बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा पुनः उपेन्द्र पौडेल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न सिबिफिनको पाँचौँ वार्षिक साधारणसभाले नबिल बैंकका अध्यक्ष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
सिबिफिनको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ र सचिवमा साइन रेसुंगा विकास बैंकका थानेश्वर पौडेल निर्वाचित भएका छन् । कोषाध्यक्षमा एनआइसी एसिया बैंकका तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् ।
सदस्यहरूमा कुमारी बैंकका राजाराम खड्का, एभरेष्ट बैंकका डा. बालगोपाल वैद्य, प्रभु बैंकका लीलाप्रकाश सिटौला, एनएमबि बैंकका मनोजकुमार गोयल निर्वाचित भएका छन् । त्यस्तै, नेपाल बैंकका डा. चन्द्रबहादुर अधिकारी, ग्लोबल आइएमई बैंकका राधेश पन्त, लक्ष्मी सन्राइज बैंकका रमण नेपाल, कामना सेवा विकास बैंकका सुदीप आचार्य, लुम्बिनी विकास बैंकका चिन्तामणि भट्टराई र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लक्ष्मीप्रसाद महर्जन पनि सदस्यमा निर्वाचित भएका हुन् ।