आधुनिक इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपपछिका २० वर्षमा सिकिएका पाठ

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

सन् २००४ मा हिन्द महासागरमा आएको भूकम्पपछिको सुनामीले विश्वव्यापी प्रकोप व्यवस्थापन प्रणालीलाई नै पुनः आकार दिन सघायो 

सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियानजिकै हिन्द महासागरमा विशाल भूकम्प आयो । त्यसले महासागरका तटीय क्षेत्रमा ठुलो सुनामी (समुद्री छाल) ल्यायो, जसमा लगभग दुई लाख ५० हजार मानिसको ज्यान गयो । यो भूकम्प र त्यसपछि आएको सुनामीलाई यस शताब्दीको सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिन्छ । साथै त्यो समय आएको सुनामी सम्भवतः रेकर्ड राख्न थालिएपछिको सबैभन्दा घातक सुनामी थियो । 

यस लेखका लेखकहरू तटीय इन्जिनियरका रूपमा काम गर्छौं । हाम्रो पेसा सुनामी कसरी बन्छन् र तीविरुद्ध कस्तो तयारी गर्नुपर्छ भन्ने विषयसँग जोडिएको छ । तटीय इन्जिनियरका रूपमा हामीले सन् २००४ को त्यस महाविपत्ले कसरी विश्वव्यापी प्रकोप व्यवस्थापन प्रणालीलाई नै पुनः आकार दियो भनेर नजिकबाट देखेका छौँ । त्यस दिनयता सिकेका पाठमध्ये तीनवटा विषयवस्तु विशेष महत्वपूर्ण छन् । तीमध्ये पहिलो हो, प्रारम्भिक चेतावनी प्रणालीको महत्व, जसले प्रभाव क्षेत्रहरूबाट भाग्ने अत्यन्त महत्वपूर्ण समय प्रदान गर्छ । दोस्रो, स्थानीय तयारीको महत्व, जसअन्तर्गत जोखिमबारे सम्भावित खतराका क्षेत्रका मानिसलाई शिक्षित गरिन्छ । अन्तिममा, निरन्तर तटीय प्रतिरक्षाको आवश्यकता, तथापि अति निर्भरता भने होइन ।

प्रारम्भिक चेतावनी प्रणालीको विकास
बृहत्तर स्तरको प्रारम्भिक चेतावनी प्रणालीको अभावले सन् २००४ को विपत्मा अत्यधिक मानिसको ज्यान गयो । उदाहरणका लागि, श्रीलंकामा लगभग ३५ हजार मानिसको मृत्यु भयो, जहाँ भूकम्पको दुई घण्टापछि मात्रै सुनामी पुगेको थियो । सो विपत्पछि प्रारम्भिक चेतावनी प्रणालीमा व्यापक लगानी भएको छ । हिन्द महासागरीय सुनानी चेतावनी प्रणालीले अहिले २७ राष्ट्रलाई समेटेको छ । यही लगानीको प्रतिफलस्वरूप सन् २०१२ मा इन्डोनेसियाको सोही क्षेत्रमा गएको अर्को भूकम्पको समयमा यस प्रणालीले आठ मिनेटभित्र सुनामीको चेतावनी दिन सक्षम भएको थियो । 

त्यसैगरी जनवरी २०२४ मा जापानको नोटोमा भूकम्प गएपछि तुरुन्तै सुनामीको चेतावनी भएको थियो । त्यस समय मानिसहरू सुरक्षित स्थानमा सारिएकाले निःसन्देह धेरैको ज्यान जोगियो । दुर्भाग्यवश प्रारम्भिक चेतावनी प्रणालीहरू विश्वव्यापी रूपमा प्रयोगमा छैनन् । त्यसैले सन् २०२२ मा दक्षिणी प्रशान्त महासागरमुनि रहेको ज्वालामुखी विस्फोटपछि टोंगन टापुमा आएको सुनामीको पूर्वचेतावनी जारी भएन । यस घटनामा ज्वालामुखीको नियमित निगरानीले पनि सुनामीको प्रारम्भिक संकेत पत्ता लगाउन मद्दत गर्ने थियो । 

समुदाय सशक्तीकरणको प्रवर्द्धन
प्रारम्भिक चेतावनी प्रणाली मात्र पर्याप्त हुँदैन । अझै पनि सुनामीबारे सचेतना अभियान सञ्चालन गरिनुपर्छ । त्यस्तै सुनामीको उच्च जोखिममा रहेका क्षेत्रमा सुनामी आउँदा कसरी सुरक्षित स्थानतर्फ भाग्ने भन्ने कुराको नियमित पूर्वाभ्यास गराउनु उपयोगी हुन्छ । त्यसबाहेक पनि प्रकोपविरुद्ध कस्तो प्रतिक्रिया अपनाउने भन्ने योजना पहिले तयार हुनुपर्छ । यसप्रकारको योजना सन् २०२४ जनवरीमा आएको नाटो सुनामीबाट प्रभावित जापानको जाइक भन्ने गाउँमा प्रभावकारी साबित भएको थियो । 

सन् २०११ मा आएको विशाल सुनामीबाट (जसले फुकुसिमा आणविक ऊर्जा केन्द्रलाई समेत प्रहार गरेको थियो) पाठ सिकेर इन्जिनियरहरूले सुनामी आउँदा आश्रय लिने स्थानतर्फ नयाँ निकासी मार्ग निर्माण गरेका थिए । त्यसैले जनवरीको सुनामीमा गाउँ ध्वस्त भए पनि त्यहाँका बासिन्दा बाहिरिन सफल भए । जसले जाइकमा कुनै हताहती हुन पाएन । 

इन्जिनियरिङ प्रतिरक्षाको भूमिका
२००४ को सुनामीपछिका वर्षमा जोखिममा रहेका देशले समुद्री तटमा ठुलो इन्जिनियरिङ पूर्वाधार निर्माण गरेका छन् । तिनमा तटमा छाललाई रोक्ने संरचना, सी–वाल (समुद्री पर्खाल) र बाढी अवरोधक छन् । यी संरचनाले सुरक्षाको एक उपाय प्रदान गरे पनि तिनको प्रभावकारिता सीमित छ । सुनामीले सबैभन्दा बलियो ठानिएका पूर्वाधार प्रतिरक्षालाई पनि हानि पुर्याएको देखेर जापानले पूर्वाधार मात्रले जीवनको क्षति घटाउँछ भन्ने विचार नै परित्याग गरिदिएको छ । उदाहरणका लागि सन् २०११ मा आएको सुनामीले बाटारी नगरमा लगाइएको पाँच मिटर अग्लो पर्खाल नाघेर आधार सहरलाई डुबाएको थियो । सहरमा सयौँ मानिसको मृत्यु भयो ।

विगत एक वा दुई दशकमा सुनामीले विद्यमान सुरक्षा रणनीतिमा विद्यमान कमजोरी उजागर गरिदिएको छ । हाम्रो क्षेत्रगत सर्वेक्षणले पनि कठोर संरचनामा सुनामीले गम्भीर क्षति पुर्याएको देखाएको छ । हुन त अत्यन्त विषम अवस्थामा पूर्ण विफलताको सम्भावना रहन्छ, तथापि विद्युत् संयन्त्रजस्ता महत्वपूर्ण पूर्वाधार सबैभन्दा ठुला सुनामीसमेत धान्ने गरी डिजाइन गरिएको हुनुपर्छ । यसका लागि अधिक विपत्मा आंशिक मात्र क्षति पुग्ने वा पूर्ण रूपमा काम गर्ने लचिलो इन्जिनियरिङ डिजाइनहरूमा थप अनुसन्धान आवश्यक छ । 

सन् २०११ सुनामीपछि जापानी इन्जिनियरहरूले दुई सुनामी मापन स्तर सिर्जना गरे । ‘लेभल वन’ सुनामी पटक–पटक गइरहन्छन्, तर कम खतरनाक हुन्छन् । अर्को ‘लेबल टु’ सुनामी भने ठुला हुन्छन् । यो प्रकारको सुनामी कुनै तटवर्ती क्षेत्रमा हजार वा त्यति अवधिमा एकपटक मात्र जाने सम्भावना हुन्छ । यस वर्गीकरणको सुनामीमै पर्छन्– हिन्द महासागरमा सन् २००४ मा गएको र जापानमा सन् २०११ मा गएको सुनामी । यस्तै सुनामीका लागि बलियो ऊर्जा संयन्त्रजस्ता महत्वपूर्ण पूर्वाधारको तयारी गर्नुपर्छ । सन् २००४ को आकारको सुनामीलाई केही गरी पनि पूर्णरूपमा रोक्न सकिँदैन । हाम्रो लक्ष्य सुनामी थेग्ने संरचना निर्माणमा केन्द्रित हुनुपर्छ । संरचनाहरू विशेषतः सुनामीको उचाइ घटाएर तिनको गतिलाई सुस्त बनाउने र सुरक्षित स्थलतर्फको आश्रय लिन सहयोग गर्न सक्षम हुनुपर्छ ।

कठोर पूर्वाधार प्रतिरक्षामा नयाँ–नयाँ प्रविधि र ज्ञान विकसित भएका छन् । यसका बाबजुद थप दिगो र जिम्मेवार तरिकामा तटीय सहरी क्षेत्रको निर्माण र योजनामा ध्यान दिनुपर्छ । विशेषगरी, सुनामीको खतरा भएका क्षेत्रमा महत्वपूर्ण पूर्वाधार र सघन बसोवास सम्भव भएसम्म उच्च जमिनमा निर्माण गरिनुपर्छ । इन्जिनियरिङ प्रगतिले पर्यावरणीय परिणामका लागि ख्याल गर्नुपर्छ । भारी बालुवाको थैलो, ठुल्ठुला चट्टानको प्रयोग र बफर क्षेत्रमा तटीय वन रोप्नु अग्लो पर्खाल निर्माण गर्नुभन्दा सस्तो र पर्यावरणीय रूपमा संवेदनशील विकल्प हुन सक्छ । 

जलवायु परिवर्तन र अगाडिको बाटो
सुनामीबाट सुरक्षाको क्षेत्रमा निश्चित रूपमा प्रगति भएको छ । यद्यपि, सुनामी र भूकम्पको तथ्यांक अझै पनि विश्वभर व्यापक रूपमा साझा गरिँदैन । स्थानीय अधिकारी र विशेषज्ञले प्रायः सुनामीबाट बाढी आउने खतरा भएका समुदायका बासिन्दालाई जोखिमको जानकारी दिँदैनन् । समय बित्दै जाँदा मानिसमा डर घट्दै जान्छ र प्रकोप तयारीका उत्कृष्ट अभ्यासको सम्झना हराउँदै जान सक्छ । त्यसमा अहिले द्रुत जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धिले नयाँ चुनौती थपेको छ । जलवायु परिवर्तनका कारण पछिल्लो समय समुद्री आँधीको संख्या बढेको छ । यसले सुनामी त निम्त्याउँदैन, तथापि यसले पूर्वाधारलाई कमजोर बनाउँदै लग्ने भएकाले सुनामी आएको अवस्थामा परिस्थिति थप खराब बन्न सक्छ । ठुला र अत्यावश्यक चुनौती अझै बाँकी रहे पनि तिनीहरू पार लगाउन सकिने खालका छैनन् । सुनामीबारे थप अध्ययन र सबैभन्दा खराब भविष्यका लागि तयारीलाई निरन्तरा दिइयो भने हामी तिनको प्रभावलाई कम गर्न र लाखौँ जीवनको रक्षा गर्न सक्छौँ ।

द कन्भर्सेसनबाट

सुझावित समाचार