काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) झापाको दमकमा हुने भएको छ । महोत्सव दमकस्थित कदम थिएटरमा हुने भएको हो । कदम थिएटर दमकले स्थानीय आयोजकको रूपमा दुई दिनसम्म महोत्सव आयोजना गर्ने थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव आगामी माघ ५ र ६ गते कदम थिएटरमा हुने जानकारी दिएको छ ।
महोत्सवमा १४ वटा लामो तथा छोटा वृत्तचित्र र कथानक चलचित्रहरू देखाइने अध्यक्ष तथा महोत्सव संयोजक बुढाथोकीले बताए । यस्तै, दुईवटा प्यानल छलफल हुने उनको भनाइ थियो ।
महोत्सवमा दलितहरूको तीन तहका सरकार र समाजमा प्रतिनिधित्वसम्बन्धी प्यानल छलफल हुने अध्यक्ष बुढाथोकीले बताए । ‘यो छलफलले राजनीतिक तथा सामाजिक क्षेत्रमा दलित समुदायहरूको समावेशीकरणसँग सम्बन्धित चुनौतीहरू र अवसरहरूलाई उजागर गर्ने लक्ष्य राखेको छ,’ उनले भने, ‘सामाजिक न्याय र समानताको दिशामा गरिएका प्रगतिहरूका साथै अझै पूरा गर्नुपर्ने खाडलहरूबारे विज्ञहरू, अभियन्ताहरू र विद्वानहरू भेला भएर छलफल गर्नेछन् ।’ महोत्सवमा करिब एक हजार कलाप्रेमी दर्शक सहभागी हुने अनुमान गरिएको उनले बताए ।
कदम थिएटरका कला निर्देशक सिजन दाहालले किम्फले घुम्ती महोत्सवअन्तर्गत दमकमा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । उनले दमकको कला क्षेत्रको विकासमा यो महोत्सवले योगदान गर्ने जानकारी दिए ।