एफवान सफ्टको बैंक खाताबाट साढे तीन करोड ह्याकिङमा नौजना पक्राउ

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट तीन करोड ५१ लाख ५० हजार लाख रुपैयाँ चोरीमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो । तर, कसरी चोरी भयो भन्ने अझै रहस्यमै छ । 

सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले सो खाताबाट पैसा गएका विभिन्न नौजनालाई पक्राउ गरी थप १५ जनालाई फरार प्रतिवादी बनाएर शुक्रबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । 

प्रहरीले त्रिगुणरत्न बज्राचार्य, राहुल ठाकुर, पुरुषोत्तम साह, कृष्णरमण राउत, सञ्जीवकुमार शर्मा, कमल थापामगर, दीपक थापामगर, सन्देश राई र सागरकुमार साहलाई पक्राउ गरेको हो । 

त्यस्तै, मनोज श्रेष्ठ, मुकेश मुखिया, सुरजकुमार महतो, सुजता थापामगर, सरू राई, राकेशकुमार महतो, दीपमालाकुमारी कुशवाह, प्रतीक चौधरी, सलन लिम्बू, सपनाकुमारी सिंह, अनु सोराली, अविनाश रौनियार, दर्शन लिम्बू, विवश याखा र सजन अमात्यलाई फरार प्रतिवादी बनाएको छ । एफवान सफ्टको खाताबाट उनीहरूको नाममा पैसा गएको आधारमा प्रहरीले उनीहरूलाई प्रतिवादी बनाएको हो । तर, बैंक खाता कसरी ह्याकिङ भयो र कसले गर्याे भन्ने खुल्न नसकेको साइबर ब्युरोले जनाएको छ ।  

कर्पाेरेट बैंकिङ प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याएर खाताबाट रकम चोरी भएको  हाे । यसरी चोरी गरिएको रकम नेपालमै विभिन्न व्यक्तिको खातामा लगिएको थियो । कतिपयको टिकटबापतको रकम भुक्तानी गरिएको छ । वैदेशिक रोजगारीमा रहेकाहरूलाई हुन्डीको कारोबार मिलाउन नेपालको खातामा पैसा हालिएकाले यसमा अन्तर्राष्ट्रिय गिरोहकै संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । केहीलाई टेलिग्राममार्फत रोजगारीको बहानामा उनीहरूको खातामा पैसा हालिएको थियो। 

सुझावित समाचार