गत मंसिरमा पाँचौ फोर्टिन स्टारकप फुटबलको उपाधि जितेको जनसहयोग माविले अहिले प्रथम खुकुरी क्रिकेट कपको उपाधि पनि कब्जा गरेको छ। तम्घासको चिदीचौर खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रेसुंगा नगरपालिका–५ को जनसहयोग माध्यमिक विद्यालयले प्रथम खुकुरी क्रिकेट कपको उपाधि हात पारेको हो ।
जनसहयोगले सिद्धबाबा माध्यमिक विद्यालयमाथि चार विकेटको जित हात पारेको छ । सुरुमा व्याटिङ गरेको सिद्धबाबाले निर्धारित १६ ओभरमा नौ विकेट गुमाएर ६१ रन बनाएको क्लबका सचिव निशान टन्डनले जानकारी दिए । त्यस्तै, जनसहयोगले ८.१ ओभरमा ६ विकेट गुमाएर ६२ बनाएको थियो । जितसँगै जनसहयोग माविले नगद २२ हजार दुई सय २२, उपविजेता सिद्धबाबा माविले ११ हजार एक सय ११ रुपैँयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पनि प्रदान गरिएको क्लबका सचिव टन्डनले जानकारी दिए ।
आजको फाइनल खेलमा म्यान अफ द म्याच सुदीप सार्की, बेस्ट बलर सन्देश सार्की, बेस्ट ब्याट्स म्यान देवीराम सुनार र म्यान अफ द श्रीज सुदीप सार्की भएको क्लबका सल्लाहकार नारायण आचार्यले जानकारी दिए । यी सबै विधाका उत्कृष्ट पुरस्कार जित्ने खेलाडीहरू जनसहयोग माविका रहेको आचार्यले बताए ।
पुस १६ गतेबाट सुरु भएको खेलमा जिल्लाका १२ वटा विद्यालयले प्रतिस्पर्र्धा गरेका थिए । क्लबहरूको तर्फबाट तम्घासमा फुटबल खेलहरू धेरै हुने गरेका छन् । तर, पछिल्लो समय धेरैको रोजाइँमा रहेको क्रिकेट खेल कम भएपछि ऊर्जा भर्न क्रिकेट प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सन्दीप भलामीले बताए । आफूहरूले सांगीतिक क्षेत्रमा काम गर्ने गरिरहेको भए पनि अहिलेको प्रतियोगिताले थप उत्साहित बनाएको बताए ।
एकपछि अर्को सफलता
गत मंसिरमा पाँचौँ फोर्टिन स्टारकप फुटवलमा जनसहयोग माविले केही समय पहिले १४ गोल गर्ने महेन्द्र माविलाई पराजित गरेर उपाधि जितेको थियो । जनसहयोग माविको फुटबल र क्रिकेट खेल्ने ग्राउन्ड छैन, प्रशिक्षक र प्रशिक्षणको त कुरै रहेन।
कतै प्रतियोगिता भए खेलाडीहरू जुटेर एक घण्टाको बाटो उनायचौरमा क्रिकेट र फुटबल खेल्न पुग्नुपर्ने बाध्यता रहेको कोचसमेत रहेका जनसहयोग माविका शिक्षक केशर केसीले बताए। फुटबलको उपाधिबाट उत्साहित विद्यार्थीहरू क्रिकेटमा पनि सहभागी भएर राम्रो नतिजा निकाल्न सफल भएको केसीको भनाइ छ ।