समाजमा अराजकता रोक्न प्रगतिशील साहित्य र कलाको महत्त्वपूर्ण भूमिका हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्या भण्डारीले समाजमा वेलावेला देखापर्ने अराजकता, उच्छृंखलता र सतहीपनजस्ता विकृति, विसंगति रोक्न प्रगतिशील कला, साहित्य र संगीतको महत्त्वपूर्ण भूमिका हुने बताएकी छिन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा, सपना र ताराहरू पुस्तकको शुक्रबार लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यस्तो बताएकी हुन् । ‘समाजमा वेलावेला देखापर्ने अराजकता, उच्छृंखता र सतहीपनजस्ता विकृति–विसंगति रोक्न, सही नीति, सिद्धान्त, दर्शन र मूल्य–मान्यताका आधारमा समाजलाई निर्देशित गर्न प्रगतिशील कला, साहित्य र संगीतको महत्त्वपूर्ण भूमिका रहन्छ,’ भण्डारीले भनिन् । 

धेरैले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई राजनीतिक व्यक्तिका रूपमा चिने पनि उनी सिद्धहस्त लेखक तथा साहित्यकारका रूपमा समेत परिचित हुन सफल भएको भन्दै उनले आमाको स्मृतिलाई साहित्य कृतिका रूपमा ल्याएर योगदान गरेकोमा पूर्वराष्ट्रपति भण्डारीले बधाई पनि दिइन् ।

राजकीय र पार्टी जिम्मेवारीलाई सधैँभरि इमानदारीका साथ दृढतापूर्वक निर्वाह गर्ने पोखरेलले जुनसुकै कमिटी र पदमा रहँदा  पार्टीभित्रको एकता सुदृढ गर्न, वैचारिक पक्षलाई धारिलो बनाउन प्रयास गर्दै आएको पनि पूर्वराष्ट्रपति भण्डारीले स्मरण गरिन् ।

राजनीतिक जिम्मेवारीको व्यस्तताबिच लेख, रचना लेखेर पार्टीको पक्षमा जनमत तयार गर्न तथा साहित्यका विविध विधामा पनि कलम चलाएर पोखरेलले महत्त्वपूर्ण योगदान पुर्याएको पूर्वराष्ट्रपति भण्डारीले चर्चा गरिन् । साहित्य समाजको दर्पण मात्र नभएर राजनीतिक र सामाजिक परिवर्तनको महत्त्वपूर्ण साधन र विचारको संवाहक भएको उनले बताइन् ।

आमा शब्दले सधैँ सृष्टिको निरन्तरता, ममताको खानी, प्रेरणाको सन्देश दिइरहने भन्दै उनले संसारभरि आमाका नाममा अनेकौँ कृतिहरू लेखिएको र भविष्यमा पनि लेखिँदै जाने क्रममा पोखरेलको कृतिले आमा–छोराबिचको पवित्र सम्बन्ध, आमाको त्याग, संगीन घडीमा छोराले आमाप्रति दर्शाएको प्रेम र सम्मानलाई उजिल्याउन कृतिबाट सफल भएको भन्दै प्रशंसा पनि गरिन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतले कृतिबारे चर्चा गरेका थिए ।
 

सुझावित समाचार