गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु. १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बिमा दाबी भएको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार कुल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दाबीको रु. एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ बराबर भुक्तानी भएको छ।
प्राधिकरणका अनुसार सम्पत्ति बिमामा एक हजार सात सय ७४ वटा दाबी परेको छ। नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दाबी सम्पत्ति बिमामा परेको छ।
यस्तै, इन्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ। त्यसमा रु. दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। मोटर बिमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ। त्यसमा ४१ करोड ५३ लाख ४४ हजारबराबरको दाबी रकम माग गरिएको छ।
मोटर बिमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ। त्यसमा २८ करोड ९९ लाख १६ हजारबराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा रु. चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ।
पशुपन्छी बिमातर्फ ६० वटा आवेदन पर्दा रु. तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बिमातर्फ एक सय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दाबी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दाबी भएको छ।
प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ। मधेशमा एक सय आठवटामा ३७ को मात्रै भुक्तानी भएको छ । वर्षा र बाढी प्रभावित बागमती प्रदेशमा तीन हजार दुई सय १३ माग दाबी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ।
गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ। कर्णालीमा आठवटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा ६ वटा आवेदन पर्दा तीनवटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।