अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रूपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रूपमा दर्ज भयो । ठुला–ठुला विमान दुर्घटना भए ।
ती दुर्घटनामा धेरै मानवीय क्षति व्यहोर्नुपर्याे । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।
बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए । सियोलबाट करिब २८८ किलोमिटर दक्षिण–पश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।
यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । वर्षको उत्तरार्धमा भएका दुई ठुला विमान दुर्घटनामा २१७ जनाले ज्यान गुमाए ।
विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिमजस्ता विशिष्ट व्यक्तिको मृत्यु भयो । मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस्तै, जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमीको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो ।
नयाँ वर्ष २०२५ को सुरुवात हुँदै गर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद साबित भयो । यस वर्षभित्र ठुला ठुलासहित धेरै संख्यामा विमानहरू दुर्घटनामा परेका थिए ।
डिसेम्बर महिनामा मात्रै ६ वटा ठुला विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा २३४ जनाको मृत्यु भएको छ । लगातारको विमान दुर्घटनाले हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ ।
यस्तै, गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो ।
उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीकी श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो । डिसेम्बर २४ मा एयर क्यानडाको विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त विमानमा आगो लागेको थियो ।
यसैगरी, गत डिसेम्बर २२ मा पपुवा न्युगिनीमा विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै पाँचजनाको मृत्यु भएको थियो । उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्यान्डर २२ डिसेम्बरमा पपुवा न्युगिनीमा दुर्घटनाग्रस्त भएको थियो ।
अर्जेन्टिनामा बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्टनजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो ।
अमेरिकन विमान कामाका एयर एलएलसीद्वारा सञ्चालित कामाका एयर होनोलुलुको ड्यानियल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको हो । अगस् ९ मा ब्राजिलको भिनहेडोको भिनहेडोमा विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो ।
सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो ।
यस्तै अगस्ट ७ (साउन २३ गते) काठमाडौंको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकाेप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो । सन् २०२३ मा यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो । यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठुलो हो ।
बुध्द एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापी रूपमा हवाई दुर्घटनाका हिसाबले दुःखद रहे पनि नेपालमा भने केही सुधार भएको बताउँछन् ।
‘नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ । तर, विश्वव्यापी रूपमा हेर्दा वर्षको समाप्ति हुनै लाग्दा निरन्तर ठुला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसाबले दुखःद मानिन्छ,’ उनले भने ।
नेपालको हकमा हवाई सुरक्षा अभिवृद्धि भएको मान्न सकिने उनको धारणा छ । यद्यपि, सौर्य एयर र एयरडाइनेस्टी हेलिकाेप्टर दुर्घटनाले पुनः एकपटक झस्काएको छ ।
यसबाट एभिएसन सेफ्टी र सेक्युरिटीका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नेतर्फ एयरलाइन्सहरूको ध्यान जान जरुरी रहेको क्याप्टेन शर्माको भनाइ छ ।
सन् २०२४ मा विश्वव्यापी रूपमा हवाई यात्रुको संख्या सकारात्मक बढोत्तरी भइरहेको छ । निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाब बढेको छ । हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समग्रमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद वर्ष साबित भएको बताउँछन् ।
‘विश्वव्यापी रूपमा ठुलाठुला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकाेप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन । दुर्घटना मात्रै हाेइन, मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ,’ उनले भने ।
सन् २०२४ को अन्तिम महिनाका केही हवाई दुर्घटनाले हवाई क्षेत्रमा संशय पैदा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए । समग्रमा सन् २०२४ लाई बिदाई गर्दै गर्दा एभिएसनले नराम्रो क्षति व्यहोर्न पुगेको उनले उल्लेख गरे ।
‘एभिएसनमा नेपालको सन्दर्भमा राम्रो रहे पनि विश्वव्यापी रूपमा हेर्दा दुःखद वर्षको रूपमा रह्यो,’ पूर्वमहानिर्देशक गौतमले भने, ‘दुर्घटनाबाट पाठ सिकेर हवाई सुरक्षालाई कसरी बलियो बनाउने भन्नेतर्फ राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् २०३० सम्म मानवजन्य मृत्यु हुने दुर्घटना शून्यमा झार्ने लक्ष्य लिएको छ । अहिले वार्षिक १० प्रतिशत हवाई यात्रु वृद्धि भइरहेको छ ।
अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्यांकलाई उद्धृत गर्दै पूर्वमहानिर्देशक गौतमले विश्वव्यापी रूपमा हवाई यात्रुको संख्या झन्डै पाँच अर्ब पुगेको बताए । सन् २०१९ मा चार अर्ब ५० करोड हवाई यात्रु पुगेका थिए ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई यात्रु बढेका हिसाबले सकारात्मक लिन सकिए पनि सन् २०२४ मा भएका केही हवाई दुर्घटनाले एभिएसन क्षेत्रलाई खिन्न बनाएको बताए ।
‘नेपालको सन्दर्भमा सन् २०२३ को तुलनामा सन् २०२४ दुर्घटनाको संख्याको हिसाबले सुधारात्मक रहे पनि विश्वव्यापी रूपमा हेर्दा वर्षको अन्तिम महिनामा धेरै संख्यामा भएका विमान दुर्घटनाले एभिएसन क्षेत्रलाई झस्काएको छ,’ उनले भने ।
उडान सुरक्षा र यात्रु बढोत्तरीका हिसाबले सुधार हुँदै गएको सूचना अधिकारी भुलको भनाइ छ । नेपालमा पनि हवाई यात्रुको संख्या निरन्तर बढिरहेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तराष्ट्रिय हवाई यात्रुको संख्या ७.९ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कुल ८७ लाख ६० हजार ३०२ हवाई यात्रुले यात्रा गरेका छन् ।
सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी, सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४४ लाख ४९ हजार एक सय ३३ पुगेको थियो ।
प्राधिकरणका अनुसार नेपालमा हालसम्म १०८ हवाई दुर्घटनामा ९५९ जनाको मृत्यु भएको छ । वि.सं. २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो ।
वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाकिस्तानमा भएका दुई ठुला विमान दुर्घटनाले समग्रमा हवाई उड्डयनको क्षेत्रलाई निराश बनाएको छ । यो घटनाले विश्वव्यापी रूपमै हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्न तेर्सिएको छ ।
यसरी सन् २०२४ मा ठुला विमान दुर्घटनामा चार सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटना खराब मौसम र मानवीय कमजोरीले हुने गरेको विज्ञहरू बताउँछन् । रासस