आज सुदूरपश्चिममा पुसे १५ मनाइँदै

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ (पन्ध्रकी रात)पर्व मनाइने गरिन्छ । हरेक वर्ष पुस १५ गते मनाइने पुसे पन्ध्रमा रातभरि दन्त्यकथा, बातै (कहानी)सुन्ने र सुनाउने तथा तरुल, सखरखण्ड, निसौसे रोटीलगायत मिठा परिकारहरू पकाएर खाने चलन रहेको छ ।

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठुलीरात मानी राति मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए । 

यस दिन डोटेली संस्कृतिअनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिमवासीले पुसे १५ मनाउने गर्छन् । यो पर्वलाई ‘पन्ध्रकी रात’ पनि भन्ने चलन रहिआएको छ । पुस पन्ध्रका राति टोल–छिमेकका भेला भएर मुढाको आगो बालेर ताप्ने, जाग्राम बस्ने, चामलको पिठोबाट बनेको निसौसे रोटी, तरुल, पिँडालु, सखरखण्ड, फर्सीलगायतका खानेकुराहरू खाने र दन्त्य कथा भन्ने सुन्ने, सुनाउने समेत गरिन्छ ।

पर्व मनाउन एक ठाउँमा भेला भई मुढाको आगो ताप्नुपर्ने र एक-आपसमा हाँसो-ठट्टा गरी रमाइलो गर्दै रात बिताउने चलन पनि रहिआएको छ । आज अर्थात् पुस पन्ध्रको रातको लागि के-के पकाउने भन्ने दिउँसो नै तयारीस्वरूप हरेक घरका गृहिणी खानाका मीठा परिकार पकाउने तयारीमा लागेका हुन्छन् । सो पर्वमा विवाहित छोरीबेटीहरूलाई समेत माइतीघरमा आमन्त्रण गरी स्वागत एवं सत्कार गर्ने चलन पनि रहेको छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको छ ।

घरको बुढ्यौली अर्थात् पाको मान्छेले दन्त्यकथा र बातै सुनाउने र आगो ताप्दै सुन्ने गरिन्छ ।  पुस १५ को यो अवसरले पुराना संस्कार सिक्न पाउने एक अवसर पनि रहेको छ । तर, आधुनिक प्रविधिको विकास, आधुनिकतातिर ढल्कँदै गएको समाज र व्यस्त समयका कारण यो प्रचलन पातलिँदै गएको भन्ने बुढ्यौलीको गुनासो रहिआएको छ ।
 

सुझावित समाचार