उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन्।
आइतबार सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले प्रकृतिमैत्री हुने गरी प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए।
‘विकास निर्माणको काम त गर्नुपर्छ। तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ। अब त्यहीअनुसार विकास निर्माणको काम गर्नुपर्छ,’ उनले भने, ‘घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समयबमोजिम हामी चल्नैपर्छ। गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ।’
उपप्रधानमन्त्री सिंहले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे। पर्यटकीय हिसाबले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको भन्दै उनले ४० वर्षअघि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गरे। सो समय र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसाबले धेरै परिवर्तन पाएको उनको भनाइ थियो।
फरक प्रसंगमा उनले अहिले ‘व्यवस्था फेरियो अवस्था फेरिएन’ भन्दै गलत भाष्य बनाउन खोजिएको भन्दै त्यसको प्रतिवाद गरे। राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकारले काम गरिरहेको भन्दै उनले जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको बताए।