नेपाल बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन यही पुस ९ र १२ गते भक्तपुर, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको भवनमा साथ सम्पन्न भएको छ ।

सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौँ, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौँ भन्ने मूल नाराको साथ स्थापना भएको संगठनको चौथाे महाधिवेशनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कर्मचारी फ्रयाक्सन इन्चार्ज हरिबोल गजुरेल, विशिष्ट अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठ, विशिष्ट अतिथि नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, विशिष्ट अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय महासचिव प्रेम खनाल, अतिथि नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकीलगायत बैंक व्यवस्थापन तथा विभिन्न संघसंस्थाहरूबाट आएका विभिन्न व्यक्तित्वहरूको दरिलो उपस्थिति रहेको थियो । साथै, कार्यक्रमको सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठनको निवर्तमान अध्यक्ष गोविन्दप्रसाद सुवेदीले गरेका थिए ।

चौथो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कर्मचारी फ्रयाक्सन इन्चार्ज हरिबोल गजुरेलले नेपालकै जेठो बैंक रहेको नेपाल बैंक लिमिटेडले आफ्नो शाख र गरिमालाई पुनर्जागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न अनुरोध गरे । शुभकामना मन्तव्यकै क्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको आन्दोलनलाई राजनीतिक पार्टीहरूले दबाउन खोजे त्यसको सशक्त प्रतिकार गरिने बताउँदै चौथो महाधिवेशनबाट चयन हुने केन्द्रीय समितिलाई कर्मचारी हकहितमा लाग्नको निम्ति शुभकामना व्यक्त गरे । यस्तै, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गर्दै यस अधिवेशनबाट सशक्त र जुझारू केन्द्रीय समिति चयन होस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रमको सभाध्यक्ष गरेका नेपाल राष्ट्रिय कर्मचारी संगठनको निवर्तमान अध्यक्ष गोविन्दप्रसाद सुवेदीले नेपाल बैंक लिमिटेडलाई २०५८ सालकै अवस्थामा पुर्याउन हालको बैंक व्यवस्थापन उद्यत् रहेको भन्दै संस्थागत सुशासन कायम गर्न तथा समग्र कर्मचारीको वृत्तिविकासका लागि जस्तोसुकै अन्दोलन गर्न पछि नपर्ने तथा यो चौथो अधिवेशनको भव्य र विशाल उपस्थितिले आफू तथा संगठनलाई बैंक तथा कर्मचारी हकहितका निम्ति लाग्न थप ऊर्जा प्रदान गरेको बताए ।

सुझावित समाचार