खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख डि.ई पशुपति ज्ञवालीका अनुसार बेलिब्रिज जडानको काम ८० प्रतिशत सकिएको छ।
‘अब केही दिनमै हामी बेलिब्रिजबाट गाडी गुडाउने तयारीमा छौँ। बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने। गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु गरिएको थियो।
सगरमाथा लोकमार्गबाट उदयपुर–खोटाङ जोड्ने फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि सीधा यातायात अवरुद्ध बनेको थियो। उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटार र खोटाङको खोटेहाङ गाउँपालिका– ९ को लिच्कीराम्चेबिचमा पर्ने सुनकोशीमा अहिले सीधा यातायात सञ्चालनका लागि बेलिब्रिज निर्माण भइरहेको छ।
ज्ञवालीका अनुसार आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज प्राइभेट लिमिटेडले एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँ ७८ पैसामा ठेक्का लिएर काम गरिरहेको छ। पुसको पहिलो हप्ताबाट बेलिब्रिज जडानको काम सुरु भएको थियो।
बेलिब्रिजका सामग्री पुरानै अवस्थामा फोक्सिनटारमा भएकाले निर्माण कार्य छिटो सम्पन्न भएको प्रमुख ज्ञवालीको भनाइ छ। ०७९ पुसमा सञ्चालनमा आएको आर्क डिजाइनको पक्की पुल बाढीले भत्काएपछि स्थानीयले झोलुङे पुल प्रयोग गर्दै आएका थिए। अब अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै यात्रुहरूको समस्या समाधान हुने अपेक्षा गरिएको छ। यद्यपि, स्थायी पक्की पुल निर्माण नहुँदासम्म हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षातकाे समयमा झिक्ने हुँदा फेरि वर्षाको समय सुरु हुनासाथ उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात आवागमन बन्द हुनेछ।
हिउँदमा जसोतसो बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात जोडिए वर्षामा पुनः समस्या हुने भन्दै खोटाङवासीले सरकारलाई स्थायी पुल निर्माण गर्न माग गर्दै आइरहेका छन्।