ओलीको निर्वाचन क्षेत्रबाट प्रचण्डले भने, सरकार दलाल र भ्रष्टको पक्षमा लाग्यो

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धनको सरकारले दलाल र भ्रष्टको पक्षमा मात्र काम गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा गौरीगन्ज गाउँपालिकामा भएको पार्टीको दोस्रो गाउँ सम्मेलन तथा खबरदारी सभामा बोल्दै प्रचण्डले यो सरकारले जनताको पक्षमा काम नगर्ने बताएका हुन् । उनले भ्रष्टाचारी र दलाललाई बचाउनका लागि आफू नेतृत्वको सरकारलाई निरंकुश र अलोकतान्त्रिक ढंगले हटाएको बताए ।

‘मैले तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारी, दलालको भण्डाफोर गर्न थालेँ । सुशासनका पक्षमा काम गर्न थालेँ । पक्राउ परेकाको बयानले भ्रष्टाचारको सुई एमाले र कांग्रेसतिर सोझियो । राजनीतिक दलका नेतासमेत दायरामा आउने भए,’ उनले भने, ‘भ्रष्टाचार, दलाली, भूमाफियाको विरुद्धमा अभियान चलाएँ । जनताको हितमा काम गर्दा खैलाबैला मच्यायो । निरंकुश र अलोकतान्त्रिक ढंगले सरकारबाट हटाइयो ।’ 

उनले संसद्का पहिलो र दोस्रो राजनीतिक दल मिलेर सरकार बनाउनु लोकतान्त्रिक अभ्यासविरुद्ध भएको दाबी गरे । ‘संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने भन्ने कुरा लोकतन्त्रमा हुँदैन । लोकतन्त्रविरोधी कुरा हो,’ उनले भने, ‘असंवैधानिक जालझेल र अप्राकृतिक ढंगले सरकार बनाइयो । यो सरकारले जनताको पक्षमा हाेइन, भ्रष्टाचारी, दलाल र बिचौलियाको पक्षमा काम गर्छ ।’ 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले झालझेल मात्र गर्ने बताए । उनले गिरिबन्धु चियाबगानमा भएको भ्रष्टाचारविरुद्ध फाइल खोल्दा ओलीमा सोझिएकाले जालझेल गरेर आफू नेतृत्वको सरकार ढालेको बताए । अहिलेको गठबन्धन सरकारले संविधान संशोधन गर्ने भनेर जनताले पाएको अधिकार खोस्ने प्रयास गरेको बताए । 

उनले माओवादी परिवर्तनको संवाहक भएकाले आगामी दिनमा सुशासनको पक्षमा काम गर्दै देशमा आर्थिक समृद्धि र विकास ल्याउने बताए । अध्यक्ष प्रचण्डले ०८४ लाई ०६४ को अवस्थामा फर्काउँदै माओवादीलाई पहिलो पार्टी बनाएमा जनमतको तागतमा भ्रष्टाचारलाई जरैबाट उखेल्ने दाबी गरे । 

उनले शेरा दरबारको जग्गा प्रकरणमा माओवादी छाडेका व्यक्तिलाई जोडेर पार्टीको बदनाम गर्न खोजेको आरोप लगाए । झुटो प्रचार नगर्न पनि उनले आग्रह गरे । ‘भ्रष्टाचार गर्ने हाम्रै पार्टीको भए पनि कारबाही गर्नुपर्छ,’ उनले भने ।

See More On

सुझावित समाचार