नेकपा (माओवादी केन्द्र)ले सदन छलेर सरकारले दल विभाजनको अध्यादेश ल्याउन लागेको आरोप लगाएको छ।
शुक्रबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि प्रश्न उठाए। पुसको तेस्रो साता बित्नै लाग्दा पनि संसद् बैठक आह्वान नगरेपछि माओवादीले सरकारको नियतमाथि प्रश्न गरेको हो।
‘सरकारको नियत राम्रो देखिएको छैन। सदन छलेर अध्यादेश ल्याउन खोज्दै छ। त्यो अध्यादेश पनि केका लागि भने पार्टीहरूलाई विभाजन गर्न । सरकारको यी सबै गतिविधि हेर्दा लोकतन्त्रमाथि गम्भीर समस्या पैदा हुँदै छ,’ सापकोटाले भने, ‘लोकतन्त्रको आत्मा भनेको संसद् हो, संसद् नै छलेपछि लोकतन्त्र समस्यामा पर्छ।’
संसद् बैठक बोलाउन माओवादीले संसदमा भएका अन्य दलसँग पनि छलफल चलाएर सरकारमाथि दबाब सिर्जना गर्ने उनले बताए।
‘लोकतान्त्रिक विचारधारा, त्यसको मूल्य, मान्यता र आदर्श स्थापित गर्नका लािग कमसेकम बैठक त समयमा बोलाउनुपर्छ। बैठक नै समयमा नबोलाएपछि त्योभन्दा गम्भीर कुरा केही हुन सक्दैन,’ उनले भने, ‘संसदमा भएका अन्य दलसँग पनि छलफल चलाएर सरकारमाथि प्रभावकारी दबाब सिर्जना गर्छौँ।’