प्रमुख संस्थापकमध्ये एक भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई दक्षिण एसियाली विश्वविद्यालयले बेवास्ता गरेको छ
भारतका पूर्व–प्रधानमन्त्री मनमोहन सिंहको २६ डिसेम्बर २०२४ मा ९२ वर्षको उमेरमा निधन भएपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना पूर्ववर्तीप्रति अथाह प्रशंसा गरेका छन् । वैचारिक भिन्नताका बाबजुद मोदीको प्रशंसाले सिंहको स्थानीय एवं वैश्विक प्रतिष्ठालाई प्रतिबिम्बित गथ्र्यो । विश्वभरका नेताले सिंहलाई श्रद्धाञ्जली अर्पण गरेको तथ्यले राजनीति र जीवनमा उनले कमाएको गहिरो सम्मानलाई प्रस्ट पार्छ । तर, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्याप्त शोक र सम्मानबिच सार्कले संयुक्त रूपमा सञ्चालन गरिरहेको दक्षिण एसियाली विश्वविद्यालय (साउ) भने मनमोहन सिंहको निधनप्रति पूर्णतः मौन रह्यो । यो मौनता अनौठो र अनपेक्षित छ, किनभने सिंहको नेतृत्व र हस्तक्षेपविना विश्वविद्यालयको स्थापना दिल्ली वा अन्यत्र सम्भव थिएन । वास्तवमा यो विश्वविद्यालय आफ्नो अस्तित्वकै लागि पनि सिंहप्रति ऋणी छ ।
भारतको आर्थिक उदारीकरणका वास्तुकार भनेर चिनिने मनमोहन सिंहका नवउदारवादी सिद्धान्तप्रति सहमति होस् वा नहोस्, उनले आजको भारतीय अर्थतन्त्रको आधारशिला तयार गरेका थिए । उनको दृष्टिकोणले इतिहासमा स्मृतिको महत्वलाई उजागर गर्छ, अर्थात् स्मृतिले निर्णयलाई थप विचारशील एवं विवेकी बनाउँछ । तर, दक्षिण एसियाली विश्वविद्यालयले यो सत्यलाई बेवास्ता गरेको देखिन्छ । सिंहको महत्व अर्थतन्त्रसम्म मात्र सीमित छैन । सिंहले एक राष्ट्रवादी, क्षेत्रीयवादी र वैश्विकतावादीका रूपमा क्षेत्रीय एकताको पक्षमा वकालत गरेका थिए । तत्कालीन पाकिस्तानी विदेशमन्त्री खुर्सिद महमुद कसुरीका अनुसार सिंह अमृतसरमा नास्ता, लाहोरमा मध्याह्न भोजन र काबुलमा रातको खाना खाने दिनको कल्पना गर्थे । उनले वास्तवमा दक्षिण एसियाली क्षेत्रीय समन्वयको सपना देखेका थिए र यसले विश्वविद्यालय स्थापनाको उद्देश्यसँग मेल खान्छ । यी आदर्श कुनै वेला आंशिक रूपमा भए पनि पूरा भएका थिए, तर अहिले ती शून्यप्रायः छन् ।
मनमोहन सिंहले दक्षिण एसियाली विश्वविद्यालय, जसको अवधारणा लामो समयदेखि केवल चर्चामा मात्रै थियो, त्यसलाई वास्तविकतामा परिणत गर्न प्रमुख भूमिका खेलेका थिए । विश्वविद्यालयको वेबसाइटले संकोचसाथ भए पनि ‘साउ’ स्थापनाको विचार भारतीय प्रधानमन्त्रीले सन् २००५ को १३औँ सार्क शिखर सम्मेलनमा ढाकामा प्रस्तुत गरेका थिए’ भनेर उल्लेख गरेको छ । सम्झनुपर्ने तथ्य के हो भने सिंह भारतका १३औँ प्रधानमन्त्री थिए (सन् २००४–२०१४) र एक समयमा विश्वविद्यालयले उनलाई नामसहित मान्यता दिएको थियो । अहिले भने उनको योगदानलाई नामरहित र सामान्य सन्दर्भमा झारिएको छ । यसका साथै दक्षिण एसियाली विश्वविद्यालय सामाजिक सञ्जालमा पुरस्कार प्राप्ति वा विश्वविद्यालयमा योग केन्द्र उद्घाटनजस्ता नियमित घटनाक्रम र वर्तमान अध्यक्षका गतिविधिलाई प्रमुख समाचार बनाइन्छ, तर विश्वविद्यालयका प्रमुख संस्थापकमध्ये एक सिंहबारे विश्वविद्यालयको सामाजिक सञ्जालमा केही उल्लेख भएको देखिँदैन । त्यसैगरी विश्वविद्यालयको परिकल्पनामा महत्वपूर्ण योगदान पु¥याउने विचारकलाई संस्थागत स्मृतिबाट मेटाइएको छ ।
अहिले दूरबाट हेर्दा मलाई रोमानियाली–अमेरिकी लेखक एली विसेलको भनाइ याद आउँछ । उनले ‘स्मृतिविना, संस्कृति छैन । स्मृतिविना, सभ्यता, समाज र भविष्य केही पनि सम्भव हुँदैन’ भनेका थिए । यो भनाइ अहिले दक्षिण एसियाली विश्वविद्यालयका लागि सान्दर्भिक देखिन्छ । अहिले विश्वविद्यालयका अध्यक्षसहित वर्तमान नेतृत्वलाई इतिहास र स्मृतिको कुनै बोध छैन, जबकि यी कुरा सभ्यताको एक आधारभूत अंशका रूपमा अनिवार्य हुन् । विश्वविद्यालयलाई प्रेरणा र पहिचान दिने प्रतीकात्मक कार्यक्रम अर्थात् ‘कन्ट्रिब्युसन्स टु कन्टेम्पररी नलेज’ (समकालीन ज्ञानमा योगदान) जस्ता व्याख्यान शृंखला र अन्य थुप्रै कार्यक्रमलाई समाप्त गरिएको छ । यसले विश्वविद्यालयलाई औसत दर्जाको सामान्य संस्था बनाएको छ । र, इतिहास, स्मृति र परम्पराको यस्तै अभावका कारण नयाँ खुलेका निजी विश्वविद्यालय पनि जराविहीन बनेका छन् । आजका अधिकांश विश्वविद्यालय अब विचार र चिन्तनका केन्द्र नभई बजारका लागि श्रमिक उत्पादन गर्ने कारखाना बनिसकेका छन् ।
सिंहको विश्वविद्यालयको सार्वजनिक संस्थागत स्मृति र इतिहासबाट विशेष रूपमा मेटिनुका पछाडि औसत बौद्धिकता पनि एक कारण हो । विश्वविद्यालयका अध्यक्ष र उनका वरिपरिका व्यक्तिले यो नामेट पार्ने प्रक्रिया अहिलेको भारतीय सरकारबाट अपेक्षित छ भन्ने राम्रैसँग बुझेका छन् । यो वास्तवमा पूर्ण–अधीनस्थता र कृतघ्नताले निःसृत एक सामान्य मानसिकता मात्रै हो । तथापि, भारत सरकार मनमोहन सिंहका मामिलामा विस्मृतिमा छैन र यसलाई सिंहबारे आएका स्पष्ट सार्वजनिक भनाइले प्रमाणित गर्छ ।
मनमोहन सिंहको निधनमा देखिएको दक्षिण एसियाली विश्वविद्यालयको सार्वजनिक असंवेदनशीलता र ऐतिहासिक बेवास्ताको अक्षम्य प्रदर्शनले विश्वविद्यालयका कर्मचारी एवं संकाय जमैकाका अभियन्ता मार्कस गार्भेको भाषामा भन्ने हो भने ‘जराविहीन रुख’ हुन् जो ‘आफ्नो अतीतको इतिहास, उत्पत्ति र संस्कृतिबारे अनभिज्ञ’ छन् । बौद्धमार्गीका रूपमा म सिंहको परिवार र उनको स्मृति तथा इतिहासको मूल्य बुझेका सबै भारतीय नागरिकमाझ ‘अनिच्चा वात संखारा’ (सबै साकार वस्तु नाशवान छन्) भन्ने भावना व्यक्त गर्न चाहन्छु ।
(दक्षिण एसियाली विश्वविद्यालय पूर्वउपाध्यक्ष एवं समाजशास्त्रका पूर्वप्राध्यापक पेरेरा कोलोम्बो इन्स्टिच्युट अफ ह्युमन साइन्सेसका प्रमुख हुन्)
द वायरबाट