वायुसेवा निगमका दुईवटै ट्विनअटर ग्राउन्डेड, डेढ सय कर्मचारी कामविहीन

आन्तरिक उडान ठप्प भएसँगै मासिक सातदेखि १० लाखसम्म तलब खाने पाइलट फुर्सदिला

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

नेपाल वायुसेवा निगम (नेवानि)का दुईवटै ट्विनअटर विमान बिग्रिएर उडान ठप्प भएपछि आन्तरिकतर्फ कार्यरत पाइलट र इन्जिनियरसहित करिब डेढ सय कर्मचारी कामविहीन बनेका छन् । निगमका ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि उडान आवर सकिएर ग्राउन्डेड गरिएका छन् ।

निगमले दुईवटा ट्विनअटर विमानबाट सातामा देशका १८ गन्तव्यमा उडान गर्दै आइरहेको थियो । उडान ठप्प भएपछि इन्जिनियर, पाइलट, प्राविधिकदेखि सेल्स र सपोर्ट स्टाफसम्म कामविहीन बनेका हुन् । निगममा आन्तरिकतर्फ १९ इन्जिनियर, करिब ५० प्राविधिक (टेक्निसियन र सपोर्ट स्टाफ), स्थायी र अस्थायी गरी १५–१६ जना पाइलट तथा एयरहोस्टेस र उपत्यकाबाहिर करिब ४० कर्मचारी कार्यरत रहेको स्रोतको भनाइ छ । ट्विनअटर उडाउनका लागि अस्थायी पाइलट पनि छन्, मासिक सातदेखि १० लाखसम्म तलब खाने पाइलट जहाज ग्राउन्डेड भएसँगै फुर्सदिला भएका छन् । निगममा पाइलटदेखि कर्मचारीसम्म कन्ट्र्याक्टमा काम गर्ने धेरै छन्, जसलाई मासिक करोडौँ तलब–भत्तामा खर्चिनुपर्छ ।

निगमले दुईवटा ट्विनअटर विमानबाट विराटनगर, नेपालगन्ज, डोल्पा, सिमिकोट, दाङ, सुर्खेत, मुगुको ताल्चा, जुम्ला, बाजुरा, रुकुम, थामखर्क, खानीडाँडा, भोजपुर, फाप्लु, ताप्लेजुङ, रेसुङ्गा, इलाम, रुम्जाटारलगायत विमानस्थलमा उडान गर्दै आइरहेको थियो । निगमले नेपालगन्जलाई बेस बनाएर पश्चिम क्षेत्रका सातवटा गन्तव्यमा उडान गर्न मात्रै ११ कर्मचारी कार्यरत छन् । स्रोतका अनुसार विराटनगरमा आठ वर्षदेखि उडान नभए पनि पाँचजना कर्मचारी कार्यरत छन् । विराटनगरबाट भोजपुरमा उडानतालिका राखिए पनि नियमित उडान भने नभएको स्रोत बताउँछ । सुकेटार, भोजपुर, रुकुम, ताल्चा, फाप्लु, खानीडाँडामा तीन–तीन, बाजुरा, सिमिकोट, जुम्लामा दुई–दुई र गुल्मीको रेसुंगामा एकजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ । 

नेतृत्वको अक्षमताले आन्तरिक उडान ठप्प
निगममा ट्विनअटर विमानका लागि जगेडा इन्जिन नभएका होइनन् । तर, सबै इन्जिन बिग्रिएका र समयमै मर्मतमा चासो नदिइएको हुँदा फेरबदल गर्ने इन्जिन नभएर दुईवटै ट्विनअटर ग्राउन्डेड गर्नुपरेको हो । यदि निगम नेतृत्व नियमित उडानमा प्रतिबद्ध हुन्थ्यो भने बिग्रिएका इन्जिन पहिल्यै मर्मत वा सट्टापट्टा गरेर जगेडा राखिनुपर्ने निगमका एक कर्मचारीले बताए ।

निगम व्यवस्थापनले पहिलो जहाज ९एन–एबिटी ग्राउन्डेड भएको साढे ६ महिनापछि बल्ल इन्जिन सट्टापट्टा र मर्मतका लागि मेन्टेनेन्स, ओभरहल अर्गनाइजेसन (एमआरओ) नियुक्त गरेको छ । इजरायलको एमआरओ कम्पनी बेट सेमेस इन्जिन लिमिटेडसँग ४५ दिनभित्र ओभरअल इन्जिन दिने र निगमका इन्जिन मर्मतका लागि लैजाने सहमति भएको बताइन्छ । तर, निगम नेतृत्वको कार्यशैलीका कारण अझै डेढ–दुई महिना ग्राउन्डेड जहाज नियमित उडानमा फर्किने सम्भावना नरहेको स्रोतको दाबी छ । निगमसँग भएका ६ थान इन्जिन वर्षौँदेखि मर्मत गरेर नराखेकै कारण जगेडा इन्जिन अभावले आन्तरिक उडान ठप्प भएको हो ।

निगमले पहिलोपटक बोलपत्र आह्वान गर्दा अन्तिम दिन २ सेप्टेम्बर २०२४ सम्म बेट सेमेस र मेटर ट्रेडिङ कम्पनीले प्रस्ताव पेस गरेका थिए । बेट सेमेस नेपाल नागरिक उड्डयन प्राधिकरण, इसा, अमेरिकन उड्डयनबाट मान्यताप्राप्त विमान र इन्जिन मर्मत गर्ने संस्था हो । इजरायली कम्पनी बेट सेमेससँग निगमले विगतमा पनि विभिन्न समयमा इन्जिन सट्टापट्टा गरिसकेको छ । मेटर कम्पनी ८ साउन ०७५ मा आयात–निर्यातको उद्देश्यले स्थापना भएको नेपाली कम्पनी हो, जोसँग इन्जिन मर्मतको अनुभव छैन । यसले सेटिङ मिलाएर निगमसँग मात्र कारोबार गर्दै आएको छ । पहिलोपटकको टेन्डरमा सेमेस बाहिरिएपछि निगम व्यवस्थापनले टेन्डर नै रद्द गरेको बताइन्छ । दोस्रोपटकको टेन्डरमा पुरानै बेट सेमेसले मात्र प्रस्तावसहित ठेक्कामा सामेल भयो । मेटर ट्रेडिङलाई ठेक्का दिने प्रपञ्च असफल भएपछि दुई–तीन दिनमा सक्नुपर्ने प्रस्ताव मूल्यांकनको कामलाई दुई महिना लगाइएको स्रोत बताउँछ । निगम व्यवस्थापन सेटिङमा लागेपछि समयमै एमआरओ छनोट हुन नसकेको र जहाज अनिश्चितकालीन ग्राउन्डेड भएका छन् ।  

ग्राउन्डेड विमानको कथा
९एन–एबिटी २३ जेठमा काठमाडौंबाट गुल्मीको रेसुंगा विमानस्थल उडानका क्रममा इन्जिनमा समस्या आएर ग्राउन्डेड गरिएको थियो । ९एन–एबिटीको अन्तिम उडान नेपालगन्जबाट काठमाडौं गरेको थियो । मौसमका कारण जहाज पोखरा डाइभर्ट गरी काठमाडौं ल्याइएको थियो । जहाजको इन्जिनको आन्तरिक मर्मत गर्दा इन्जिन सिज भएको देखियो । निगमसँग मौज्दात इन्जिन नहुँदा जहाज अहिलेसम्म ग्राउन्डेड अवस्थामै छ । स्रोतका अनुसार सो जहाजका इन्जिन तथा पार्टपुर्जाहरू झिकेर अर्को जहाज ९एन–एबियूमा राखिएको छ ।

निगमले एउटा जहाज ग्राउन्डेड भएपछि अर्को जहाज जेठदेखि नै उडान आवर सेभिङ रणनीतिमा उडान गरिरहेको थियो । त्यो पनि उडान आवर सकिएर ७ पुसदेखि ग्राउन्डेड अवस्थामा छ । यो जहाजको दायाँतर्फको इन्जिनको फ्लाइट आवर समाप्त भएर ग्राउन्डेड गरिएको हो । २१ डिसेम्बरमा ९एन–एबियूमा जेठमा ग्राउन्डेड भएको जहाजको इन्जिन राखेर उडान गर्ने कोसिस भएको थियो । निगम नेतृत्वको दबाबका कारण प्राविधिक टोलीले फिट टु फ्लाइट दिएको थियो । तर, जहाज रनअप गरेर हेर्दा फेरफार गरेको इन्जिनमा मेटालिक चिप्स देखिएपछि ९एन–एबियूले उडान गर्न सकेन । बिग्रेको इन्जिन जडान गरेर जहाजलाई फिट टु फ्लाइट दिनु हवाई सुरक्षाका हिसाबले गम्भीर लापरबाही हो ।

निगममा हवाई सुरक्षामा खेलाँची भएको यो पहिलोपटक भने होइन । यसअघि ट्विनअटरकै अधिकतम ३६ सय घण्टासम्म उडाउन सकिने पिटी६–२७ नामक इन्जिनलाई निगमले चार सय घण्टा थपेर चार हजार घण्टासम्म उडाएको स्रोतको भनाइ छ । निगमको उडानतालिकाअनुसार चार सय घण्टा समय थप गर्दा करिब अढाई महिनाभन्दा बढी उडान गर्न सकिन्छ । युरोपियन युनियन (इयू)ले हवाई सुरक्षामा कैफियत देखाउँदै वर्षौँदेखि कालोसूचीमा राखिरहेका वेलामा यस्ता गतिविधिले थप असर पर्ने देखिन्छ । निगम व्यवस्थापनले सेटिङमा मेटर ट्रेडिङलाई इन्जिन मर्मत तथा सट्टापट्टाको जिम्मेवारी दिने मनसायकै कारण एमआरओ छनोटमा ढिलाइ भएको स्रोतको दाबी छ । यो कम्पनीले अरू कम्पनीसँग डिल गरेर जहाजको इन्जिनको सप्लाई गर्ने उद्देश्य राखेको थियो । स्रोतका अनुसार हालै मात्र निगम व्यवस्थापनले एक ब्याच सिनियर कर्मचारी हुँदा–हुँदै जुनियर सन्तोष पाण्डेलाई कस्टोमर सर्भिस डाइरेक्टर बनाएको छ ।

सुझावित समाचार