पाँच महिनामा ६ अर्ब मूल्यका ४५ हजार बिमा पोलिसी सरेन्डर

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८१/८२ को पाँच महिनामा ६ अर्ब १० करोड रुपैयाँबराबरका ४५ हजार ६० वटा जीवन बिमा पोलिसी सरेन्डर भएका छन् । यो कुल पाँच महिनामा संकलन भएको जीवन बिमा प्रिमियमको करिब ९.२३ प्रतिशत हो । समीक्षा अवधिमा ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँबराबरको जीवन बिमा व्यवसाय (बिमाशुल्क संकलन) भएको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

गत आवको पाँच महिनामा ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँको जीवन बिमा व्यवसाय भएको थियो । सो अवधिमा पाँच अर्ब ५३ करोड दुई लाख रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको थियो । संख्याका आधारमा ४४ हजार नौ सय ५५ वटा पोलिसी सरेन्डर भएका थिए । यो सो अवधिमा संकलन भएको प्रिमियमको तुलनामा ८.९४ प्रतिशत हो । 

गत आवभरमा भने ९.२६ प्रतिशतको अनुपातमा जीवन बिमा सरेन्डर भएको थियो । गत आवमा एक खर्ब ५६ अर्ब ५० करोड रुपैयाँबराबर जीवन बिमा व्यवसाय भएको थियो । त्यसमा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँबराबरको बिमा सरेन्डर भएको थियो । गत आवमा एक लाख १३ हजार नौ सय ७६ जनाले बिमा सरेन्डर गरेका थिए । 

दक्षिण एसियाका अन्य मुलुकको तुलनामा यो अनुपातमा पोलिसी सरेन्डर हुनुलाई सामान्य मानिन्छ । तर, नेपालको अर्थतन्त्र सानो भएका कारण चिन्ता गर्नुपर्ने स्थिति रहेको नेपाल बिमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदी बताउँछन् । ‘दक्षिण एसियामा यो अनुपातको बिमा सरेन्डरलाई सामान्य नै लिइन्छ । तर, नेपालको परिवेशमा सामान्य मान्न सकिएको छैन,’ उनले भने, ‘नेपालको अर्थतन्त्र सानो भएको कारण डराउनुपर्ने स्थिति पनि छ ।’

विशेष गरी पछिल्लो समय कायम आर्थिक शिथिलताका कारण पनि बिमा सरेन्डर उच्च रहेको उनको भनाइ छ । ‘पछिल्लो समय कायम आर्थिक शिथिलताले कतिपय बिमितको क्रयशक्ति कमजोर बनेको छ । त्यसले गर्दा उनीहरूले बिमा पोलिसीलाई निरन्तरता दिन सकेका छैनन्,’ उनले भने, ‘त्यसपछि उनीहरूले पोलिसी सरेन्डर गरेर बिमा रकम फिर्ता लगेका छन् ।’

कतिपय अभिकर्ता तथा बिमितले रणनीतिक रूपमा पोलिसी सरेन्डर गर्ने गरेको पनि कम्पनीहरू बताउँछन् । अहिले पोलिसी सरेन्डर बढ्नुको मुख्य कारण यो पनि रहेको उनीहरूको भनाइ छ । 

कतिपय अभिकर्ताले कम्पनी परिवर्तन गर्दा आफ्नो नजिकका बिमितलाई पनि सँगै लिएर जाने गरेका छन् । यसैगरी कमिसनका लागि पनि पोलिसी बन्द गराएर पुनः बिमा गराउने प्रवृत्ति रहेको एक कम्पनीका सिइओले बताए । ‘२०–२५ वर्षको अवधि राखेर बिमा गरिन्छ । तर, अभिकर्तालाई १० वर्ष मात्र कमिसन दिने नीति छ । त्यसमा सुरुका वर्ष धेरै कमिसन पाइन्छ,’ उनले भने, ‘त्यो अवस्थामा अभिकर्ताले कमिसनका पोलिसी बन्द गर्न लगाएर पुनः बिमा गराएका पनि हुन सक्छन् ।’

पहिला बिमा गरेको दुई वर्षसम्म पोलिसी बन्द गर्न पाइने थिएन । अभिकर्ताले कमिसनका लागि नियोजित रूपमै पोलिसी बन्द गराउँदै बिमा गराउने गरेको पाइएपछि नेपाल बिमा प्राधिकरणले चैत ०७७ मा निर्देशन जारी गर्दै बिमा पोलिसी किनेको दुई वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने सीमालाई तीन वर्ष पु¥याएको थियो । तैपनि, पोलिसी सरेन्डर बढ्ने क्रम जारी नै छ । 

See More On

सुझावित समाचार