सुनखानी–साङ्बा सडककाे पहिलो खण्डमा कालोपत्रे सकियो

स्रोत अभावले दोस्रो खण्डको काम अनिश्चित

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङ्बा सडकको पहिलो खण्डमा कालोपत्रेको काम सकिएकोे छ। बागमती प्रदेश सरकारको लगानीमा तीन वर्षअघि निर्माण सुरु भएको उक्त सडकको पहिलो खण्डमा १५ किलोमिटर सडक कालोपत्रे पूरा भएको हो। कालिञ्चोक गाउँपालिका– ६ दुधपोखरीदेखि बिगु गाउँपालिका– ८ साङ्बा बजारसम्म झन्डै २८ किलोमिटर सडकमध्ये पहिलो खण्डको १५ किलोमिटर सडकमा कालोपत्रे पूरा भएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय दोलखाले व्यवस्थापन गरिरहेको उक्त सडक आयोजनाको कालोपत्रेको काम यही पुसको दोस्रो साताभित्रै सम्पन्न भएको कार्यालयले जनाएको छ। कालिञ्चोक– ६ को पाटागाउँस्थित दुधपोखरी पहिरोदेखि बाबरेको लप्सीबोटेसम्म १५ किलोमिटर खण्ड कालोपत्रेको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख इन्जिनियर हरिप्रसाद ओझाले जानकारी दिए। उनका अनुसार दुधपोखरीदेखि बाबरेको लप्सीबोटेसम्म १२.५ किलोमिटर अस्फाल्ट कंक्रिट प्रविधिको कालोपत्रे र २.५ किलोमिटर क्षेत्रमा ढलान गरिएको छ।

पूर्वाधार विकास कार्यालयले तीन वर्षअघि उक्त सडकको स्ट्रक्चरसहित कालोपत्रे गर्न ४४ करोडको लागतमा ठेक्का आह्वान गरेकोमा ठेकेदार कम्पनी के.एस. सुनकोशी जेभीले झन्डै १७ करोड घटेर २६ करोड ९० लाख लागतमा सम्झौता गरेको थियो। सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका कुशल खड्काले सुरुवातदेखि नै मिहिनेतका साथ काम गर्दा तोकिएकै समयावधिमा सडक कालोपत्रेको काम सम्पन्न भएको बताए। उक्त आयोजनामा एकपटक मात्रै म्याद थप भएको कार्यालयले जनाएको छ।

खड्काले विगत वर्षका बाढीपहिरोलगायतका प्राकृतिक प्रकोप र बिचमा सरकारले क्रसर उद्योग बन्द गर्दा र लापिलाङको विशाल पहिरोका कारण यसअघि नै सम्पन्न हुने उक्त आयोजनामा केही ढिलाइ भएको प्रतिक्रिया दिए। वर्षौँदेखि झरेको लापिलाङ पहिरोका कारण उक्त सडकसमेत बगेको थियो। पहिरोले सडक बगाएपछि स्थानीयले बस्तीभन्दा माथिबाट सडकको निकास खोलेका थिए। उक्त क्षेत्रमा समेत सडक व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।

अस्फाल्ट कंक्रिट प्रविधिबाट उक्त सडकको कालोपत्रे सम्पन्न भएपछि दोलखाको उपल्लो उत्तरी गाउँहरू सदरमुकाम चरिकोटसँग नजिकिएका छन्। सडक कालोपत्रे हुँदा लापिलाङ, लामिडाँडा, बाबरे, कालिञ्चोक हुँदै खोपाचागुको साङ्बा बजार, बिगु गुम्बा, चिलंखा र आलम्पुका यात्रुहरूलाई निकै सहज भएको छ। सडक कालोपत्रे हुँदा सहरी क्षेत्रसँग ग्रामीण बस्तीहरू नजिकिनका साथै स्थानीयहरूमा खुसी छाएको कालिञ्चोक– ४ का वडाध्यक्ष दीपक खुलालले बताए। स्थानीय उत्पादनको बिक्री–वितरण तथा सामान ढुवानीमा समेत निकै सहज भएको उनको भनाइ छ।

दोस्रो खण्डको १२.५ किलाेमिटर डिपिआर भए पनि स्रोत अभावले कालोपत्रे अनिश्चित 
सोही सडकको बाबरेदेखि साङ्बासम्मको बाँकी १२.५ किलाेमिटर क्षेत्रमा भने डिपिआर भए पनि स्रोत अभावले कालोपत्रेको काम अनिश्चित बनेको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको उक्त खण्ड निर्माण पूरा गर्न ७० करोड बजेट आवश्यक हुने उक्त प्रतिवेदनमा उल्लेख रहेको कार्यालयका प्रमुख डिभिजन इन्जिनियर ओझाको भनाइ छ।

ओझाले उक्त खण्ड कालोपत्रे गर्न तत्काल कुनै स्रोत नरहेको जानकारी दिए। प्रादेशिक गुरुयोजनाभित्र समेटिएको उक्त सडक प्रदेश सरकारले नै निर्माण गर्नुपर्ने भए पनि तत्काल स्रोत अभाव हुँदा अनिश्चित बनेको छ। 

सुझावित समाचार