उदयपुरको पश्चिम क्षेत्रमा पर्ने कटारी नगरपालिकाको कटारी बजारबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कटारीको विशेष टोलीले घर छापा मार्दा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमल बजगाईंले विशेष सूचनाको आधारमा छापा मारेर ६४७ ट्याब्लेट लागुऔषध, दुई थान मोटरसाइकल, ६ थान मोबाइल र नगद आठ हजार रुपैयाँ बरामद गरेको जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा कटारी नगरपालिका– ४ निवासी ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरिकृष्ण राई, २६ वर्षीय करण लिम्बू, २२ वर्षीय विशाल तामाङ र २० वर्षीय विकेश तामाङ छन्। प्रहरीले पक्राउ परेका विनय सुनुवारको घरमा छापा मारेको थियो।
पक्राउ परेकाहरूको साथबाट लागुऔषध ट्रामाडोल र स्पास्मोको ८७७ ट्याब्लेट भेटिएको थियो। प्रहरीका अनुसार विनय सुनुवारको घरमा लुकाइएको अवस्थामा लागुऔषध फेला परेको हो।
प्रहरीले उनीहरूलाई लागुऔषध कारोबार ऐनअन्तर्गत जिल्ला अदालत गाईघाटबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।