन्छन्, सिर्जनाभन्दा पनि प्रणाली भत्काउनेतर्फ लाग्छन् । एकपटक ७५ जिल्लामा ७४ जना सिडिओचाहिँ पहाडे भए, मधेशी एकजना मात्रै भयो भन्ने आवाज उठ्यो । यस्तो आवाज उठ्नु स्वाभाविक थियो, किनकि त्यो सत्य थियो, त्यो सत्यमा विमति जनाउनुपर्ने कारण पनि थिएन । शासन गरिरहेको चेहेरामा नागरिकले आफ्नो प्रतिबिम्ब देखेनन् भने उनीहरू विश्वस्त हुन सक्दैनन् । आर्थिक, सामाजिक र राजनीतिक अधिकार छैन भने मुलुकप्रति मायाँ पनि हुँदैन । मिलेर बस्ने चाहना पनि हुँदैन । आफूभित्र रहेको सुषुप्त विद्रोही भावनालाई चाहिँ चर्को राजनीतिक भाषामार्फत अभिव्यक्त गर्न सक्छन् ।

जेन–जी पुस्ता अपवादबाहेक नेतृत्वमा पुग्न नसक्ला, तर उनीहरूलाई सजिलै भावनात्मक रूपले म्यानुपुलेट गर्न सकिन्छ । यस मानेमा यो पुस्ता साध्यभन्दा बढी साधनजस्तो देखिन्छ, उपयोग पनि यसरी नै भइरहेको छ ।

(अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्)

See More On

सुझावित समाचार