चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर ०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु. ५० हजारभन्दा बढी बचत गर्दै आएकी छिन् ।

समुद्री सतहबाट एक हजार ८२३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेनानजिकै बसेर चियाको चुस्की तान्नेहरूको भिड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटेल एन्ड लज’मा चिसासँगै खाजाको रूपमा दुधको छाली र चिउरा खानेको  उत्तिकै घुइँचो लाग्छ ।

विरसको होटेलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दुध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा रु. ४० मा दुध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, ‘काठमाडौं तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।’

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटेल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरा मात्र बिक्री गर्दै आएको छ । छाली र चिउरा प्रतिबटुका रु. एक सयमा बिक्री गर्ने गरिएको छ ।

विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छिन् । एउटा छोरीले  स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन् । तीनैजना अहिले अध्ययनकै सिलसिला जापानमा  छन् ।  तीनै छोराछोरीको पढाइको खर्च व्यहोर्न विरसले चिया बिक्री गर्दै आएकी छिन् ।
 

सुझावित समाचार