नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ । लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाति, समुदाय र भाषाभाषीको प्रितिनिधित्वले सिंगाे नेपालको तस्बिरलाई उजागर गरिरहेकाे छ ।
गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठुलो पोखरा सडक महोत्सवको झाँकीसहितको तामझाम, कला कौशलको प्रस्तुति र हजारौँको संख्यामा उपस्थित स्वदेशी र विदेशी नागरिकको सहभागिताले पोखराको पर्यटनलाई जुरुक्कै उचालेको छ । महोत्सवको उद्घाटन सत्रमा आयोजित झाँकीसहितको र्यालीमा प्रदर्शित ‘मगर गाउँ’, थारू नृत्य, गुरुङ समुदायको विशेष प्रस्तुति विशेष आकर्षण रहे । महोत्सवको सन्दर्भमा लेकसाइड क्षेत्र दुलहीझैँ सिँगारिएको छ । साज–सजावटले सडकको रौनक बढाएको छ ।
सडक महोत्सवले पोखराको मात्रै नभएर समग्र देशको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुगिरहेको छ । महोत्सवमा जातीय कला र संस्कृति झल्कने ६५ भन्दा बढी झाँकीको प्रस्तुति गरिएको थियो । साथै स्थानीय रैथाने उत्पादन, हस्तकलाका सामग्रीलगायतका स्टल पनि पर्यटकको रोजाइमा परेका छन् । २५ वर्षअघि सुरु भएको पोखरा सडक महोत्सवले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुँदै आएको रेस्टुरेन्ट एन्ड बार एसाेसिएसन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल बताउँछन् । खासगरी पर्यटकीय गतिविधि कम हुने यो सिजनमा बाह्य तथा आन्तरिक पर्यटकको बसाइ लम्ब्याउन र पोखरालाई सडक महोत्सवको पर्यायका रूपमा चिनाउन रेबान पोखराले २५ वर्षअघिदेखि महोत्सव सञ्चालन गर्दै आएको हो ।
त्यसैको निरन्तरतास्वरूप २६औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना गरिएको रेबान पोखराका अध्यक्ष पाैडेलले बताए । ‘सडक महोत्सवको उद्घाटनका अवसरमा उपस्थित झाँकीहरूका कारण महोत्सव पूर्ण रूपमा सफल देखिएको छ । उल्लेखनीय सहभागितासहित विविध सांस्कृतिक प्रस्तुतिले माहोल बनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको महोत्सव भव्य रूपमा भएको हामीलाई महसुस भएको छ,’ उनले भने । पर्यटकीय सिजन ‘स्लो’ भएको समयमा पोखराको पर्यटकलाई चलायमान बनाउन आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सव उपयोगी बनेको उनको भनाइ छ ।
अध्यक्ष पौडेलका अनुसार महोत्सवकै दौरानमा पोखरामा भइरहेका अन्तर्राष्ट्रिय बेलुन महोत्सव र ड्रागन बोट रेस प्रतियोगिताले पनि पर्यटकीय गतिविधि बढाउन थप मद्दत गरेको छ । पोखराआसपासका साहसिक गन्तव्यका कारणले पनि पोखराको पर्यटन बढी चलायमान बनिरहेको छ । अंग्रेजी महिनाको डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म आयोजना हुने पोखरा सडक महोत्सवमा पाँच लाख पर्यटकको आगमन हुने अपेक्षा रेबान पोखराको छ ।
अन्तर्राष्ट्रियस्तरमा नै हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने पोखरा सडक महोत्सवलाई अन्तर्राष्ट्रियस्तरमा नै स्थापित गराउने अभियान रहेको रेबान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराई बताउँछन् । पर्यटकीय राजधानी पोखरामा निजी क्षेत्रबाट झनडै रु पाँच खर्ब रुपैयाँ लगानी भएको भन्दै निवर्तमान अध्यक्ष भट्टराईले पर्यटकीय पूर्वाधार निर्माणमा राज्यले चासो दिनुपर्ने बताए ।
आजभन्दा २५ वर्षअघि पोखराको वसुन्धरा पार्कबाट सुरु भएको पोखरा सडक महोत्सवले आज देशकै ठुलो सडक महोत्सवको पहिचान बनाएको छ । ‘महोत्सवको क्रममा हामीले नेपालका विभिन्न कला–संस्कृतिलाई सडकमा पस्कन्छौँ, जसले आन्तरिक एवं बाह्य पर्यटकलाई नेपाल बुझ्न सजिलो बनाएको छ,’ रेबानका निवर्तमान अध्यक्ष भट्टराईले भने, ‘अहिले यो महोत्सव निजी क्षेत्रको मात्र सहभागितामा हुँदै आएको छ । अझ यसलाई बृहत् र विस्तृत बनाउनका लागि राज्यका तीनै निकाय (संघ, प्रदेश र स्थानीय तह) को उत्तिकै भूमिका हुनु जरुरी छ ।’
खासगरी राज्यका तर्फबाट निर्माण भएका पर्यटकीय पूर्वाधारको सञ्चालन र निर्माण हुँदै गरेका पर्यटकीय पूर्वाधारको छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने दिशामा भूमिका खेल्न जरुरी रहेको उनको भनाइ छ । पोखरामा क्षेत्रीय विमानस्थल निर्माण हुनु आफैँमा सुखद रहेको भन्दै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपी भट्टराईले राज्यको यति ठुलो लगानी भएको विमानस्थल सञ्चालनमा राज्यका तर्फबाट न्यारोबडी विमान भाडामा लिएर भए पनि छिमेकी मुलुक भारत, चीन र बंगलादेशका सहरहरूसँग सीधा हवाई सम्पर्क विस्तारमा जोड दिनुपर्ने उनको भनाइ छ ।
पर्यटन क्षेत्रमा अहिले दक्ष जनशक्ति पलायन ठुलो समस्याका रूपमा रहेको भन्दै पोखराका पर्यटन व्यवसायी जनशक्ति पलायनलाई रोक्न राज्यकै तर्फबाट केही नीतिगत व्यवस्थाको आवश्यकता रहेको बताउँछन् । ‘पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, यो अभावलाई परिपूर्ति गर्न जनशक्ति उत्पादन गर्न र उनीहरूको पलायन रोक्न पनि निजी क्षेत्र र राज्यसँगसँगै अगाडि बढ्न जरुरी छ,’ परिषद्का पूर्वअध्यक्ष भट्टराईले भने, ‘राजनीतिक स्थायित्वको अभावमा राज्यका नीति पनि समयसमयमा परिवर्तन भइरहने कारणले गर्दा लगानीकर्तालाई निश्चित भए लगानी गर्न सक्ने वातावरणको अभाव छ ।’
करदाताको संरक्षण गर्नुपर्ने दायित्व राज्यको पनि हो । विश्वव्यापी आर्थिक मन्दीको अहिलेको अवस्थामा स्थापित व्यवसायीलाई संरक्षण गर्नु पनि राज्यको प्रमुख दायित्व भएकाले यस्तो अवस्थामा सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न जरुरी रहेको उनको भनाइ छ । पोखरा प्राकृतिक सौन्दर्यका अतिरिक्त साहसिक पर्यटनको पनि महत्त्वपूर्ण गन्तव्य बन्दै गएको भन्दै रेबान पोखराका अध्यक्ष पौडेलले वर्तमान समयसुहाउँदो डिजिटल बजारीकरणमा राज्यका तर्फबाट पहल हुन आवश्यक रहेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी परिवर्तिन परिस्थितिअनुसार विश्वव्यापी रूपमा नेपालको प्रवर्द्धन गर्न डिजिटल माध्यमको प्रयोगलाई बोर्डले प्राथमिकताका साथ अगाडि बढाउने बताए । नयाँ–नयाँ गन्तव्यहरूको पहिचान र विकासका लागि बोर्डले आगामी दिनमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्दै लैजाने उनको भनाइ छ । सिइओ जोशीले पर्यटनबाट लाभ लिनका लागि खासगरी क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ध्यान दिन जरुरी रहेको बताए ।
पर्यटनलाई चलायमान बनाउन सम्पर्क सञ्जाल विस्तारमा सबै निकायको ध्यान पुग्न जरुरी रहेको उनको जोड छ । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा २६औँ संस्करणको पोखरा सडक महोत्सव भएको हो । रेबान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरेको हो । यही पुस १७ सम्म चल्ने महोत्सवले अफ सिजनको पर्यटनलाई चलायमान बनाउन र अर्थतन्त्रमा धोरै भए पनि योगदान गर्ने बताइन्छ ।
‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् । सडक महोत्सव पोखराको ‘ब्रान्ड’ बनेको छ । रेबानका केन्द्रीय अध्यक्ष संघर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाइ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्याउन पनि मद्दत पुगेको उनको भनाइ छ ।
महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनले राजनीतिक स्थायित्व, नीतिगत सुधार र पूर्वाधारको प्रभावकारी सञ्चालन गरिएको खण्डमा पर्यटन विकासमा टेवा पुग्ने बताए । पोखरा सडक महोत्सव देशकै ठुलो महोत्सवको रूपमा रहँदै आएको छ । यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन सहयोगीसिद्ध भएको छ । गत वर्ष मात्र पाँच लाख स्वदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेबानले जनाएको छ । पोखरामा दर्ता भएका पर्यटकस्तरदेखि पाँचतारेसम्मका आठ सय हाराहारी होटेल छन् । यी पूर्वाधारमा ५० हजार पर्यटकलाई धान्न सक्ने क्षमता रहेको पर्यटन व्यवसायीको भनाइ छ । काठमाडौं ओर्लिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउँछन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटक आएका छन् । सन् २०१९ मा हालसम्मकै बढी १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अन्तर्राष्ट्रिय उत्वस र प्रतियोगिताले यस वर्षको महोत्सवलाई उल्लासमय बनाएको छ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पोखरामा आइतबारदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ । यस्तै, नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालको पर्यटन प्रवर्द्धन गर्ने नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बाेट रेस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दोस्रो संकरणको ड्रागन बाेट रेसमा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहेको छ । रासस