मटिहानी नगरपालिका–४ र ९ का दलित समुदायका अति विपन्न १२३ परिवार र मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका ६५ जना साधुसन्तलाई नेपाली सेनाको जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित गोरखनाथ गणले कम्बल वितरण गरेको छ ।

मटिहानी नगरपालिकासँगको समन्वयमा गोरखनाथ गणले शीतलहरको जोखिमलाई मध्यनजर गर्दै दलित परिवार र साधुसन्तलाई कम्बल वितरण गरेको हो ।
केही दिनदेखि तराई मधेशमा शीतलहर बढेपछि विपत् व्यवस्थापन समितिको निर्णयअनुसार पूर्वतयारी अवस्थामा रहेको र आवश्यकताअनुसार केही थान कम्बल वितरण गरिएको गोरखनाथ गणका गणपति कर्णेल विनोदविकास पाठकले बताए ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नेपाली सेनालाई धन्यवाद ज्ञापन गर्दै गरिब तथा विपन्नहरूलाई शितलहरको जोखिमबाट बच्न कम्बल दिएर गुण लगाएको बताए । उनले नगरपालिकाबाट समेत नागरिकको जीउज्यानको सुरक्षा गर्न शितलहरमा दाउरा वितरण गर्ने तथा आवश्यकताअनुसार अन्य सामग्री प्रदान गर्ने योजना रहेको बताए । नगरपालिकाले पालिकाभित्रका विपन्नहरूलाई आवश्यक्ताअनुसार सहयोग गर्ने तयारी गरिरहेको बताए ।
श्रीराम मा.वि. मटिहानीमा आयोजित कार्यक्रममा सेनाले कम्बल बाँडेको हो । कम्बल वितरण कार्यक्रममा महोत्तरीका निमित प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरीका एसपी विनोद के.सी. राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उपअनुसन्धान अधिकृत एसपी सुदिप अधिकारीसहितको उपस्थिति थियो ।
