उद्यममा उदीयमान पुस्ता

नयाँ पुस्ताको उपस्थिति र सहभागिता देशको अर्थतन्त्रमा नयाँ युगको सुरुवात

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

नवीन सोच, प्रविधिमा निपुणता र साहसिक रणनीतिको बलमा उदीयमान पुस्ता परम्परागत व्यावसायिक अभ्यासको विरासतसहित नयाँ सम्भावना सिर्जना गर्न उन्मुख छ । नयाँ पुस्ताका उद्यमीहरू उद्यम/व्यापार क्षेत्रमा आफ्नो नेतृत्व लिन र प्रभावशाली छाप छाड्न सफल हुँदै छन् । नयाँ पुस्ताको सहभागिता र कार्यक्षमता नेपालको अर्थतन्त्रमा नयाँ युग सुरुवातको जनाउ पनि हो ।

स्टार्टअपदेखि ई–कमर्स, अटोदेखि हरित ऊर्जा, हाइड्रोदेखि होटेल हुँदै सामाजिक उद्यमहरूसम्ममा नयाँ पुस्ताले नेतृत्व सम्हालेको छ । उनीहरूले देशको आर्थिक वृद्धिमा योगदान त गरेकै छन्, सामाजिक परिवर्तनको बाटो पनि विस्तार गरेका छन् । बजारमा उनीहरूको सफलताले व्यवसायको नयाँ मान्यता र प्रभाव सुदृढ बनाउँदै लगेको छ । उद्यममा उदीयमान पुस्ता ‘केही गर्न उमेरको लक्ष्मणरेखा हुँदैन’ भन्नेका लागि पक्कै पनि आशाका प्रतीक हुन् ।

माइक्रोसफ्टका पिता बिल गेट्स भन्छन्, ‘नयाँ सोच र प्रविधिमा आधारित उद्यमशीलताबाट विश्वमा परिवर्तन ल्याउन सक्ने ल्याकत ती युवाहरूले राख्छन् जो ३० वर्षभन्दा कम उमेरका छन् ।’ चिनियाँ धनाढ्य ज्याकमा बिल गेट्सलाई समर्थन गर्दै भन्छन्, ‘नयाँ बिजनेस आइडिया, जोखिम मोल्न सक्ने क्षमता र भविष्यलाई सही आकार दिनका लागि ३० वर्षभन्दा कम उमेर सबैभन्दा उपयुक्त हो ।’

संयोग र प्रयोग दुवै हुन सक्छ–नेपालको व्यापारिक घराना लक्ष्मी समूह, चौधरी ग्रुप, वैद्यज् अर्गनाइजेसन्स, मुरारका परिवार, आइएमई गु्रप, अंशुभरा ग्रुपलगायत व्यावसायिक घरानाहरूमा ३० मुनिका युवा उद्यमी विभिन्न क्षेत्रको नेतृत्व सम्हाल्दै छन् । यसमा कतै नाति÷पनाति पुस्ता छन् त कतै छोरा पुस्ता । उनीहरू जेन–जी अर्थात् डिजिटल पुस्ता हुन् । जो इन्टरनेट, स्मार्टफोन र डिजिटल प्रविधिको वातावरणमा हुर्किएको छ । विश्वले मारिरहेको छलाङ पनि आफ्नै आँखाले देखेको छ । र, आफ्नो जीवनमा लागू गर्न प्रयास गरेको छ ।

व्यावसायिक घरानाको जेन–जीले विद्यार्थीकालमै संसार चहारिसकेको हुन्छ । स्कुलदेखि कलेजसम्मको पढाइ स्वदेश÷विदेशका उत्कृष्ट शिक्षालयमा गर्न पाएका छन् । उनीहरूको नेटवर्किङ विश्वभर फैलिएको हुन्छ । यो पुस्ता रमाइलो पनि गर्छ र सफलताको सिँढी चढ्न संघर्षमा पनि रमाउँछ । क्लब पनि धाउँछ, हाइकिङ र ट्रेकिङ पनि जान्छ । देश–विदेश घुम्छ । समग्रमा पुरानो पुस्ताभन्दा बिल्कुल फरक सोचसहित जेन–जी काम गर्दै छ ।

विश्वभरि नै ३० वर्षभन्दा कमलाई ‘पोटेन्सियल उमेर’ मानिन्छ। कोही व्यक्ति सफल ‘बिजनेस म्यान’ बन्दै छ भने उसले ३० वर्षको उमेरसम्म केही गरिसकेको हुन्छ। विश्वका धेरै धनाढ्यले ३० वर्षभन्दा कम उमेरमै बिजनेस सुरु गरेको इतिहास छ।

पोखरामा मिठाई भण्डारबाट व्यावसायिक यात्रा थालेको लक्ष्मी समूह अहिले देशकै प्रतिष्ठित व्यावसायिक घराना बनेको छ । पाँच दशकअघि दाजुभाइ बुद्धिबहादुर र गणेशबहादुर श्रेष्ठले मिठाई उत्पादन गरेर सुरु भएको व्यवसाय कन्फेक्सनरी, डेरी, अटोमोबाइल, इलेक्ट्रोनिक्स, स्टिल उद्योग हुँदै हुन्डाई गाडीको एसेम्बल प्लान्टसम्म फैलिएको छ । व्यवसाय विस्तारमा तुफानी गति कायमै छ ।

मिठाई उत्पादनदेखि गाडी उत्पादनसम्म दुई पुस्ताको अथक मिहिनेत छ । लक्ष्मी समूहको विस्तारित साम्राज्य सम्हाल्न नाति पुस्ता हाजिर भएको छ । अञ्जन श्रेष्ठका छोराहरू ३० वर्षमुनिका अनुभव र अनुकुल श्रेष्ठ हजुरबुवा, बुवा र काकाहरूसँग काँधमा काँध मिलाएर व्यवसाय फैलाउन तल्लीन देखिन्छन् । उनीहरूको लगनशीलता र तल्लीनता लक्ष्मी समूहको व्यावसायिक यात्रा नयाँ उचाइमा पु¥याउन नाति पुस्ता तयार छ भन्ने सन्देश पनि हो ।

अस्ट्रेलियाबाट मेकानिकल इन्जिनियर पढेर फर्किएका अनुभवले स्टिल उद्योग हेर्छन् । अस्ट्रेलियाबाटै अर्थशास्त्र र मार्केटिङमा ग्य्राजुयट अनुकुल होम अप्लायन्स डिभिजन हेर्छन् । उनी नेपालमा एआई अध्ययन गरिरहेका छन् । अनुभव व्यवसायमा पूर्णकालीन जोडिएको सात वर्ष र अनुकुल पाँच वर्षजति भयो । दुवै भाइ बिहान साढे ९ बजेसम्म अफिस पुगिसक्छन् । दिनभरि कर्मचारी सँगसँगै काममा खटिन्छन् । छोराहरूको व्यवसायप्रतिको लगाव र सक्रियता देखेर बुवा अञ्जन पनि सन्तुष्ट छन् । भन्छन्, ‘बिजनेसका कतिपय नयाँ ट्रेन्डहरू उनीहरूबाट पनि सिकिरहेको छु ।’

स्वदेश फर्किने उद्देश्य राखेर अस्ट्रेलिया पढ्न गएका दाजुभाइले अस्ट्रेलियामा केही समय काम गरे । जहाँ कर्पोरेट कल्चर र वर्किङ कल्चर सिके । कर्मचारी र बोसबिचको सम्बन्ध, स्मार्ट अफिस, स्मार्ट टिम सबै आइडिया बुझे । टिमवर्कमा काम गर्न सिके । अनुभव र अनुकुल भन्छन्, ‘हामी लक्ष्मी ग्रुपमा त्यही कल्चर भित्र्याउन प्रयासरत छौँ ।’

अनुभव हाइब्रिड कर्पोरेट कल्चर (परम्परागत पारिवारिक र आधुनिक कल्चरको फ्युजन) विकास गर्न चाहेको सुनाउँछन् । अनुकुल एआईमा पनि अवसर खोजिरहेका छन् । ‘आइटी सेवामा अनलिमिटेड अवसर छ, विश्वभर फैलिन कुनै अड्चन छैन, अरू प्रडक्टभन्दा आइटी सेवा विश्वभर फैलाउन पनि सहज छ, मास मार्केट रिच गर्न सकिन्छ,’ उनी सुनाउँछन्, ‘आइटीमा अवसर हेरिरहेको छु, भोलिका दिनमा गर्ने पनि हो, आइटीको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजार पोटेन्सियल देख्छु ।’

दाजुभाइ नै नेपाल योङ इन्टरप्रेनर्स फोरम (एनवाइइएफ)मा आबद्ध छन् । अनुभव काठमाडौं च्याप्टर र अनुकुल ललितपुर च्याप्टरको द्वितीय उपाध्यक्ष हुन् । उनीहरू एनवाइइएफ आबद्ध भएको आफ्नो नेटवर्क विस्तार र देशभर युवा उद्यमशीलता विकास गर्न हो । एनवाइइएफका १४ च्याप्टरमा देशभर हजारभन्दा बढी युवा उद्यमी आबद्ध छन् । फुर्सदमा परिवार र साथीभाइसँग जमघट गर्छन्, आइडिया सेयर गर्छन् ।

‘बाहिर पढेर फर्किँदा व्यावसायिक सर्कलका धेरै साथी थिएनन्, एनवाइइएफमा आबद्ध भएपछि नेटवर्क बढेको छ, आइडिया सेयरिङ गर्ने प्लाटफर्म पनि बनेको छ, धेरै युवाका कुराहरू थाहा हुन्छ,’ अनुकुल भन्छन्, ‘सामाजिक र व्यावसायिक नेटवर्क त बढेकै छ, व्यक्तिगत ग्रोथमा पनि सघाउ पुगेको छ, युथलाई रि–प्रिजेन्ट गर्ने यो सबैभन्दा उपयुक्त थलो हो ।’

लक्ष्मी समूहमा जस्तै सिजी होल्डिङ्समा पनि नयाँ पुस्ताले कैयौँ कामको नेतृत्व सम्हालेको छ । सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीका कान्छा छोरा सूर्यांशको उमेर ३० वर्षभन्दा कम छ । सिजी होल्डिङ्सको इतिहासमा ‘माइलस्टोन’ साबित हुने सम्भावना रहेका प्रोजेक्टमा यी उदीयमान युवाको सोच र सीप प्रतिबिम्बित छ ।

सिजी होल्डिङ्सले पुल्चोकमा देशकै ठुलो र आलिसान मल्टिफङ्सनल इभेन्ट भेन्यु ‘द प्लाजा’ सञ्चालनमा ल्याएको छ । द प्लाजामा फिनिसिङको काम जारी छ । छेवैमा पाँचतारे क्राउन प्लाजा बनिरहेको छ । द प्लाजा र होटेल निर्माणमा चौधरी घरानाको जेन–जीले लिड गर्दै छ । सूर्यांशले दिनरात नभनी खटिएर प्रिमियम मल्टिफङ्सनल इभेन्ट भेन्यु तयार गरेका हुन् । भन्छन्, ‘द प्लाजामा धेरैले काम गर्नुहुन्छ र म पनि उहाँहरू सँगसँगै काम गर्छु । आफू नखटिई आफूले सोचेको भेन्यु तयार नहुन पनि सक्थ्यो ।’ पुल्चोकमा पाँचतारे, त्रिपुरेश्वरमा बिजनेस होटेल, नगरकोटमा भँगेरी दरबार रिसोर्ट निर्माणमा पनि उनी खटिएका छन् ।

सूर्यांशले एजुकेसन र हस्पिटालिटी भर्टिकल हेर्छन् । उनको व्यावसायिक करिअर कोभिडताका काठमाडौं वल्र्ड स्कुलबाट सुरु भयो । सिजी होल्डिङ्सको भक्तपुरमा काठमाडौं वल्र्ड स्कुल (केडब्लुएस) छ, जहाँ अरू साझेदारहरु पनि छन् । स्वदेशमै विश्वस्तरको शिक्षा दिने भनेर केडब्लुएस खोलिएको हो । तैपनि विद्यार्थीको रोजाइ विदेशतिरै देखिन्छ, त्यो किन भइरहेको छ ? सायद, विदेशीले ह्यान्डल गरेका स्कुल/कलेजमै राम्रो पढाइ हुन्छ भन्ने होला । उसो भए केडब्लुएसमै विदेशका अब्बल स्कुल/कलेज हाँकेका एक्स्पर्ट किन नल्याउने ? सूर्यांश भन्छन्, ‘हामीले इन्डिया, कतार, साउदीलगायत देशमा विश्वस्तरका स्कुल ह्यान्डल गरिसकेका विदेशी विज्ञलाई नै हेड अफ इन्स्टिट्युसन बनाएर ल्याएका छौँ ।’

सूर्यांश दुबईको अमेरिकन युनिभर्सिटी अफ दुबईमा पढेको अनुभव र ग्लोबल एक्सपोजर नेपालमा अप्लाई गर्न खोज्दै छन् । दुबई पढ्दा अन्तर्राष्ट्रिय नेटवर्क बन्यो । हार्वर्ड बिजनेस स्कुल, एलएसई, अक्सफोर्डजस्ता प्रसिद्ध विश्वविद्यालय पुगेर सिक्ने मौका पाए । स्विसबाट हस्पिटालिटी म्यानेजमेन्ट पढेका छन् । उनले भने, ‘मैले दुबई र संसार चहार्दा जुन एक्सपोजर पाएँ, जे कुरा देखेँ र सिकेँ, त्यो यहाँ अप्लाई गर्ने कोसिसमा छु ।’ स्वदेशमै उत्कृष्ट स्कुल चलाउनु सरकार, विद्यार्थी र देशकै लागि पनि गर्वको कुरा हुनुपर्ने उनको भनाइ छ ।

अफिसमा कर्मचारी र उनले लगाउने ड्रेस एउटै हुन्छ । काममा पनि कर्मचारीसँगै खटिन्छन् । उनी भन्छन्, ‘मैले फिल्डमा खटिएर काम गर्दा मेरो इज्जत खस्किने होइन, बरु आफूले गरेको कामले राम्रो नतिजा दिन्छ ।’

सूर्यांश आफ्नै सोचमा काम गर्न खोज्छन् । उनलाई चित्तमा लागेको काम भयो भने त्यो काममा लाग्यालाग्यै गर्छन् । नत्र कसैले भनेको मान्नेवाला छैनन् । तर, उनमा ओभर थिंकिङ गर्ने स्वभाव भएकाले पछि सोचविचार गरेर कोर्स करेक्सन पनि गर्छन् । सूर्यांश साथीभाइ भेट्ने, रमाइलो गर्ने र कहिलेकाहीँ क्लब पनि जान्छन् । यसले सामाजिक र व्यावसायिक सम्बन्ध विस्तार त हुन्छ नै, स्ट्रेस बस्ट गर्न पनि मद्दत पुग्छ । उनी भन्छन्, ‘म हस्पिटालिटी बिजनेसमा छु, कहीँ कतै नयाँ होटेल वा बेंक्वेट खुले हेर्न गइहाल्छु, अरूको देखेँ भने त बल्ल सुधार गर्न सकिन्छ ।’

६ दशक पुरानो वैद्यज् अर्गनाइजेसन्सलाई डाइभर्सिफिकेसन र न्यु बिजनेस आइडियामा अगाडि बढाउन नाति पुस्ताका सूर्यांश वैद्य सक्रिय छन् । ३० वर्षभन्दा कम उमेरका उनी गजानन्द वैद्यका नाति, सुरज वैद्यका छोरा हुन् । वैद्यज् अर्गनाइजेसन गाडी, चिया, कृषि, शिक्षा, चियालगायत व्यवसायमा संलग्न छ । चिनियाँ साझेदारीमा धादिङमा ह्वासिन सिमेन्ट पनि सञ्चालनमा छ ।

तर, अमेरिकाबाट अध्ययन सकेर फर्किएका सूर्यांश विद्युतीय मोबिलिटी प्रवद्र्धनमा कस्सिएका छन् । भारतीय दुईपांग्रे ब्रान्ड ‘एथर’लाई भित्र्याउनेदेखि देशभर सो–रुम विस्तार र चार्जिङ स्टेसन विस्तारमा आफैँ खटिन्छन् । उनले स्मार्ट टिम बनाएका छन्, टिमवर्कमै काम गर्छन् । भन्छन्, ‘विद्युतीय दुईपांग्रे परिवारको नयाँ भेन्चर हो, अहिले धेरै समय यसैमा बित्छ, परिवारले स्थापित गरेकोभन्दा केही नयाँ व्यवसाय आफैँ स्थापित गरौँ भन्ने पनि हो ।’

बुवा सुरज र आमा ऋतु पनि छोराको लगाव देखेर मख्ख छन् । उनी परिवारको व्यवसाय र अनुभव शिरोधार्य गरी थप उचाइ पछ्याउँदै छन् । युवामाझ एथरलाई लोकप्रिय बनाइसके । आठ सय स्कुटर बिक्री गरिसके । देशभर २२ चार्जिङ स्टेसन पु¥याइसके । उनी एथरलाई पनि टोयोटाजत्तिकै चर्चित ब्रान्ड बनाउन चाहन्छन् । उनलाई टोयोटाको सेवा अझै बेस्टभन्दा बेस्ट कसरी बनाउने भन्ने छ । यो सबै टिमवर्कमा सम्भव हुने उनको ठम्याइ छ ।

सूर्यांशकी दिदी सभाना बुवाको हस्पिटालिटी ड्रिम्स साकार पार्न कस्सिएकी छिन् । उनको अगुवाइमा चितवनमा लक्जरी रिसोर्ट निर्माण भइरहेको छ, जुन वैशाखसम्म सञ्चालनमा ल्याउने तयारी छ ।

पशुपति मुरारकाका छोरा अनन्त दुई वर्षदेखि टु ह्विलर सेग–वे हेर्छन् । नेपाली उपभोक्तालाई इभीमा आकर्षित गर्नु उनको दैनिकी बनेको छ । उनको अनुभव छ, ‘योङ जेनेरेसन इभीमा आकर्षित छ, तर पाको जेनेरेसनलाई बुझाउन अलि मिहिनेत गर्नुपर्ने रहेछ ।’ टु ह्विलर वातावरणमैत्री, बजेट फ्रेन्ड्ली, सञ्चालन खर्च पनि कम छ । उनी बेलायत र भारतमा म्यानेजमेन्ट पढेर फर्किएका हुन् । इन्डिया पढ्दा टेक कम्पनीमा पार्टटाइम जब पनि गरेका थिए, त्यो अनुभवका लागि थियो । जसले उनलाई वर्किङ कल्चर पनि सिकाएको ठान्छन् उनी । उनी टिमवर्कमा विश्वास गर्छन् । स्मार्ट टिम हुनुपर्छ, अफिसमा काम गर्ने वातावरण हुनुपर्छ । आफूभन्दा अनुभवी कर्मचारीसँग आइडिया लिन्छन् । कर्मचारी र बोसबिचको ग्याप नहोस् भन्ने चाहन्छन् ।

हजुरबुवा, बुवा र छोरा पुस्तामा काम गर्ने शैली फेरिँदै छ । बदलिँदो वर्किङ कल्चर एडप्ट गर्दै जानुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘अफिसमा वर्किङ स्टायल परिवर्तन गर्दै छु, अटोमोबाइल क्षेत्रमा काम गर्ने धेरै नयाँ पुस्ताकै हुनुहुन्छ, उहाँहरू आफैँ बुझ्ने हुनुहुन्छ, उहाँहरूले पनि देश–विदेश देख्नुभएको छ, उहाँहरूको कुरा पनि सुन्छु, मनन गर्छु ।’ उनको बुझाइमा हजुरबुवा, बुवा हुँदै जेन–जीसम्म आइपुग्दा काम गर्ने शैली पनि परिवर्तन हुँदै छ । त्यसो त सिंगो विश्व नै छिटोछिटो परिवर्तन भइरहेको छ । उनी भन्छन्, ‘म स्टाफ र बोसबिच ग्याप हुनुहुँदैन भन्छु, त्यसले अफिसमा काम गर्ने माहोल झन् राम्रो हुन्छ, हामीले सिकेर आएको पनि त्यही हो ।’

अनन्तको टेक इन्डस्ट्रीमा काम गर्ने सोच छ । तर, अझै इन्डियाको टेक उद्योग र नेपालको टेक उद्योगमा धेरै फरक देखेका छन् । ‘उता धेरै विकास भइसकेको छ, हाम्रोमा भर्खर बामे सर्दै छ,’ उनी भन्छन्, ‘टेक उद्योगमा ब्यारियररहित अनलिमिटेड अवसर भएकाले भविष्यमा टेकमा पनि जोडिने सोच छ ।’ उनकी दिदी बेदिकाको आफ्नै स्टार्टअप छ । अर्की दिदी श्रुति लन्डनबाट ग्राफिक डिजाइनमा मास्टर्स गरेर फर्किएपछि आर्टमै करिअर बनाइरहेकी छिन् । उनको आफ्नै डिजाइनिङ स्टुडियो छ । मुरारका परिवारको सिमेन्ट, पेन्ट्स, स्टिल, टायल, जलविद्युत्, बैंक, बिमालगायतमा लगानी छ ।

आइएमई ग्रुप देशकै उदीयमान बिजनेस घराना हो, जसले उद्यम–व्यवसायमा छलाङ मार्दै आइरहेको छ । यो ग्रुपको बैंक तथा वित्तीय संस्था, होटेल, केबलकार, ट्राभल, अटो, हाइड्रो, शिक्षालगायतमा लगानी छ । चन्द्र ढकालको नेतृत्वमा रहेको यो ग्रुपमा काँधमा काँध मिलाउन आइपुगेका छन्, उनका ३० वर्षमुनिका दुई छोराहरू– निशान र सचिन । दुवै भाइले विदेशमा अन्टरप्रेनरसिप अध्ययन गरेका हुन् । उनीहरूले ग्रुपको विस्तारमा दिलोज्यान दिन सुरु गरिसके । बेलायत र भारतबाट म्यानेजमेन्ट पढेर फर्किएका निशान चार वर्षदेखि अटोमोबाइल हेर्छन् । यस्तै, अमेरिकाबाट फर्किएका सचिन आइएमई ग्रुपको हस्पिटालिटी बिजनेस हेर्छन् ।

विश्वमा आइटीमार्फत धमाका मच्चाउने अधिकांशको उमेर ३० वर्षभन्दा कम छ। नेपालको व्यावसायिक घरानाको जेन–जी पनि यतैतर्फ उन्मुख छ। मात्र उनीहरूले खोजिरहेका छन्– सहज र लगानीमैत्री वातावरण।

निशानको नेतृत्वमा आइएमई समूह इभी कमर्सियल गाडीमा प्रवेश गर्दै छ । निशान भन्छन्, ‘कर्सियल इभीका लागि दिगोसँग सम्झौता भइसकेको छ, हामी कमर्सियल गाडीमै फोकस हुने हो ।’ उनी नाडा अटोमोबाइल एसोसिएसन र एनवाइइएफ ललितपुर च्याप्टरको कार्यकारिणी सदस्य पनि हुन् । उनले अटोमोबाइल व्यवसायलाई थप उचाई दिने अठोट सहित काम गरिरहेका छन् ।

निशान कस्टुमर सेन्ट्रिक भएर काम गरिरहेको बताउँछन् । ‘हाम्रो समूह नै कस्टुमर सेन्ट्रिक काम गरिरहेको छ, त्यसलाई फ्लो गरिरहेको छु,’ उनी सुनाउँछन्, ‘विदेशमा पढेको र सिकेको कुरा फ्लो गर्दै छु, वर्किङ कल्चर र कर्पोरेट कल्चर विकासमा फोकस हुँदै छु ।’

करिब तीन वर्षअघि व्यवसायमा जोडिएका सचिनको उद्देश्य हस्पिटालिटी बिजनेसलाई थप उचाइ दिलाउनु हो । आइएमई ग्रुप देशैभर ‘हिल टुरिजम’ विकास गर्ने अभियानमा जुटेको छ । चन्द्रागिरि, मौलाकालिका र बुटवलमा केबलकार सञ्चालनमा आइसके । १४ पुसमा कैलालीको चिसापानीमा पाँच अर्ब लगानीको नयाँ केबलकार परियोजना निर्माण सुरु भएको छ । ग्रुपकै लगानीमा ताप्लेजुङको पाथीभरा र कास्कीको सिकलेसमा पनि केबलकार निर्माण हुँदै छन् । यस्तै, काठमाडौं, पोखरा र बागलुङमा होटेल सञ्चालनमा छन् । देशभर ‘हिल टुरिजम’को विकास गरेर नयाँ–नयाँ पर्यटकीय गन्तव्य थप्दै जाने बुवाको सपनालाई सार्थक तुल्याउन तल्लीन छन् उनी ।

यतिवेला ‘द मल्ल होटेल’को रूप मात्र फेरिएको छैन, अप्रेसन कमान्डमा पनि हेरफेर भएको छ । पाँच दशकअघि हजुरआमा रमाकुमारीले स्थापना गरेको होटेललाई तेस्रो पुस्ताका नातिनी आयशा र अनुष्का मल्लको नेतृत्वमा स्वरूप परिवर्तन भएको छ । इन्टेरियर मोडर्न थिममा उतारिएको छ, कोठा अपग्रेड भएका छन् । कफी सप, रेस्टुरेन्ट, आउटडोर बार र बेंक्वेट हललगायत थपिए ।

इन्डियामा हाइस्कुल र स्विट्जरल्यान्डमा उच्च शिक्षा अध्ययन गरेर फर्किएका आयशा र अनुष्का मल्ल होटेललाई देशकै उत्कृष्ट पाँचतारे बनाउन कस्सिका छन् । होटेलका डाइरेक्ट रहेका दिदीबहिनीको योजनामा पुरानो मल्ल होटेल ‘योङ’ बनेको छ, जसमा हजुरआमा र बुवा–आमाको पनि मार्गदर्शन छ ।

होटेलको स्वरूप परिवर्तनमा इन्टेरियरमा सोख दिदी आयशा स्तरोन्नतिको काममा खटिइन्, बहिनी अनुष्का मार्केटिङ र ब्रान्डिङमा जुटिन् । आफूहरू कोभिड महामारी फैलिइरहेका वेला होटेलमा जोडिएको अनुष्का सुनाउँछिन् । कोभिडमा होटेल बन्द गर्नुप¥यो । उनीहरूले कोभिडकाललाई अवसरको रूपमा लिए । र, बुवा सञ्जयसँगै होटेल मर्मतसम्भार र क्षमता विस्तारमा जुटे । ‘होटेलको क्षमता विस्तारमा दुई वर्ष लाग्यो, कोठा पनि अपग्रेड गरेर डिजिटल  र अत्याधुनिक बनाएका छौँ,’ उनी भन्छिन्, ‘पुरानो भइसकेको इन्टेरियर परिवर्तन भएको छ, कफी सप, रेस्टुरेन्ट, आउटडोर बार, वेंक्वेट हललगायत थपिएका छन् ।’ होटेलपरिसरमै कम्प्लेक्स बनाइएको छ, जुन भाडामा दिएको उनको भनाइ छ ।

दिदीबहिनीले पढाइकै क्रममा विदेशका ठुला होटेलमा इन्टर्न गर्न भ्याए । त्यो सिकाइका लागि थियो । ‘मैले इन्डिया र पोर्चुगलको होटेलमा काम गरेँ, दिदीले इन्डिया र बैंककको होटेलमा काम गर्नुभयो,’ अनुष्का भन्छिन्, ‘त्यहाँ सिकेको सीप, आइडिया र अनुभव मल्ल होटेलमा लगाइरहेका छौँ ।’ विदेशमा तारे होटेलमा इन्टर्न गर्दा होटेल सञ्चालनको आइडिया भयो । उनी भन्छिन्, ‘हामी मल्ल होटेललाई देशकै टप पाँचतारे बनाउन चाहन्छौँ ।’

पोखरेली व्यवसायी विन्दुकुमार थापा यतिवेला गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री छन् । बुवा राजनीतिमा सक्रिय बनेपछि व्यावसायिक विरासत सम्हाल्ने जिम्मेवारी २६ वर्षीय छोरा सौगातको काँधमा आइपुगेको छ । परिवारको अंशुभरा ग्रुपमार्फत रियल इस्टेट, अटो, ट्रेड मल र होटेलमा लगानी फैलिएको छ । सौगातले बुवालाई व्यवसायमा सघाउन थालेको १६ वर्षकै उमेरदेखि हो । उनी उमेरले सानै भए पनि अनुभवले पाको भइसकेका छन्, पोखरा उद्योग वाणिज्य संघका कार्यकारी सदस्य पनि हुन् । उनको पर्यटनमा लगाव छ । यसैले हस्पिटालिटीमै नयाँपन खोज्दै छन् ।

उनकै अगुवाइमा लेकसाइडमा रहेको बगँैचा रिसोर्ट धमाधम स्तरोन्नति हुँदै छ । बाराही चोकमा ‘३१ एभेन्यु’ बन्दै छ । ‘पहिला होटेल थियो, अब मिक्स युज्ड बिल्डिङ बनाउँदै छु, जुन होटेल (२० कोठा), रिटेल पसल, रेस्टुरेन्ट र बारसहितको हुनेछ,’ उनी भन्छन्, ‘यो विदेशमा पहिल्यै चलेको थियो, हामी पोखरामा गर्दै छौँ ।’ कास्कीकै ढिकुरपोखरीमा ३३० रोपनी क्षेत्रफलमा अंशुभरा एग्रोफार्म छ, जहाँ कृषि र पर्यटनलाई मिक्स गरेर फार्म हाउस चलाउने उनको सपना छ ।

विश्वभरि नै ३० वर्षभन्दा कम उमेरलाई ‘पोटेन्सियल उमेर’ मानिन्छ । कोही व्यक्ति सफल बिजनेस म्यान बन्दै छ भने उसले ३० वर्षको उमेरसम्म केही गरिसकेको हुन्छ । विश्वका धेरै धनाढ्यले ३० वर्षभन्दा कम उमेरमै बिजनेस सुरु गरेको इतिहास छ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग, स्न्याप च्याटका को–फाउन्डर इभान स्पिगेल, बिल गेट्स, एलन मस्क, गुगलका को–फाउन्डर ल्यारी पेज, विश्वप्रख्यात कस्मेटिक फेसन व्यवसायी काइली जेनरलगायतले ३० वर्षभन्दा कम उमेरमा व्यवसाय सुरु गरेर आ–आफ्नो क्षेत्रका अब्बल व्यक्ति बनेका हुन् । विश्वमा आइटीमार्फत धमाका मच्चाउने अधिकांशको उमेर ३० वर्षभन्दा कम छ । नेपालको व्यावसायिक घरानाको जेन–जी पनि यतैतर्फ उन्मुख छ । मात्र उनीहरूले खोजिरहेका छन्– सहज र लगानीमैत्री वातावरण ।

सुझावित समाचार