जसको नाम ०६२/६३ को दोस्रो जनआन्दोलनपछि नेपालको लोकतन्त्र र शान्ति प्रक्रियाका लागि सहयोगी भूमिका खेलेका कारण नेपालीमाझ प्रिय छ । उनी हुन्– अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर । १०० वर्षको उमेरमा आइतबार राति उनको निधन भएको छ ।
अमेरिकाको जर्जियामा १ अक्टोबर १९२४ मा जन्मिएका कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औँ राष्ट्रपति थिए । आफ्नो कार्यकालमा उनले नेपालमा शान्ति, मानव अधिकार, प्रजातान्त्रिक पद्धति तथा जलविद्युत्सहितका विकासबारे चासो राख्ने गरेका थिए । सन् २००७ जुनमा नेपाल आएका कार्टरले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत शीर्ष नेतासँग भेटेका थिए । भेटवार्ताहरूमा कार्टरले नेपालको लोकतान्त्रिक प्रक्रियाका लागि भन्दै महत्वर्ण तीनबुँदे सुझाव दिएका थिए ।
संविधानसभाको निर्वाचनपूर्व अन्तरिम संसद्बाट गणतन्त्र घोषणा गर्न र संविधानसभाको पहिलो बैठकको सामान्य बहुमतले पारित गर्न उनको सुझाव थियो । उनले संविधानसभा निर्वाचनमा आधा पहिलो हुने निर्वाचन प्रणाली र आधा समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न पनि सुझाव दिएका थिए । त्यस्तै, विगतमा भएका सम्झौता कार्यान्वयनका लागि सात दल र माओवादीसहित सरकारलाई अनुरोध गरेका थिए । जनजाति र मधेशीसहित सीमान्तकृत समूहसँग संवाद प्रक्रिया अघि बढाउन पनि उनको सुझाव थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकार तथा शान्तिका लागि कार्टरको योगदान विश्वकै लागि प्रेरणा रहने भन्दै कार्टरलाई सम्झिएका छन् । प्रधानमन्त्री केपी ओलीले मानव अधिकार र शान्तिका लागि समर्पित मानवतावादी विरासत छाडेर गएको उल्लेख गर्दै कार्टरलाई सम्झिएका छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कार्टरलाई दूरदर्शी नेता, शान्तिका खेलाडी तथा मानव अधिकार र विकासका अविराम वक्ताका रूपमा सम्झिए । त्यस्तै, पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले नोबेल शान्ति पुरस्कार विजेता कार्टरलाई नेपालका असल मित्र भन्दै उनको निधनप्रति समवेदना जनाएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनपटक नेपालमा कार्टरसँग भेटवार्ता गरेको स्मरण गरे । ‘हामी शान्ति प्रक्रियामा आएपछि उहाँ नेपाल आउँदा ०६४ चैतमा चुनावअघि भेट भयो । त्यसवेला अमेरिकाले माओवादीलाई आतंककारी सूचीमा राखेको थियो । त्यो हटाउन प्रयास गर्छु भन्ने आश्वासन उहाँले दिनुभयो,’ प्रचण्डसहितको उक्त भेटबारे भट्टराईले भने । कार्टरले संविधानसभा चुनावमा माओवादीको कति सिट आउने सम्भावना छ भनेर सोधेका थिए । ‘मैले सबैभन्दा ठुलो पार्टी हुन्छौँ भनेको थिएँ,’ भट्टराईले सुनाए, ‘चुनावपछि आउँदा तपाईंले सही भविष्यवाणी गर्नुभो, कसैले पनि मलाई यत्तिको सही भविष्यवाणी सुनाएको थिएन भन्नुभएको म सम्झिरहेको छु ।’ नेपालको शान्ति प्रक्रिया, लोकतन्त्र र मानव अधिकारप्रति चासो राख्ने सम्मानित व्यक्तिका रूपमा उनले कार्टरलाई सम्झेका छन् । संविधानसभाको पहिलो निर्वाचन सम्पन्न नहुँदै कार्टरले निर्वाचन निष्पक्ष रहेको भनेर दिएको अभिव्यक्तिको आलोचना भएको थियो ।
कार्टर राष्ट्रपति रहेका वेला अमेरिकाका लागि नेपाली राजदूत रहेका पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले कार्टरसँग पटक–पटक भेट्ने मौका पाएको बताए । ‘उहाँ राष्ट्रपति भएपछि अमेरिकाको विदेश नीतिमा परिवर्तन आयो । उहाँले शान्ति र मानव अधिकारलाई प्रमुख एजेन्डा बनाउनुभयो र त्यस आधारमा उहाँले वैदेशिक सम्बन्ध सञ्चालन गर्नुभयो,’ थापाले भने, ‘भलाद्मी, सज्जन, विश्वशान्तिको एजेन्डा बनाएर शीतयुद्धको तनावमा कमी गराउन उहाँको योगदान रह्यो ।’
थापाले ओहोदाको प्रमाणपत्र कार्टरसमक्ष ह्वाइटहाउसमा पेस गरेका थिए । थापा कार्टरको गृहक्षेत्र एट्लान्टा गएर सँगै हिँडेको पनि सम्झिन्छन् । ‘त्यसवेला मैले भेट्दा नेपालप्रति उहाँको सद्भाव पाएको थिएँ,’ उनले भने, ‘कार्टर राष्ट्रपतिबाट बाहिरिएपछि नेपाल आउँदा ठमेलमा रेस्टुरेन्टमा गएर खानुभयो, नाम्चेबजारदेखि कालापत्थरसम्म जानुभयो । म राजदूत रहँदा भ्रमणको समन्वय मैले गरेको थिएँ । त्यो सन् १९८५ अक्टोबरमा थियो ।’ त्यसवेला कार्टर राजा वीरेन्द्रले उपलब्ध गराएको हेलिकोप्टरमा नाम्चे पुगेका थिए भने त्यहाँको खुम्बु लजमा एक रात बिताएका थिए ।
राजाको प्रत्यक्ष शासन रहेको त्यसवेला अमेरिकाले मानव अधिकार तथा लोकतान्त्रिक अधिकारका पक्षमा दबाब दिएको थियो । अमेरिकासँग सम्बन्ध व्यवस्थापन गर्न राजा वीरेन्द्रले आफूलाई राजदूतका रूपमा पठाएको थापा बताउँछन् । उनका अनुसार राष्ट्रपति पदबाट बिदा हुनुअघि कार्टरले राजा वीरेन्द्रलाई चिठी लेखेर मानव अधिकारको क्षेत्रमा प्रगति गरेको भन्दै सराहना गरेका थिए । ‘नेपालसहित २० मुलुकलाई मानव अधिकारमा सुधार आएको भनेर कार्टरले पद छाड्ने वेलामा चिठी लेखेका रहेछन् । कार्टरका राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रेजिन्स्कीले मलाई यो कुरा भनेका थिए,’ पूर्वपरराष्ट्रमन्त्री थापाले सुनाए ।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी कार्टरलाई शताब्दीको मानवतावादी व्यक्तित्वका रूपमा लिन्छन् । ‘अमेरिकाले सबैसँग मिलेर शान्तिका लागि काम गर्ने प्रयास उहाँको पालामा गर्यो, नेपालको शान्ति प्रक्रियामा उहाँको चासो र सहयोग रह्यो । मैले उहाँसँग भेट्ने अवसर पाएँ,’ लोहनीले भने ।
कार्टरले तत्कालीन राजा वीरेन्द्रलाई सन् १९७८ मा लेखेको चिठीमा नेपालको जलस्रोतको क्षेत्रीय विकास गर्ने राजाको प्रस्तावलाई समर्थन गर्र्दै कर्णाली नदी बेसिनको सम्भाव्यता अध्ययन गर्ने प्रस्तावलाई पनि स्वागत गरेका थिए ।
तत्कालीन समयमा कांग्रेसले अमेरिकी राजदूतावासमार्फत कार्टर प्रशासनसँग सम्बन्ध बढाएको थियो । नेता गिरिजाप्रसाद कोइरालामार्फत बिपी कोइरालाको सन्देश कार्टरकहाँ पुग्थ्यो भने नेपालस्थित अमेरिकी राजदूतमार्फत कार्टरको सन्देश कोइरालाकहाँ पुग्ने गरेको विकिलिक्सले प्रकाशित गरेका दस्ताबेजहरूमा उल्लेख छ ।
मध्यपूर्वमा शान्तिसम्झौता, चीनसँग सम्बन्ध सुधार
कार्टर नै पहिलो अमेरिकी राष्ट्रपति थिए जसले जलवायु परिवर्तनको एजेन्डालाई अघि बढाएका थिए । उनको पालामा इजिप्ट र इजरायलबिच शान्तिसम्झौता र सन्धि भयो जसलाई क्याम्प डेभिड सम्झौता भनिन्छ । पश्चिम एसिया (मध्यपूर्व)को शान्तिका लागि उनको कार्य निकै महत्वर्ण थियो । कार्टर राष्ट्रपति भएको १४ महिनामा अथक प्रयासपछि सन् १९७८ सेप्टेम्बर १७ मा इजरायल र इजिप्टबिच शान्तिसम्झौता भएको थियो । इजिप्टका नेता अनवर सदात र इजरायली नेता मेनाचेम बेगिनबिच १९७८ सेप्टेम्बर ५ देखि १७ सम्म लगातार १३ दिन क्याम्प डेभिडमा वार्तापछि सम्झौता भएको थियो । मध्यपूर्वको शान्तिका लागि फ्रेमवर्क तथा इजिप्ट र इजरायलबिच शान्ति सन्धि टुंग्याउने सम्झौता गरी दुईवटा सम्झौता भएका थिए । इजिप्ट र इजरायलबिच शान्ति सन्धि भने १९७९ मार्चमा भएको थियो ।
एक वर्षपछि दुई देशबिच सन्धि कार्यान्वयनमा आयो र सम्बन्ध सामान्यीकरणतर्फ अघि बढ्यो । तर, सम्झौताको दुई वर्षपछि सन् १९८१ अक्टोबर ६ मा कायरोमा आयोजित विजय दिवसका दिन इजिप्टका प्रधानमन्त्री सदात इस्लामिक अतिवादी समूहबाट मारिएका थिए ।
कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । अमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्ट र युड्रो विल्सनपछि नोबेल शान्ति पुरस्कार जित्ने उनी तेस्रो अमेरिकी राष्ट्रपति हुन् । तर, उनलाई राष्ट्रपतिबाट हटेपछिको कामका लागि यो पुरस्कार प्रदान गरिएको थियो । नोबेल पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले विश्वको सबैभन्दा गम्भीर समस्या पृथ्वीका धनी र गरिबबिचको बढ्दो खाडल रहेको बताएका थिए । उनले शान्ति र मानव अधिकारका पक्षमा काम गर्न दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको पनि सहभागितामा द एल्डर्स नामक मञ्च स्थापना गरेका थिए ।
कार्टरले पानामा क्यानल पानामालाई फिर्ता दिएका थिए । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त क्यानल (नहर) अमेरिकाले फिर्ता लिने घोषणा गरेर विवादमा आएका छन् । उनले तत्कालीन सोभियत नेता ब्रेजभेभसँग ‘साल्ट सेकेन्ड न्युक्लियर आम्र्स रिडक्सन ट्रिटी’ गरेका थिए । सन् १९७८ मा इरानको इस्लामिक क्रान्तिताका इस्लामिक विद्यार्थी समूहको बन्धकमा परेका ५३ अमेरिकी कूटनीतिक कर्मचारी र नागरिकलाई मुक्त गर्ने उनको असक्षमताप्रति अमेरिकामा विरोध भएको थियो । उनले इस्लामिक क्रान्तिमा संलग्नहरूले बन्धक बनाउने कार्यको निन्दा गरेका थिए र आतंककारी तथा अतिवादी कार्यको संज्ञा दिएका थिए । बन्धकहरूलाई इरानले सन् १९८१ मा रोनाल्ड रेगन राष्ट्रपति भएपछि मात्रै औपचारिक रूपमा रिहा गरेका थिए ।
कार्टरकै पालामा चीन र अमेरिकाबिच अघिल्लो सरकारका पालामा भएको सम्बन्ध सुधारले गति लिएको थियो । दुवै देशले एक–अर्कोमा राजदूतावास स्थापना गर्ने र व्यापार सम्बन्ध अघि बढाउने सहमति गरेका थिए । सन् १९७८ डिसेम्बर १५ मा कार्टरले ताइवानसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने र चीनसँग कूटनीतिक सम्बन्ध अघि बढाउने घोषणा गरे । उनले ताइपेईलाई मान्यता नदिने र बेइजिङलाई समग्र चीनको सरकारका रूपमा मान्यता दिने घोषणा पूर्ववर्ती सरकारका पालामा भएको शीर्ष समझदारीको निरन्तरता थियो । जसको आधारशिला उनको पूर्ववर्ती सरकारका विदेशमन्त्री हेनरी किसिन्जरले बनाएका थिए । सन् १९७९ जनवरी १ मा दुवै देशले एक–अर्को देशमा राजदूतावास स्थापना गर्ने घोषणा गरे । जनवरी ३० मा चिनियाँ नेता देङ सियाओ पिङले अमेरिका भ्रमण गरेर कार्टरसँग भेटवार्ता गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता लिएपछि चिनियाँ शीर्ष नेताको त्यो पहिलो अमेरिका यात्रा थियो ।
राष्ट्रपतिका लागि सन् १९८० मा निर्वाचन हारेपछि उनले शान्ति र मानव अधिकारका लागि आफूलाई आजीवन समर्पित गरेका थिए । कार्टर सेन्टरमार्फत उनले काम गरेका थिए । नेपालमा पनि सन् २००४ मा कार्टर सेन्टर स्थापना भएको थियो ।
नेपाली नेताको नजरमा कार्टर
राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकार तथा शान्तिका लागि कार्टरको योगदान विश्वकै लागि प्रेरणा रहने भन्दै कार्टरलाई सम्झिएका छन् । प्रधानमन्त्री केपी ओलीले मानव अधिकार र शान्तिका लागि समर्पित मानवतावादी विरासत छाडेर गएको उल्लेख गर्दै कार्टरलाई सम्झिएका छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कार्टरलाई दूरदर्शी नेता, शान्तिका खेलाडी तथा मानव अधिकार र विकासका अविराम वक्ताका रूपमा सम्झिए । त्यस्तै, पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले नोबेल शान्ति पुरस्कार विजेता कार्टरलाई नेपालका असल मित्र भन्दै उनको निधनप्रति समवेदना जनाएका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्टरसँग तीनपटक नेपालमा भेटवार्ता गरेको स्मरण गरे । ‘हामी शान्ति प्रक्रियामा आएपछि उहाँ नेपाल आउँदा ०६४ चैतमा चुनावअघि भेट भयो । त्यसवेला अमेरिकाले माओवादीलाई आतंककारी सूचीमा राखेको थियो । त्यो हटाउन प्रयास गर्छु भन्ने आश्वासन दिनुभयो,’ प्रचण्डसहितको उक्त भेटबारे भट्टराईले भने । कार्टरले संविधानसभा चुनावमा माओवादीको कति सिट आउने सम्भावना छ भनेर सोधेका थिए । ‘मैले सबैभन्दा ठुलो पार्टी हुन्छौँ भनेको थिएँ,’ भट्टराईले सुनाए, ‘चुनावपछि आउँदा तपाईंले सही भविष्यवाणी गर्नुभो, कसैले पनि मलाई यत्तिको सही भविष्यवाणी सुनाएको थिएन भन्नुभएको म सम्झिरहेको छु ।’