दोलखाको बिगु गाउँपालिका– ४ सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा तीन दिनदेखि स्थानीयहरू आन्दोलित छन्। आयोजनाले स्थानीय बासिन्दाका दर्जनौँ जायज मागको बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका उनीहरूले तीन दिनदेखि ‘अडिट टु’का सबै काम ठप्प पारेका हुन्।
१० दिनअघि ११ बुँदे माग तत्काल पूरा गर्न अल्टिमेटम दिए पनि आयोजनाले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयको आन्दोलन तेस्रो दिन पनि जारी छ। संघर्ष समितिका सहसंयोजक अमृत आचार्यले आयोजनाको नेतृत्वले समस्या समाधानका लागि कुनै चासो नदिएको बताए। नयाँ पत्रिकासँग कुरा गर्दै सहसंयोजक आचार्यले भने, ‘हामीलाई बाहिरी मान्छे प्रयोग गरेर आन्दोलन रोक्न चेतावनी दिए पनि आयोजनाकै नेतृत्वले भने कुनै वार्ता र संवादको प्रस्ताव गरेको छैन। हाम्रा जायज माग पूरा नहुन्जेल आन्दोलनबाट पछि हट्दैनौँ।’
आयोजनाको अडिट टु निर्माण गर्दा बिगु गाउँपालिका– २ को मौरेका १० घरपरिवार सबैभन्दा धेरै जोखिममा परेको र अडिट टुबाट आफूहरूको बस्ती ५० मिटरभित्रै पर्दा पनि आयोजनाले कुनै चासो नदिई धमाधम निर्माण कार्य थालनी गरेको सहसंयोजक आचार्यको भनाइ छ। उनले धेरैपटक बस्तीका बारेमा ध्यानाकर्षण गराउँदा आयोजनाका उच्च अधिकारीहरूसमेत गैरजिम्मेवार भएको आरोप लगाउँदै आएका छन्।
उक्त टनेलबाट गौरीशंकर गाउँपालिका– ८ खारेको मन्थली, तातोपानी, टाकापु र लाकुरसिंहका गरी झन्डै एक सय घरपरिवारसमेत आंशिक रूपमा जोखिममा पर्ने भन्दै तत्काल समाधानको उचित निकाश नभई काम अघि बढ्न नदिने संघर्ष समिति र स्थानीयको अडान छ। उनीहरूले आयोजनामा आवश्यक र उपलब्ध भएमध्येकालाई रोजगारी, अडिटनजिकैको बस्ती व्यवस्थापन, कार्यरत कामदारलाई सरकारी दररेटअनुसारको पारिश्रमिक, सामाजिक विकासतर्फको बजेट पारदर्शी ढंगले सम्पादन, बनेका संरचना दीर्घकालीन बनाउनुपर्नेजस्ता मागहरू अघि सारेका छन्।
आयोजनामा सधैँ लफडा
निर्माण सुरु भएको एक वर्षसमेत पूरा नहुँदै आयोजनामा दर्जनौँ लफडाहरू भइरहेको स्थानीयहरू बताउँछन्। आयोजना निर्माणको जिम्मा पाएको चाइनिज ठेकेदार कम्पनीले कामको विषयलाई लिएर नेपाली कामदारमाथि पटकपटक लक लगाएर मार्न खोजेकादेखि नियमित कुटपिट गर्ने, मजदुर पिट्न ‘दादा भत्ता’ दिएर युवा भर्ना गर्ने, काम बाँडफाँटको नाममा कुनै एक मात्र दलको इसारामा अघि बढ्नेजस्ता दर्जनौँ आरोप उक्त आयोजनालाई लाग्ने गरेको छ। अनेकन विषयमा आयोजनामा लफडा भइरहँदा राज्यलाई समेत घाटा भएको भन्दै जिल्लाका सरोकारवालाहरूले उक्त आयोजनामा चुलिँदै गएको बेथिति अन्त्य हुनुपर्ने माग गर्दै आएका छन्।
तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले स्थानीयका मागहरूबारे छलफल भइरहेको बताएका छन्। उनले आयोजनाका कर्मचारीहरू पनि अन्य काममा व्यस्त भएको बताउँदै तत्काल निकास निकाल्ने बताए।
उनले दुईवटा स्थानीय तहका सातवटा वडाहरू मुख्य प्रभावित क्षेत्र भएकाले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक विकासको बजेट खर्च गर्न प्रभावित क्षेत्रका सरोकारवालाहरूसँग छलफल भइरहेको जानकारी दिए।